शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटकी कुमारी

    समिकरण न्युज २०७६, २३ फाल्गुन शुक्रबार ११:२२ पढ्न लाग्ने समय 3 मिनेट

    रिना खनाल

    नेपालको इतिहासमा नुवाकोटको विशिष्ट स्थान छ। सयौं वर्षअघि देखिको आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल हो, नुवाकोट। 

    ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको नुवाकोट आफैंमा दर्शनीय त छ नै यसलाई विश्व समुदायमाझ चिनाउन सकियो भने काठमाडौं आउने कुनै पनि पर्यटक नुवाकोट भ्रमण नगरी फर्किने छैन।   

    यहाँको मौलिक कला, संस्कृति एवं दर्शनीय स्थलहरूको आकर्षणले पक्कै मुग्ध बनाउने छ। 

    नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ-तीमध्ये एक हो कुमारी।    हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौंको बसन्तपुरमा रहेको जीवित कुमारीलाई मात्र बुझ्ने गर्छौं। यहाँकी कुमारी राजकीय मानिन्छिन्। कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका व्यक्तिहरू पुग्छन्। तर यति मात्र होइन, नेपालका विभिन्न स्थानमा जीवित देवीस्वरूपा कुमारी रहेका छन्। कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन्।

    त्यस्तै, नुवाकोट मण्डला (दरबार क्षेत्र)का जात्राहरूमा कुमारी नभइ हुँदैन। विभिन्न जात्राहरूमा कुमारीकै विशेष भूमिका रहन्छ।

    नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरबार क्षेत्र) मण्डलामा रहेकी छन्। जहाँ २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ।

    नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ।

    मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ।

    हाल कुमारी प्रथाले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च र जीवन्त राखेको छ।

    कला र संस्कृति सधैं कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ। कुमारी राख्ने चलन कहिलेबाट सुरू भयो भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै तोक्न मिल्ने कुनै लिखित प्रमाणहरू छैनन्। तथापि, नेपालको इतिहासमा कतिपयले लिच्छवी राजा मानदेवले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरूआत गरेको भन्ने पाइन्छ।

    त्यस्तै, अर्को मान्यता, मल्लकालीन समयमा राजालाई सपनामा तुलजा भवानीले आफ्नो खलकमा अन्तिम राजा भएको र शासन अवधि १२ वर्षभन्दा बढी समय टिकाउने हो भने पुजारीहरूको खलकबाट भवानीको प्रतिरूपमा बालिकालाई कुमारी बनाएर मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्नु भनिएको जनश्रुति रहेको छ। सपनाकै आधारमा राजाले कुमारी पूजा गर्न थालेको र त्यो प्रथालाई निरन्तरता दिइएको हो भनिन्छ।

    अन्तिम मल्लहरूका अन्तिम राजा जयप्रकाश मल्लले १८ वर्ष शासन गरे र आफ्नो शासनकालमा कुमारी पूजालाई निरन्तरता दिएका थिए। त्यसपछिका शाह राजाहरूले पनि यो परम्परा तोडेनन्।

    कुमारी पूजाको सन्दर्भमा विभिन्न सांस्कृतिक तथा धार्मिक मान्यता रहेका पाइन्छन्।

    धार्मिक रूपमा कुमारी पूजा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा प्रतीकका रूपमा लिइन्छ। बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन्।

    कुमारीको पूजा देश र जीवनको रक्षाको रूपमा गरिने भैरवीका पूजारी हरिमान सिं डंगोल भन्छन्, ‘कुमारीको पूजा देश र जीवनको रक्षाका निम्ति गरिएको हो।’ कतिपय कुमारी पूजा गर्नु भनेको कौमार्यको सम्मान गरिएको अर्थमा पनि बुझ्छन्। वास्तवमा भन्ने हो भने कुमारी भनेको स्त्री जीवन चक्रको प्रारम्भिक अवस्था हो। त्यसैले हुनुपर्छ, रजस्वला नभएसम्मको अवस्थालाई कुमारी भन्ने गरिएको।

    जानकारहरूका अनुसार जबदेखि यहाँ मानव बस्ती बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो। यो नेवार समुदायमा बढी प्रचलनमा रहेको, वर्षौंदेखि चल्दै आएको मौलिक, संस्कृति त हो जाति विशेष जनाउने पहिचान पनि हो। नुवाकोटको प्रसिद्ध देवीका पूजारी डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरूप मानिने गरिँदै आइएको छ।

    यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ।

    नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि पछिल्लो समयमा आएर यो प्रथा छायामा पर्दै गएको प्रतीत हुन्छ।

    नेपालमा राजकीय कुमारीबाहेक विभिन्न ११ स्थानमा कुमारी छन्।

    ती हुन्, बसन्तपुरको राजकीय कुमारी, काठमाडौं मखनटोलको कुमारी, काठमाडौं किलाथलको  कुमारी, टोखाको कुमारी, भक्तपुरको कुमारी, पनौतीको कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको कुमारी, साँखुको कुमारी, पनौतीको कुमारी र नुवाकोटको कुमारी।

    यसरी सय स्थानहरूमा कुमारी रहेको बताइन्छ। विगत केही वर्षदेखि काठमाडौंका ह्यूमत महिला समूहले, यस संस्थाका प्रचारप्रसार संयोजक राजु नापितले बताएअनुसार, हरेक तीन तीन वर्षमा विभिन्न कार्यक्रम गरी कुमारी पूजा गर्दै आइरहेको छन्।

    यो संस्था कुमारीको प्रचारप्रसार गर्दै यस प्रथाको संरक्षण गर्नुपर्छ भनेर लागि परेको छ।

    कुमारी पूजामा स्थानीयहरूको चासोमा कमी रहेको देखिन्छ। यस सम्बन्धमा स्थानीय सरकारको ध्यान जान जरूरी छ। यस्तै, स्थानीय सांस्कृतिक पहिचानले नै समृद्ध नेपालको राजमार्ग बन्न सम्भव हुन्छ।

    कुमारी भन्ने बित्तिकै यसलाई नेवारी समुदायको पहिचान मात्रै हो भन्न मिल्दैन, यो नेपालकै पहिचान हो। हरेक घरमा कन्या कुमारीको पूजा गर्ने चलन रहेको छ।

    जीवित कुमारी देशका ११ स्थानमा रहेको कुरा पनि प्रचारप्रसारको कमीले नुवाकोटकी कुमारीबारे कमैलाई मात्र जानकारी भएको स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन्।

    विभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ।

    स्थानीय जात्राहरूको संरक्षणतर्फ यसर्थ स्थानीय समुदाय तथा सरोकारवालाहरूको पनि विशेष ध्यान जानु जरूरी देखिन्छ। 

    #विचार

    फेसबुक प्रतिक्रिया