बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • विपद व्यवस्थापनको पूर्वतयारी- नुवाकोटमा आपतकालिन गोदामघर निर्माण गरिने

    समिकरण न्युज २०७७, ४ श्रावण आईतवार ०६:०३ पढ्न लाग्ने समय < 1 मिनेट

    नेपालमा मनसुन सक्रिय रहेको छ । अब केही दिन देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    केही दिनअघि मनसुन सक्रिय भएर ठूलो पानी पर्दा नेपालले जनधनको ठूलो क्षति बेहोर्नुपरेको थियो । केही दिनअघिको सक्रिय मनसुनले क्षति पुगेका ठाउँमा उद्धार, राहत र प्रभावितको स्थानान्तरणको काम अझै पनि भइरहेको छ । केहीदिन कमजोर मनसुन फेरि सक्रिय भएसँगै थप सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दा, सुरक्षा निकायले परिचालन गर्ने उद्धार टोली र सम्बन्धित सबै निकाय अहिले पूर्वतयारीमा छन् ।
    मनसूनजन्य विपदको अवस्थामा तत्काल खोज,उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला विपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको छ । जिल्ला विपद व्यवस्थापन समितिको पहलमा वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसंगको समन्वयमा प्रदेश आपतकालिन केन्द्रमा रहेको गोदाम घरबाट ५ सय थान त्रिपाल र ४० थान टेण्ट जिल्ला आपताकालिन कार्यसञ्चालन केन्द्रमा ल्याइएको प्रमुख जिल्ला अधिकारी झंक ढकालले बताउनुभएको छ । उक्त सामग्रीहरु जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार विपदबाट प्रभावित व्यक्ति तथा परिवारहरुलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
    यस्तै वाग्मती प्रदेश अन्तर्गत पर्ने धादिङ, नुवाकोट र रसुवा जिल्लाको विपद जोखिमको अवस्थालाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट चालू आर्थिक वर्षमा नुवाकोट जिल्लामा आपतकालिन गोदामघर निर्माण र स्थापना गर्ने कार्यक्रम रहेको समेत ढकालले बताउनुभएको छ । आगामी दिनमा संभावित विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणको कार्य प्रभावकारी बनाई जनधनको क्षति न्यूनिकरणमा मद्धत पुग्ने विश्वास लिइएको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया