शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • छुट्ने बेला

    समिकरण न्युज २०७७, ५ जेष्ठ सोमबार १६:५० पढ्न लाग्ने समय < 1 मिनेट

    कविता

    छुट्ने बेला तिमीले
    म सँग यी प्रश्नहरु नगर्नु पथ्र्यो
    किन अँध्यारो छ जीवनको बस्ती ?
    कता हराए ताराहरु ?
    कता हरायो घाम ?
    यो खोला किन सुसाउँछ
    विरहको गीत ?
    यो बाटो गन्तब्य नपुगी
    किन टुङ्गिएको ?

    यो युगमा सबैभन्दा लामो समय
    सँगै यात्रा गर्ने हामीभन्दा बाहेक शायदै कोहि होलान्

    शायदै होलान्
    सँगै रमाएका, हाँसेका र नाचेका पनि
    तर तिमीले आवेसमा छुट्ने बेला म सँग
    त्यसो नभनेको भए हुने थियो
    तिमीले बिर्सिएर पनि मलाई नसम्झनु ।

    हिजो
    हामी दुबैले हेरेकै हौ
    अध्यारोभित्र फुलेको उज्यालो
    हिडेकै हौ समयको छालहरुमा घुमाएर नाउ
    निदाएकै हौ शीतभन्दा पहिले
    बिउँझिएकै हौ घामभन्दा अघि

    मुस्कुराएकै हौ हिमाल सँगसँगै ।

    र,
    आज पनि
    म तिमी लाई त्यही राजमार्गको
    एक बटुवा सम्झेर
    कुरी बसेकोछु
    सुन्न लाई प्रभातमा
    चराले गाउने परिवर्तन जस्तै लाग्ने
    उमङ्गको मधुर ध्वनी !
    मैले त उज्यालो जन्माउने
    बाचा गरेकी छु
    समयसङ्ग
    खोलामा भर्न खोजेकी छु
    उत्साहको
    सरगम
    बाटोलाई लक्षमा पुग्न भनेको छु
    त्यसैले म
    सम्झनुको गलत परिभाषामा अल्झिएर
    प्रेमको अभिनय गर्ने कलाकार झैँ
    तिमीलाई प्रेममा बाँधिरहन सक्तिन ।

    तर म
    तिमीलई यसरी नियाल्न चाहन्छु
    जसरी भरखरै प्रसव पीडा खेपेर बिउँतिएकी आमाले
    हेर्छे आफ्नो सन्तानको अनुहार

    भेट्छे दुनियाँमा कतै नभेटिएको भगवान
    म तिमीलाई यसरी प्रेम गर्न चाहन्छु
    जसरी युगौँदेखि छातीमा नदी बोकेर बाँचेको छ बगर
    म तिम्रो अनुहारमा त्यो फूल फुलेको देख्न चाहन्छु
    जसलाई देखेर आफुलाई नै भुलोस् चाँदनीले
    म तिम्रो विचारमा यति अग्लो शिखर भेट्न सकुँ
    जहाँ सगरमाथा पनि उक्लियोस् मुस्किलले
    तिम्रो आखाको प्रेम यसरी छचल्कियोस्
    जसरी रुन्छ रानीपोखरी देखेर रारा ।

    साथी प्रेम न अभिनय हो न युद्ध
    सबथोक सम्झेको छु
    छुट्नेबेला तिमीले भनेको एउटै कुरा बिर्सिएर
    तिमीले नसम्झनु भनेको बाहेक
    सबै कुरा सम्झेको छु ।

    –जिलिङ, नुवाकोट

    साभार: रूपायन त्रैमासिक

    #साहित्य

    फेसबुक प्रतिक्रिया