बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • बा प्रधानमन्त्री

    समिकरण न्युज २०७७, ३० असार मंगलवार १८:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    संगीता पनेरु

    छोराले सोध्यो
    आमा प्रधानमन्त्री भनेको को हो ?
    मैले भने बाबु प्रधानमन्त्री यो देशको बा हुन्
    मेरो कुरा सुनेर छोरो रिसाउँदै भन्यो
    कसरी हुन्छ मेरो बा र प्रधानमन्त्री एउटै ?
    म दुःखी हुँदा मेरा बा
    मलाई खुसी पार्न आफ्नो सबै दुःख भुल्नुहुन्छ
    म भोको हुँदा मेरा बा भोकै बस्नुहुन्छ
    मलाई चोट लाग्दा मेरा बा रुनुहुन्छ
    मलाई स्कुल जान मन नलागेको बेला
    बाले फकाउँदै स्कुल लैजानुहुन्छ
    मेरा च्यातिएका लुगा सिलाइदिनुहुन्छ

    तर यो देशको प्रधानमन्त्रीले कहिले त्यसो गर्नु भएको छ ?
    छ भने किन लेख्नुहुन्छ ?
    भोकमरीको समाचार
    किन खिच्नुहुन्छ ? सिंगान बगाइरहेका नांगा नानीहरुको फोटो
    किन गाउनुहुन्छ ? हत्या, हिंसा र बलात्कारविरुद्धको गीत
    किन रुनुहुन्छ ? कर्णालीको कथा सुनेर
    किन भक्कानिनुहुन्छ ?राजु सदाको मृत्यु सुनेर
    किन धारेहात लाउनुहुन्छ ? प्रधामन्त्रीले उखानटुक्का भन्दा

    जसरी मेरा बाले मलाई मायाँ गर्नुहुन्छ
    त्यसैगरी देशका सबै सन्तानलाई किन मायाँ गर्दैनन् प्रधानमन्त्रीले ?
    त्यसैले मेरा बासँग प्रधानमन्त्रीको तुलना नर्गुहोस्
    उहाँ त आत्मरतीमा रमाउने मान्छे
    दुःखमा गोहिको आँशु चुहाउने मान्छे
    कामकुरो यकातिर छोडेर
    कुम्लो बोकेर ठिमितिर दौडिने मान्छे
    देशको बा नभएर छेपारा रहेछन्
    जसले छिन्छिन्मा रंग फेरिरहेका छन् ।

    #साहित्य

    फेसबुक प्रतिक्रिया