शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • अर्जुन सर होइन हामी हौ पागल, यस्तै छ हाम्रो हाल !

    समिकरण न्युज २०७७, २६ जेष्ठ सोमबार १७:२४ पढ्न लाग्ने समय 6 मिनेट

    जमाना कस्तो अचम्मको आयो भने जिउँदो हुँदा ज—जसले मानसिक रोगी करार गर्दै उछितो काडिरहेको हुन्छ, मरिसकेपछि गीत गाउने पंक्तिको पहिलो लहरमा तिनै उभिएका हुन्छन् । सबैभन्दा पहिला तिनीहरु नै स्तब्ध हुन्छन्, तिनीहरु नै भावविव्हल हुन्छन् । तिनीहरुले व्यक्त गरिरहेको श्रद्धाञ्जली र समवेदनाका शब्द र आवाजमा गन्हाउने ढोंग र पाखण्ड देखेर मलाई वाकवाकी लाग्छ । मृत्युउप्रान्त अर्जुन भण्डारी सरले धेरै छेपारा र गोहीहरुको पनि तस्वीर देखाए ।

    अर्जुन भण्डारी, कम्युनिष्टका कखरा सिकाउने शिक्षक । हजारौं प्रगतिशील विद्यार्थीका शिक्षक । संघर्ष र क्रान्तिको सपना र भारी दुबै बोकेर दौडने र दौडन सिकाउने शिक्षक । बाँच्नु र मर्नुमा धेरै फरक छ, मित्र र शुभचिन्तक चिन्नु र जिन्दगी भोग्नुमा समेत उस्तै फरक छ ।

    त्यसैले शुरुमा माफी माग्दै श्रद्धान्जली अर्जुन सर !
    तपाई होइन हामी हौं पागल, यस्तै छ हाम्रो हाल !

    २०४२ सालको बमकाण्डले फैलदै गरेको कम्युनिष्टमाथि पञ्चायती राष्ट्रवादको गोर्खेलौरी बजारिंदै थियो । त्यो भीषण दमनको एक परिघटना थियो । त्यही घटनापछि अमरज्योति माविका शिक्षक गणेश पण्डित मादल चिन्ह लिएर मैदानमा आए, चण्डेश्वरी मावि तुप्चेका शिक्षक दिलीप चौधरी हालसम्म बेपत्ता भए । उनी पनी त्यही दमनको शिकार हुन भन्ने चाही सबैले जाने मानेको थाहा पाएको तथ्य थियो ।

    नुवाकोटको राजनीतिबाट भद्रबहादुर खड्का, जितसिंह खडका, प्रकाशचन्द्र लोहनी र अर्जुननरसिंह केसीलगायतलाई निकालिदियो भने पञ्चायतको राजनीति अपूरो हुन्छ । राजा विरेन्द्रका सैनिक सचिवसम्म भएका ऋषीकुमार पाण्डे, प्रहरी प्रमुख डीबी लामाहरु जस्ता पञ्च प्रशासकको दबदबा र स्थार्थको जोडघटाउमा धेरै जनता पेलिएका, पिल्सीएका थिए त्यो बेला । त्यो बेला कम्युनिष्ट सर्मथकले देखाउने सामाजिक नायकत्व प्रायः शिक्षकको आवरणमा स्थापित हुन्थ्यो । त्यहींबाट पञ्चायती अपराधखानाविरुद्ध धावा बोलेका थिए अर्जुन भण्डारी सरले । यसैले उनी पटकपटक पञ्चायतको निशानामा परे । इस्पात जस्तो विचारलाई गर्जनसाथ बोल्ने स्वभावका कारण त्यसैले अर्जुनसरले यातनाका प्रताडना भोगे ।

    त्यसैले उनी बिरामी थिए ।

    उनको उपचार गरेर निको भए मेरो बाटोमा तगारो होलान् भन्ने क—कसले सोचे होलान् ? उनलाई उपचार गर्न किन चाहेनन् ? कि सकेनन् ? २०५७ सालको थान्सीङ बैठक र २०७७ सालमा अजुर्नसरको निधन भएको भोलीपल्ट उनैको दैलोमा त्यही कुरा लिएर एकोहोरो कराउने चाही उही शुभलाल मात्रै भए कि अरु पनि होलान् ?

    ‘उनी जिल्लाको क्रान्तिकारी आन्दोलनका खम्बा हुन, उनीमाथी पार्टीले गरेको ब्यवहारले चित्त दुखेको छ, मैले यो कुरा २०५७ सालको थान्सीङ बैठकमा भनेको थिए’ भन्दै २० वर्षपछि पनी उही एजेण्डामा शुभलाल रन्किंदा कमरेड इन्द्र गौतमले केही दिब्यज्ञान पाए कि त ? बैठकको झल्को आयो कि त ? बेदागी र सन्त मानिएका इन्द्र गौतम जगतजंग सबैको गुनासो पोख्ने अखडा हुन्, चाहे विरक्तीएर बरालीएका हुन् की किनारामा फालीएकाहरु । सुनेर उडाउछन् की सुनुवाइ गर्छन् उनै जानुन् ।

    अर्जुन सर वीर र बौद्धिक दुबै थिए । लाल र निपूर्ण दुबै । उनी झुटो बोल्दैनथे, अवसरवादले साँचो बोल्दैन चुरो यही हो । उनी मरेर गए तर बाँच्ने सबैले सत्य बोल्दैन । त्यसैले एउटा सत्य गुमनाम भएको मान्नपर्छ ।

    उनी पढेलेखेका थिए । हुने खाने थिए । सम्पन्नता र सम्वृद्धीका अनेक अवसर थिए उनलाई । ती सबै छोडेर बर्गमुक्तिको सपनामा कुदे । खासमा परिवर्तनका प्रति उनमा पागलपन थियो । त्यो बेलादेखि यो बेलासम्म उनलाई नेपाली क्रान्तिको चिन्ता थियो । सत्य, निडर र जुझारु मामिलामा संघर्ष र क्रान्तिका यी अम्मलीलाई पश्चिम १ नम्बरको रुपचन्द्र मान्थे धेरै ।

    अर्जुन भण्डारीको जिन्दगीको कथा तन्काउँदा संघर्षको उपन्यास बन्छ । यो बसाईमा अरु नसकिए पनि केही सत्य अन्वेषण र केही तथ्य दर्ज गर्र्न जरुरी हुन्छ । लेखक÷पत्रकार पुरुषोत्तम लम्साल सामाजिक सञ्जालमा लेख्छन्, श्रद्धाञ्जली लेख्ने बेला धेरै भुपु माओवादीले अर्जुन सरलाई चिने र स्तब्ध पनि भए । फरक छ बाँच्नु र मर्नुमा । धन्न फेसबुक थियो र चिने । माओवादीहरुले उपेक्षा गरेर, अस्वीकार गरेर, अपमान गरेर, उनको मूल्यको अवमूल्यन गरेर अर्जुन भण्डारीको राजनीतिको नै हत्या गरेको लम्सालको टिप्पणी छ ।

    यो नै यथार्थ हो । जुन हामीले देखे भोगेका सत्य र तथ्यमाथीको एक सफेद झुट थियो । ठूलाहरुबाट बोलीएको झुट । राजनीतिको यात्राभित्र कति कपट, जालीझेली खेल भयो होला भन्ने अनुमान लगाउन यही काफी छ । वन खाने आगो झैं हुरुरु आएको त्यो उनको त्यो बहुला विचार जो संसारलाई काँचै निलुला झै गर्दथ्यो, महाकवि देवकोटाको पागलक कविता झल्झली सम्झाउने हुन्छन्ः

    पागल ज्वालामुखीको उद्गार
    भयङ्कर व्यक्तित्वपाल !
    जरुर, साथी !
    सन्के मगज छु, सन्के !
    यस्तै छ मेरो हाल !

