शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • कम्रेड बाघ बघिनीहरु

    समिकरण न्युज २०७७, १४ श्रावण बुधबार १८:३४ पढ्न लाग्ने समय < 1 मिनेट

    राम लोहनी

    प्रिय बाघ दाजुभाइ तथा दिदीबहिनी,

    आज तपाईँहरूको दिवस हो। तपाईँहरूले कत्तिको ख्याल गर्नुभएको छ! आज तपाईँको छालामा स्यालको रजाइँ चलिरहेको छ। उसो त तपाईँको छाला निकाल्न मिल्दैन, कानुनअनुसार। तर तपाईँहरूको छाला नओढी तपाईँ जस्तो देखिन नमिल्ने रहेछ। तपाईँको छाला ओढेर हामी तपाईँहरू जस्तै देखिएका छौँ। त्यसैले हामी तपाईँहरूको संरक्षण चाहन्छौँ। तपाईँहरूको संख्या बढ्यो भने हाम्रो संख्या पनि बढ्ने हो, किनभने छाला त तपाईँहरूकै हो हामीलाई चाहिने। तर तपाईँहरूको संख्या दिनहुँ घटिरहेको छ। तपाईँहरू पहिला मास्सिने कि हामी भन्ने चिन्ता छ हामीलाई। तपाईँहरू त हाम्रो पहिचान हो, हाम्रो शान हो, मान हो। तपाईँहरूको संख्या तपाईँहरू आफै बढाउनुहुन्छ कि हामी बढाइदिऊँ? समाजवाद उन्मुख समाजमा तपाईँहरूको संख्या बढ्दै जानु राम्रो हुन्छ। भन्न त तपाईँहरूलाई हिंसक मानेर घृणा गर्ने पनि छन्। उसो त हामीलाई पनि हिंसक नै मान्छन्। त्यसैले तपाईँ हामी सहकार्य गरेर एकार्काको संख्या बढाउनु बुद्धिमानी हुन्छ। यो एक प्रकारको Symbiotic relationship हो हामीहरूबीच। त्यसैले यदि तपाईँहरू आफ्नो संख्या आफै बढाउनु हुन्न भने हामी हाम्रो अस्तित्वको लागि पनि एक घर एक बाघ योजना ल्याउँछौँ।

    आदरणीय कमरेड बाघ, बघिनीहरू,

    म आजको दिन यहाँहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। पौराणिक कालदेखि तपाईँहरू उत्पीडनमा पर्नुभएको छ। देवीको बाहन भनेर तपाईँमाथि थिचोमिचो भइरहेको छ। आज फ्याट्ट त्यो थिचोमिचोको विरोध गरियो भने देवीहरूको ट्याउँ ट्याउँ सुन्न पर्छ। देवीहरूको दाबी के छ भने पुरुषहरूले विभिन्न जनावरहरूलाई कज्याइराखेका छन्, गणेशले मुसालाई शोषण गरेको छ। देबीहरूले पाएको यही बाघ पनि खोस्दिए परिस्थिति नियन्त्रण बाहिर पुग्न सक्छ। त्यसै भएर पनि हामीलाई तपाईँहरूको छाला दुर्लभ हुन थालेको छ। अन्तमा प्रिय कमरेडहरूमा फेरि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँ कमरेडले हामी कमरेडलाई आक्रमण नगर्नुहोला। हामी तपाईँहरूको संरक्षण गर्छौँ, तपाईँ हाम्रो संरक्षण गर्नुहोला। धन्यवाद।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया