शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • पुरुको पहिलो भएको कविता ‘घामलाई चिठी’

    समिकरण न्युज २०७७, १५ असार सोमबार १७:५९ पढ्न लाग्ने समय 1 मिनेट

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा भएको दोस्रो बृहत सिन्धु साहित्य सम्मेलनमा नुवाकोटका स्रष्टा पुरु लम्सालको कविता पहिलो भएको छ ।
    बागमती प्रदेशस्तरीय प्रतियोगितामा लम्सालको ‘घामलाई चिठी’ शीर्षकको कविता पहिलो भएको हो । प्रतियोगितामा सुमन आलोक द्वितीय, रोजिना पराजुली तृतीय र पवन ढुङ्गाना र सविता थापा सान्त्वना हुनु भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुने दुई कविहरुलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
    दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा भएको बागमती प्रदेशस्तरीय कविता प्रतियोगिता एवम् सम्मान समारोहमा जिल्लामा साहित्यमा योगदान पु¥याउने ३ स्रष्टा र ३ पत्रकारलाई सम्मान गरिएको हो । स्रष्टा अमित घिमिरे, कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, सरल सहयात्री पौडेल सम्मानित भएका छन् । त्यस्तै बागमती प्रदेशका प्रेस रजिस्टार्ड रेवती सापकोटा, न्यूज २४ का प्रमोद न्यौपाने र कान्तिपुरमा कार्यरत दामोदर न्यौपानेलाई सम्मान गरिएको हो ।
    पहिलो भएको कविता:


    घामलाई चिठी

    प्रिय घाम !
    अनुरोध सहितको एउटा चिठी
    लेखिरहेको छु तिम्रो नाममा
    नपठाउनु पारिला किरणहरु
    ओसिला वस्तीहरुमा
    तिमीले पठाएको उज्जयालो
    बीचमै छेकिदिन्छ कालो पहाडले
    र हाम्रो घरसम्म आइपुग्नै दिइँदैन
    हाम्रै नाममा अरुले तापिरहेछन् न्यानो
    सेकाइरहेछन् आङ
    तर अफसोच हामी पर्खिरहेकाछौँ
    चिसो आँगनमा एकमुठ्ठी घाम
    नउदाउनु हाम्रो आँगनको बाटो
    यहि करेसा हुँदै गएर ठोक्किन्छौ
    कतै आलिसान महलमा
    र घाइते अस्ताउँछौ साँझमा
    तिमी उदाउँदैमा हाम्रो बस्तीमा
    बिहान नआउने रहेछ
    बरु नउदाऊ हाम्रो ढोकामा
    हामीलाई चाहिएको छैन
    आफ्नै रगत लतपतिएको
    रातो बिहान
    नआउनु सुनौलो रंग छर्दै
    निथ्रुक्क भिजेका फूलका डालीहरुमा
    जहाँ रंग विहीन सपनाहरु
    अर्धचेत अवस्थामा लडिरहेकाछन्
    र मुस्कुराई रहेकाछन्
    कागजका काला फूलहरु
    अभावहरु रुपान्तरित भएपछि आवश्यकतामा
    लुगलुग काँपिरहेको छ
    कर्कलाको छातीमा शीत
    तिम्रो चर्को रापमा पनि
    शिशिर ओढेर
    कहिलेसम्म देख्नु बसन्तको सपना हामीले रु
    प्रिय घाम
    तिमी उदाउँदा हिमाल मुस्कुरायो
    तर हाम्रो वस्ती रोइरहेकै छ
    महललाई न्यानो भयो
    तर हाम्रा झुपडी चिसै छन्
    आकाश उज्यालो पनि भयो
    तर हाम्रो मन अँध्यारै छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया