शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • लघुकथा: नेता

    समिकरण न्युज २०७७, ५ जेष्ठ सोमबार १६:५३ पढ्न लाग्ने समय < 1 मिनेट

    निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि वीरबहादुरको जिल्लास्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अब उमङ्गको पङ्खा हम्केर बस्न थाल्यो ।

    उसको बढुवासँगै उसको दिनचर्या पनि बदलियो । उ अब सधँै अन्तक्र्रिया, गोष्ठी, सेमिनारहरुमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आशनमा रहने ऊ अचानक खुशी देखिन थाल्यो ।
    उसलाई पत्रकारहरुले पनि प्रखर वक्ताका रुपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, चेलीबेटी बेचबिखन, लागूऔषधजस्ता सामाजिक विकृतिहरुका बारेमा उ सशक्तरुपमा भाषण दिन थालेको थियो ।

    एक दिन खुलामञ्चमा महिला हिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एन.जि.ओ.द्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउना साथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण ग¥यो–

    “आदरणीय जनसमुदायहरु, आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । आज हामीमाझ परम्परागत कुरीति, विकृति, विसंगतीले गर्दा देशको विकास हुन सकिरहेको छैन । बालबिवाह, यौन दुव्र्यवहार दाइजो प्रथाले गर्दा दिदी बहिनीहरु आक्रान्त बनेका छन् । उनीहरु आत्महत्या गर्न विवश छन् । जिउँदै जलाईएका छन । जबसम्म महिलाहरु सशक्त हुँदैनन् जबसम्म उनीहरुको आत्मसम्मानलाई सबैले स्वीकार गर्दैनन् तबसम्म देश विकास हुँदैन । म यति भन्दै……………..।”

    उसको भाषण सकिने बित्तिकै दर्शकदीर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरुले नेता हुनु त वीरबहादुर जस्तो हुनु भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भएमात्र देश विकास हुन्छ भनेर सबैले तारिफ गरे ।

    एक महिला दर्शकदीर्घाको पछाडि तीनवटी छोरी च्यापेर रुँदै थिई, “बिहेमा दाईजो ल्याउन नसकेकी र छोरीमात्रै जन्माएकी भनेर चरम् यातनाका साथ घरबाट निकालिएकी हुँ । म त्यही नेताकी श्रीमती हुँ जो आहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ ।”

    –बागमती–११, कर्मैया, सर्लाही

    साभारः रूपायन त्रैमासिक

    #साहित्य

    फेसबुक प्रतिक्रिया