नुवाकोटमा ८० प्रतिसत धान रोपाई सकिसकेको छ ।
कृषि ज्ञान केन्द्रको अनुसार जिल्लामा औसत रुपमा ८० प्रतिसत धान रोपाई सकिसकेको छ । आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने स्थानमा समेत निरन्तर वर्षातको कारण धान रोपाइ गर्न किसानलाई सहज बन्दै गइरहेको छ । जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा समेत रोपाई अन्तिम चरणमा पुगिसकेको कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि प्रशार अधिकृत रुकमिणी अधिकारीले बताउनुभएको छ । उहाँको अनुसार जिल्ल्लामा रैथाने जात को भन्दा पनि उन्नत जातको धानको विऊ रोप्ने प्रचलन बढ्दै गइरहेको छ । म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका लगायत स्थानीय तहको माथिल्लो भेगमा रैथाने धानको खेती गर्ने प्रचलन कायमै रहेता पनि अन्य स्थानका किसानहरुले उन्नत जातको हाइव्रिड धान रोप्ने गरिएको कृषि प्रशार अधिकृत अधिकारीले बताउनुभएको छ ।
मकै नपाकेर धान रोपाई गर्न नपाएको जमिन प्रसस्त रहेकोले साउनको तेश्रो साता सम्म रोपाई गर्ने क्रम जारी रहन सक्ने उहाँले बताउनुभएको छ । गवारो जस्ता रोगले आक्रमण गर्न सक्ने भएकोले किसानले प्रत्यक्ष रुपमा रोपोको निरिक्षण गरिरहनुपर्ने उहाँको भनाई छ । रोपोमा केही समस्या आइहालेमा कृषि प्राविधिकको सल्लाह अनुसार उपचारमा लाग्न उहाँको किसानलाई आग्रह रहेको छ ।