शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको उत्थानमा क्रियाशिल यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले विसं २०७४ र २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।
सामुदायिक विद्यालयबाट एसईई परक्षामा सहभागी भएर उत्कृष्ट नतिजा सहित उर्तीण भएका नुवाकोटका ५ जना र रसुवाका २ जना विद्यार्थीलाई ट्रष्टका संरक्षक समेत रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एक कार्यक्रमका विच उनीहरुलाई सम्मान गर्नुभएको हो । २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उर्तीण भएका नुवाकोटका कृष्ण ओझा, सैलजा गजुरेल र रसुवाका विक्रम तामाङ रहेका छन् । यस्तै २०७५ को एसईई परीक्षामा सहभागी भएर उत्कृष्ट नतिजाको साथ उर्तीण भएका नुवाकोटका रस्मि पनेरु, निशा गजुरेल, अनुप कोइराला र रसुवाका सौगात ओस्ती रहेका छन् । सम्मानित भएका विद्यार्थीहरुलाई नगद दशदश हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसीले बताउनुभएको छ । ट्रष्टका महासचिव केसीको अनुसार नुवाकोट र रसुवामा रहेका एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु अध्ययन गरेका विद्यालय र प्रधानाध्यापकलाई समेत प्रमाणपत्रद्धारा सम्मान गरिएको छ ।
उक्त कार्यक्रमलाई संवोधन गर्नुहुदै ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले कोरोना भाइरसको कारण शैक्षिक क्षेत्रमा अन्यौलता सिर्जना भएकोले त्यता सरकारको विशेष ध्यान जानु आवस्यक रहेको बताउनुभएको छ । आत्मनिर्भर र उत्पादनमुखि शिक्षा अहिलेको आवस्यकता रहेको भन्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका केसीले पुरातनवादी ढङ्गबाट सञ्चालित शिक्षाको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ ।
यस्तै नेता केसीले आगामी वर्ष देखि नुवाकोटलाई कार्य क्षेत्र बनाई पत्रकारिता गरिरहेका एक जना क्रियाशिल पत्रकारलाई नगद सहित सम्मान गरिने घोषणा गर्नुभएको छ । सिङ्गो जिल्लाको विकासको लागि पत्रकारको पनि उल्लेख्य भूमिका रहेको भन्दै ट्रष्टले पेशाप्रति जिम्मेवार बनाउन र प्रोत्साहन थप्न पत्रकारलाई समेत सम्मान गर्ने उहाँले बताउनुभएको छ ।
स्वर्गीय आमा बुवाको नामले स्थापना गरिएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले विसं २०६५ सालदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । विसं २०७२ सालको विनासकारी भूकम्प र विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जस्तो विसम परिस्थितिमा पनि विभिन्न माध्यमबाट नागरिकको घरदैलोमा पुग्न सफल भएको ट्रष्टका अध्यक्ष केदारनरसिंह केसीले बताउनुभएको छ । अध्यक्ष केसीले ट्रष्टलाई राजनैतिक रुपमा भन्दा पनि नितान्त सामाजिक सेवामा तल्लिन सस्थाको रुपमा बुझिदिन समेत सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।
ट्रष्टका संरक्षक डाक्टर नारायणनरसिंह खत्री, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला प्रबक्ता राजु थापा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्र्की, शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, प्रधानाध्यापक बाबुराम लामिछाने, नारायण देबकोटा र सम्मनित विद्यार्थी रस्मी पनेरू लगायतले ट्रष्टले सामाजिक कार्यमा पुराएको योगदानको विषयमा प्रसंसा गरेका थिए ।
यस्तै ट्रष्टले बेलकोटगढी नगरपालिका भित्रका स्वास्थ्य सस्थाहरुको लागि १ सय २५ किलो साबुन र एन् नाइन्टी फाइभ मास्क समेत उपलव्ध गराएको छ ।