    त्यस्तै थियो हाल उनको । नेकपा भित्र लामा समूह र मोहनविक्रम समूहको विभाजनपछी हो भुईसम्म पुग्ने गरी नुवाकोट रसुवाका कम्युनिष्टमा खडा भएको विभाजन यो रेखा चौम र मशालको । तर आत मरेका कायरहरुले उनलाई जिन्दगीभर मजाक बनाए । मशाल र माओवादी विभाजनको बेला जिल्लामा नाम चलेकाहरु पार्टी छोडेर हुरुरु एमालेतिर हाम्फालेपछि ति सबैविरुद्ध आगो ओकलेका थिए अर्जुन सरले । त्यो बेला अर्जुन सरको निर्मम टिप्पणी तोया होइन खोया, कैलाश होइन लाश, बिष्ने होइन सिस्ने चल्तीमै थियो ।

    माओवादीले जनयुद्धको ज्वारभाटा उठाउँदा तोया त खोया नै भएका थिए, बिडम्बना ! अहिले माओवादी नै खोया भयो त के लागोस् ? तर विष्णु चाही सबैलाई सिस्नो नै ठहर भएर कामरेडहरुको आधार किल्ला तुप्चेमा एक सिटे नगरसदस्यको इज्जत जोगाउने लंगोट चाही बनेका छन् । कांग्रेस एमालेको बथानका हुलमा अहिले पनि तिनलाई सिस्नु जस्तो लाग्दो हो बिष्णु ।

    नुवाकोटको राजनीति र जनयुद्धमा त्यस्तै भयो । धेरैले लुकेर जागीर खाने र बस्ने अखडा बनाएर आफुलाई क्रान्तिकारीको लेप लगाए । कुमरी घटना त्यही अखडाको उपज जो थियो । क्रान्तिको राजधानीलाई बुद्धिजीविले लुकेर जागीर खाने थलो बनाउने, जनता काम गर्ने अनि नेता बन्ने फेरि उनीहरु नै । अवसरवादीहरुको यो किल्लामा पनि हमला गरे अर्जुन सरले । तिनका स्वार्थको संसारमा भुईचाल ल्याइदिए । केहीलाई पानीमरुवा भने, कोही धनको पछी लागेका द्रब्यपिचास हौ भने । आज उभिएर समीक्षा गर्दा आन्दनको कुकर बम विद्रोह र अर्जुनको अस्त्र अबसरवादको टाउको मै हानेको हो भन्ने चाही समयले पुष्टी भएको छ ।

    उही राजनीति, उही यात्रा तर श्रीमती चोरेर लैजाने जारहरुको जस्तो काटाकाट गर्नेहरु एक स्वरमा अर्जुन पागल हो भन्नेले उनको त्याग र समर्पणको कुनै मूल्य राखेनन् कुन्नी । अवसरवादको चाकरीमा रम्ने झिंगे कमरेडहरु अर्जुन सरको उचाई देखेरै तर्सन्थे । त्यसैले यातनाले दिमाग बिग्रेर आएको पागल हो भनेर बेबारीसे छोडेका थिए अर्जुन सरलाई । पिठ्यूँपछाडि छुरा उज्याउने पनि तिनै, खिसीट्युरी गरेर मुतको आनन्दमा रमाउने पनि तिनै । दुर्भाग्य, अर्जुन सरको निधनमा तिनले झारेको गोहीको आँशु ,बगाउने पनि तिनै ।

    सुधारवादको मुटुमाथि प्रहार गर्ने अर्जुन सर पागल कि आज सुधारको खाडलमा जाकिएर अलाप गर्ने तिनीहरु पागल ? समयले यो निर्मम प्रश्न छाडेर गएको छ । छातिमा हात राखेर भन्ने आँट छ हिजो र आज के भनियो र गरीयो भनेर ? नेकपाका नेता मणी थापाले सामाजिक सञ्जालमा लेखे जस्तै एक जुझारु, जब्बर कम्युनिष्ट ब्यक्तीत्व क उदय रहनु भएन । उहाँको तर्क र काम गर्ने तरीका सिक्नलायक छ । तर समाज र नेताहरुले उनीबाट सिक्ने भन्दा उनको भावनामाथि मजाक गर्नेलाई पनि थापा कमरेडले यो दिब्यज्ञान सुनाइ दिउन् । उनको भावना नियाल्ने शब्दहरु देवकोटको काब्य हरफहरु उस्तै थिए ।

    म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
    मलाई बुज्रुगहरुले, राँची पठाइदिए !
    म आपूmलाई एक दिन मरेको सम्झेर
    लम्पसार थिएँ, एक साथीले बेसरी चिमटिदिए
    र भने, “ए पागल तेरो मासु अझ मरेको छैन!”
    यस्ता कुरा भए साल, साल!
    पागल छु साथी!
    यस्तै छ मेरो हाल !

    त्यस्तै कथा कति भए सालसाल । पछिल्लोपटक राजनीतिक पुर्वाग्रहले खोसीएको शिक्षकका जागीरको पेन्सन मिलाउछु भनेर अर्जुन सरलाई झुक्याए । केहीले उपचार गर्छु भन्दै तारेख दिएर कज्याए । पञ्चहरुले त शरीरमा यातना दिएका थिए लोकतन्त्रका मठाधीशहरुले उनको भावनामाथि यातना दिए ।

    शिक्षा र स्वास्थ्य मन्त्रालय सम्हालेका गिरिराजमणीको फोस्रो आश्वासनको हैरानीले परेसान थिए अर्जुन सर । विषाक्त माकुराको जालो जस्तो कर्मचारी संयन्त्र र मुखले ठिक्क पार्ने नेताहरुको चरित्रको शिकार भए बिरामी अर्जुन सर ।

    भूपू माओवादीका जल्दा बल्दा नेता तथा बहालवाला मन्त्री वर्षामान पुनले पनि पहल लिन आश्वासन दिए । तदारुकता नदेखाइएको त्यो उधारो आश्वासनको पोको लिएर नेताजीहरुले बैतरणी पार गरुन् अब ।

    मेरो मनमा जस्तै प्रश्न होला राजु भण्डारी, निर्मला मिस र उषाको मनमा पनि । मरेपछि आउने प्रचण्डको फेसबुक विज्ञप्ती जिउँदोमा सिंहदरबार जादा किन आएन होला ? उच्च सम्मानसहित विज्ञप्ती निकाल्न्ने नारायण दाहालको प्रदेश संयन्त्रले जाउलाखेल र सिहदरबारमा भौंतारिहेको अर्जुन सर किन सुनेन देखेन होला ? अनि उपचारको आग्रह गर्दा सुनेको नसुनेझैं गर्ने जिल्ला पार्टी कारखाना के होला ? अनि मरिसकेपछि झण्डा ओढाउने हतार तिनैलाई किन होला ? मरिसकेपछि सबैभन्दा धेरै छाती तिनै नालायकहरुको दुख्ने किन होला ?

    विद्यार्थी आन्दोलन र नुवाकोट पुस्तक विमोचन कार्यक्रममा अर्जुन सरलाई सम्मान कार्यक्रम राखिएको थियो । लेख्नु र त्यसलाई पुस्तकको रुप दिनु, प्रकाशन गर्नु म जस्तो भुईमान्छेका लागि पहाड थियो । स्तुुतीवाद र भजन नगाउने आलोचनात्मक चेत राख्नेलाई निषेध गर्नेहरुले त्यो कार्यक्रम बहिष्कार गरेका थिए । किनकि, त्यहाँ अर्जुन सरको सम्मान कार्यक्रम पनि सँगै थियो । अनील शर्मा, डा.सुरेन्द्र केसी, कुमार पण्डित, नारायण खतिवडा, लक्ष्मी मुडभरी, माइला लामालगायतले भने राजनीतिलाई सचित्र पर्गेल्ने शिक्षा दिए ।

    केहीअघि काठमाण्डौबाट बसन्त भेटुवाल र अजुर्न सरको फोन आयो । ब्यथाले गाँज्दै लगेपछि झुक्याएर पुर्नस्थापना केन्द्र लगेका थियौ । उपचारको क्रममा थाहा भयो उहाले डाक्टरको जस्तै बनाएर आफैले लेखेर औषधी खान छाडेछन् । तर पछिल्लोपटक बिरामी भएपछि रोगले गलायो । बिरामीमा पनि उहाले भेट्न खोज्नुभएको रहेछ तर मैले भेट्न सकिन । यो अफसोच जिन्दगीभर झुण्डिरहने भयो मेरा लागि ।

    अफसोच ! गणेश पण्डित जस्तै अर्जुन सर पनि मृत्यपछिको महिमागानको शिकार भए । अन्यायमा परे । अग्रज पुस्ताका भन्नेलाई प्रश्न छ, तिमीहरुलाई पनी हामीले मरेपछि पछी महान भन्न र झण्डा ओढाउन मात्रै कुद्ने हो ? बुढो बाजे फाल्ने डोकोको कथा जस्तो बुढा फाल्ने डोको मात्रै थाम्ने कि बुढाहरुको मनको धोको पनी छाम्ने कमरेडहरु ?

    भरत सिग्देल सामाजीक सञ्जालमा लेख्नुहुन्छ कसैले पनि जीवनको उतरार्थमा रस चुसिएको उखुको सडकमा मिल्काउने खोइला बन्नु नपरोस् । बल र बैंश पार्टीमा विताएका आन्दोलनमा गुमाएकाहरुको चित्र हो यो । यो पाटो नेता भन्नेहरुलाई खासै मतलब हुन्न, मरेपछि चाही महान ।

    पाए र सके भने हाम्रा नेताहरुले अर्जुन सरजस्तै अरु कसैलाई बेघरबार बनाइदिन बेर लाउँदैनन् । ०६४ को संविधानसभा निर्वाचनमा चुनाव खर्चका लागि सहकारीमा घरजग्गा धितो राखेर ऋण लिएका थिए अर्जुन सरको परिवारले । त्यो ऋण तिर्न नेताहरु उदासीन बन्दा देखिएको कलह मात्रै होईन हरिबहादुर बस्नेतले भोगेको सास्ती र हैरानीको कथाको साक्षी हुँ म ।

    जब पोष्टबहादुर बोगटीले यो सुईको नपाएका भए भण्डारी परिवारको उठिवास लगाउने थिए बिचौलिया नेताहरुले । त्यहीबेला देखियो नेता, कार्यकर्ता र जनताबीचका विचौलिया अनि भुरेटाकुरे मुखियाहरुले तुच्छ स्वार्थका लागी अरुलाई कसरी उखु पेल्ने कलमा घान हाले जस्तै पेल्छन् भनेर । इमानजमानको पर्यावाची हरिबहादुर सर जस्तो कार्यकर्ता त्यस्तै घानमा पेलिने हो । बाँकी कथा त जाँगर चलाएर हरीबहादुरले आत्मकथा लेखे पढौला कुनै दिन ।

    अन्त्यमा, अर्जुन सर प्रष्ट बोल्ने र सत्य बोल्ने मेमोरीकिंग थिए । विश्व कम्युनिष्ट आन्दोलन र दर्शनशास्त्रको विश्वकोष जस्तो । न केहीसंग केही आश थियो, न कसैको त्रास रुपचन्द्रको शैलीमा धेरैसँग सिधा भाषामा संवाद गर्थे । सतिसाल भनेको कस्तै आँधीबेहरी र हुरीले पनि झुकाउन, ढलाउन नसकेको रुख हो । र, अर्जुन भण्डारी त्यही रुख जस्तै भए । आजका ढुटे र ठुटे नेताहरुले भण्डारीलाई के जाती जेष्ठ कम्युनिष्ट मञ्चको प्रस्तावित सदस्य भनेर ओठेभक्ति देखाए । अर्जुन भण्डारीको इतिहास, संघर्ष, र सौर्यलाई छिचिमिराहरुको प्रस्तावित सदस्यले छोप्ने गलत अभ्यास भयो । यसो भन्दा मलाई पनि मगज खुस्केको भन्नसक्छन्, भनून् । महाकवि देवकोटाकै कविताको अंशजस्तोः

    जरुर साथी म पागल
    यस्तै छ मेरो हाल
    म शब्दलाई देख्दछु !
    दृश्यलाई सुन्दछु !
    बास्नालाई स्वाद लिन्छु !
    हार्दिक श्रद्धाञ्जली अजुर्न सर ।

    #विचार

    फेसबुक प्रतिक्रिया