शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पशुबस्तुको लागि साइलेज बनाउने तरिका र महत्व

    समिकरण न्युज २०७७, २० श्रावण मंगलवार १७:१२ पढ्न लाग्ने समय 4 मिनेट

    मिलन थापामगर

    सबैले बुझ्ने सामान्य भाषामा भन्नु पर्दा हाम्रो नेपाली समाजमा हरियो सागलाई गुन्द्रुक बनाए जस्तै हरियो घाँसबाट बनाइएको गुन्द्रुकलाई साइलेज भनिन्छ । कलिलो अवस्थाका घाँसलाई काटेर टुक्रा गरी खाडलमा खादेँर अथवा पोको परेर, हावा र पानी पस्न नदिईकन उचित प्रबिधिबाट अक्सिजनको सम्पर्क बिना सुक्ष्म जीबाणु द्वारा कुवाई -Fermentation भइ) लामो समय सम्म संरक्षण गरिएको घाँसलाई साइलेज भनिन्छ । यसलाई घाँस अभाव हुने सुख्खा समयमा १२ देखि १८ महिना सम्म पनि प्रयोग गर्न सकिन्छ ।
    हाम्रो देशमा कुल हुने वर्षा मध्य ८० प्रतिशत वर्षा मनसुनको अवधिमा नै हुने गरेको तथ्यांक छ । खास गरी अषाढदेखि कार्तिकसम्म बढी पानी पर्ने हुनाले प्रशस्त मात्रामा हरिया, रसिला र पोषिला घाँसहरु उपलब्ध हुन्छन् । यो समयमा वनजंगल, पाखा पखेरो नै हरिया घाँसले भरिने हुनाले चारै तिर हरियाली देखिन्छ । पर्याप्त रुपमा हरियो घाँस खाएर हाम्रा गोठका पशुबस्तुहरु पनि ह्रिस्टपुस्ट, खैलाग्दो, चिल्ला देखिन्छन् । यो अवस्थामा हाम्रा पशुबस्तुहरुलाई दाना कम दिए पनि हरिया घाँसमा पाईने पोषण तत्वले दानको आवश्यकता परिपूर्ति गरेको हुन्छ ।
    तर विस्तारै वर्षात कम हुने र सुख्खा मौसम सुरु हुदाँ भने हरिया घाँस पाईन छोड्छन् । यो बेलामा पशुबस्तुलाई धेरै नै घाँसको संकट हुने गरेको छ । यो त नेपाली पशु पालक कृषकहरुले भोग्दै आएको आम समस्या नै हो । उच्च हिमाली क्षेत्रमा पनि जाडो समयमा हिउँ पर्ने हुँदा पशु चरण बन्द हुन्छन् । पोषिलो घाँसको अभाबले गर्दा पशुबस्तुहरु दुब्लो, ख्याउटे हुने र सोचे अनुसार शाररिक वृद्धि विकास नहुन सक्छ । अनि पशु उत्पादन जस्तै दुध, मासु, उन लगायत उत्पादनमा कमी आई हाम्रो नाफा घटाई व्यवसायलाई नै हानी धरासायी बनाउन सक्छ । त्यसैले प्रशस्त मात्रामा घाँस पाईने बेलामा घाँसलाई संरक्षण गर्न सकियो भने मात्र सुख्खा समयमा हुने घाँसको संकट टार्न सकिन्छ । त्यसकारण हाम्रो खेत, बारी, बन जंगल अनि पाखा पखेरोमा खेर जाने घाँसको संरक्षण गर्नु आवश्यक देखिन्छ । जसको लागि साइलेज बनाउनु अति उपुक्त मानिन्छ । साथै पशुपालक कृषकहरुको लागि आजको प्रमुख आवश्यकता पनि हो ।
    १. घाँसको छनौट
    -सामान्यतया मोटो डाँठ हुने र डाँठमा केहि मात्रामा गुलियोपना हुने अर्थात प्रोटिन भन्दा कर्बोहाइड्रेत बढी हुने घाँसहरु जस्तै मकै, सुडान, टियोसेन्टि, सरगम, नेपियर आदिबाट राम्रो साइलेज बनाउन सकिन्छ ।
    -मकै र सरगमबाट उच्चकोटीको गुणस्तरीय साइलेज बनाउन सकिन्छ ।
    -साइलेज बनाउने घाँसमा ६०–६५ प्रतिशत पानीको मात्रा हुनु पर्दछ । पानीको मात्रा धेरै भएमा साइलेज बिग्रिने समस्या देखिन सक्छ ।
    -साइलेज बनाउन घाँस काट्दा बढी पौष्टिक तत्व हुने अवस्था अथवा फुल फुल्ने अवस्थामा काट्नु पर्दछ । यदि मकैको साइलेज बनाउँदै छौँ भने धनचमारा निस्किएर घोगामा लगेर जुँगा निस्किएको अथवा मकैको दाना आदि सुकेको र आदि दुधिलो रहेको अवस्थामा काट्नु पर्दछ ।

    २. साइलेज बनाउने तरिका

    • साइलेज बनाउने घाँसलाई काटिसकेपछि २÷३ घण्टा सम्म ओइलाएपछि २–२.५ इन्चसम्मका टुक्रा पर्नु पर्दछ ।
    • हामीसंग भएको घाँसको उपलब्धता हेरेर खाडल बनाउनु पर्दछ र खाडलको पिधमा पलास्टिक बिछ्याउनु पर्दछ ।
    • टुक्रा परेको घाँसलाई खाडलमा मिलाउँदै टम्म हुने गरि खाद्नु पर्दछ र जमिन देखि १ फिट माथि सम्म खाद्नु पर्दछ ।
    • त्यसपछि मथिबाट प्लास्टिकले छोपी पानि र हावा नपस्ने गरि मिलाएर गह्रौँ बस्तु जस्तै ढुंगाले च्यापेर माथिबाट माटोले छोप्न सकिन्छ ।

    ३. साइलेज बनाउँदा ध्यान दिनु पर्ने कुराहरु

    • पानी परिरहेको बेलामा खाडलमा घाँस भर्नु हँुदैन ।
    • कार्बोहाइड्रेट कम भएको घाँसलाई साइलेज बनाउदा १०० के.जी घाँस बराबर ३ देखि ४ के.जी को दरले खुँदो राख्न सकिन्छ ।
    • खाल्टोमा मकैको साइलेज बनाउँदा ०.५ देखि १ प्रतिशत सम्म चुना राख्न सकिन्छ ।

    सामान्यतया ३० दिन देखि ४५ दिन सम्ममा खैरो, अमिलो, बास्नादार साइलेज तयार हुन्छ । साइलेज निकाल्दा सानो मुख बनाई छेउबाट निकाल्ने र निकाली सकेपछि हावा नछिर्ने गरि फेरी बन्द गर्नु पर्दछ । राम्रो संग बनाएको साइलेज बर्षौंसम्म पनि बिग्रिदैन । साइलेजमा घाँसमा भएको ८५ प्रतिशत वा सो भन्दा बढी पौष्टिक तत्व सुरक्षित हुने हुनाले पनि साइलेजको महत्व धेरै देखिन्छ । साइलेजबाट १२ देखि १५ प्रतिशत सम्म प्रोटिन प्राप्त गर्न सकिन्छ । साइलेज बन्ने क्रममा केहि मात्रामा Butyric acid र Alcohol बन्ने हुनाले अमिलो मिठो बास्ना निस्कन्छ । गाढा खैरो वा हल्का पहेंलो, छाम्दा नरम,रसिलो र बास्नादार हुने भएकोले पशु बस्तुहरुले मिठो मानेर खान्छन् । त्यस्तै साइलेज बन्ने क्रममा उत्पन्न हुने उच्च तापक्रम, कम PH र रशायनहरुले गर्दा Bacteria, fungus लगायतका हानिकारक जीवाणुहरु बाँच्न सक्दैनन् र फलस्वरूप साइलेज लामो समयसम्म सुरक्षित राख्न सकिन्छ ।
    ४. पशुबस्तुहरुलाई साइलेज खुवाउनुको फाइदाहरु
    -साइलेज सजिलै बनाउन सकिने, थोरै ठाउँ भए पनि पुग्ने अनि बनाउन पनि कम जनशक्ति आवश्यक पर्ने हुनाले अन्य घाँस र दाना खुवाएर पाल्नु भन्दा उत्पादन लागत कम हुन आउँछ ।
    -पहिला नै ँभचmभलतभम (कुईसकेको), नरम हुने हुनाले पशुबस्तुहरुलाई पचाउन समेत सहज हुने गर्दछ ।
    -साइलेज शक्ति, प्रोटिन र रेशाहरुको राम्रो श्रोत भएकोले दुध उत्पादनमा मद्दत गर्नुक साथै दुधको फ्याटमा पनि वृद्धि गर्दछ ।

    • साइलेजमा १२–१५ प्रतिशत प्रोटिन साथै प्रति किलो साइलेजबाट ९–१२ मेगा जुलसम्म शक्ति प्राप्त हुने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको छ । जुन अन्य अन्न बाली गौँ र मकैमा पौने शक्ति संग तुलना गर्न सकिन्छ ।
      -पर्याप्त रुपमा साइलेज उपलब्ध भएमा हाम्रो पशुबस्तुहरुलाई चराएर पाल्नु पर्ने आवश्यकता पर्दैन अनि हाम्रो वरपर रहेका चरण क्षेत्र अनि वन जंगल विनास हुनबाट पनि बचाउन सकिन्छ । जसले गर्दा वातावरण संरक्षणमा मद्दत गर्नुका साथै दिगो पशुपालनमा समेत सहयोग पुर्याउँछ ।

    विशेष गरेर दुध उत्पादनको लागि पर्याप्त रुपमा शक्तियुक्त आहारको आवश्यकता पर्दछ । तर साइलेजले मात्र सबै खालको पोषण उपलब्ध गरराउन नसक्ने भएकोले साइलेज साथै थोरै मात्रामा दाना मिलाएर खुवाउन सकियो भने मात्र पशुबस्तुहरुको वृद्धि विकास साथ साथै दुध र मासु उत्पादनमा वृद्धि हुने देखिन्छ ।
    आजकल प्रविधिको विकासले गर्दा साइलेज बनाउने मेसिन पनि बाजारमा सर्बब्यापी रुपमा उपलब्ध छन् । घाँस टुक्रा पर्ने, डल्ला बनाउने, पलास्टिकले बेर्ने लगायत साइलेज बनाउने सबै काम गर्ने मेसिन समेत बाजारमा उपलब्ध हुन थालेका छन् । जुन व्यवसायीक रुपमा घाँस खेति गर्ने अनि पशु पाल्ने कृषको लागि खुशीको खबर हो । मेसिनको पहुँच नपुगेको हाम्रो घर गाउँमा समेत सामान्य तरिकाले सजिलै साइलेज बनाउन सकिन्छ । त्यसैले यो बर्षातको समयमा हाम्रो खेत, बारी, पाखा पखेरोमा खेर जाने घाँसलाई संरक्षण गरि साइलेज मात्र बनाउन सकियो भने पनि आर्थिक उपार्जनको बाटो हुन सक्छ । सुख्खा समयमा हुने घाँसको संकट सर्न सकिनुको साथ साथै हाम्रो पशुपालनलाई सहज, नाफामुलक र दिगो बनाउन सकिन्छ ।

    साभारः त्रिशूली खबर

    #अर्थ

    फेसबुक प्रतिक्रिया