नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जनताको करबाट खाएको तलवलाई न्याय गर्ने बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न विहिवार नुवाकोट आउनुभएका उहाँलाई नुवाकोट उद्योग वाणिज्य संघले शुक्रवार स्वागत तथा परिचयात्मक कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी ढकालले आफूसँग नेपाल सरकारले उपलव्ध गराउने सेवा बाहेक केहीमा पनि स्वार्थ नरहेको समेत बताउनुभएको छ । नागरिकको स्वार्थको लागि काम गर्न तल्लिन रहेको भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा रहेका सबै तह र तप्कामा रहेर काम गरिरहेकाहरुबाट रचनात्मक सल्लाह सुझावसँगै सहकार्यको अपेक्षा गरेको बताउनुभएको छ ।
राजधानीसँगै जोडिएको जिल्ला नुवाकोट भएता पनि विकासात्मक कार्यहरुबाट पछाडी रहेको जानकारी आएको र आफूले पनि त्यहि महसुस गरेको भन्दै उहाँले आर्थिक रुपमा जिल्लालाई सक्षम बनाउन सम्भावनाको पहिचान गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सरकार, निजि क्षेत्र र सहकारी क्षेत्र एकआपसमा सहकार्य गरी अघि बढेको खण्डमा आर्थिक गतिविधिलाई वढाउन सकिने उहाँको भनाई छ । साथै उहाँले नाफा र कल्याणलाई सँगसँगै लिएर आयात र निर्यातमा मात्र सिमित नभई उत्पादनमा जोड दिनु अहिलेको आवस्यकता रहेको बताउनुभएको छ ।