मत्स्येन्द्रनाथलाई नाथ संप्रदायका अनुयायीहरूले मुख्य देवता तथा नाथ संप्रदायका संस्थापक देवताका रूपमा मान्दछन् । यसैगरी उपत्यकाबासी बौद्धहरू उनलाई अवलोकितेश्वरका रूपमा मान्दछन् । मत्स्येन्द्रनाथलाई जे जस्तो स्वरुपमा माने तापनि सबैले उनलाई एकै स्वभाव वर्षा र सहकालका देवताको रुपमा पुजि आएको पाइन्छ ।
“अवलोकितेश्वर महायाना बौद्ध सम्पप्रदायसँग सम्वन्धित देवाता हुन् । बोधि सत्वलाई ध्यानी बुद्धको रुपमा प्रतिमा विज्ञानमा देखाउने गरिन्छ । उनलाई अमिताभ पनि भनिन्छ र उनको शक्तिलाई बसुन्धरा भनिन्छ । मैत्रेय बुद्धको आगमनवा एउटा बुद्धको स्थुल शरीरको अन्त भएपछि अर्को बुद्धको आगमन नहुन्जेल वा मैत्रेय बुद्धको आगमन नहुन्जेल यो संसार सञ्चालन गर्ने जिम्मा यिनै अवलोकितेश्वर करुणामय बुद्धलाई दिइएको विश्वास गरिन्छ । महायान सम्प्रदायको विकास पूर्व महासंघ नायकको रूपमायी करुणामयले शासन गरेको विश्वास गरिन्छ । अवलोकितेश्वरको अवधारणा तेस्रो सताब्दी इ.पू.मानिएको छ । यी अवलोकितेश्वर अमिताभ नै प्रथम बौद्ध सँघ नायक पनि हुन् । उनलाई करीब सम्राट अशोकको समयको समकालीन मानिन्छ, जसलाई महाभास्य अवदान नाम दिइएको छ र जसको कर्तव्य विभिन्न ठाउँमा भ्रमण गरेर कहाँ के भैरहेको छ अवलोकन गरी जनसमुदायलाई उनीहरूको खुशी र कल्याणका लागि निर्देशित गर्नु थियो । यही अवलोकन गर्ने बोधिसत्वलाई नै पछि गएर अवलोकितेश्वर भन्ने गरियो । यो दोस्रो शताब्दीको घटना मानिन्छ ।”१
चिनीयाँ विशिष्ट तिर्थयात्रीहरूले तेस्रो शताब्दी देखि सातौं शताब्दीसम्म अवलोकितेश्वर बुद्धको दर्शन गर्न नेपालको बाटो हुँदै भारतको भ्रमण गरे । नेपाल र भारतमा पाइने अवलोकितेश्वरका मूर्तिहरू समान छन् ।२
भट्टाचार्यका अनुसार अवलोकितेश्वरका मूर्तिहरू विभिन्न पन्ध्र्र प्रकारका फरक फरक छन् । त्यसमध्ये चौधौं अवलोकितेश्वरका मूर्तिहरूका शिरमा मुकुट लगाईएको छ र हातमा कमल समाएको हुनाले यसलाई पद्मपाणी अवलोकितेश्वर नाम दिइएको हो । अमिताभको पारिवारिक रङ्ग रातो भएपनि कतिपय अवलोकितेश्वरका मूर्तिमा सेतो रङ्गमा पनि देखाइएको पाइन्छ ।३
अवलोकितेश्वर करुणाका मूर्ति हुन्, त्यसैले यिनलाई करुणामय पनि भनिन्छ । आफ्ना अनुयायीहरूलाई सत्मार्गमा लगाउन, सहयोग गर्न, आतुर दयाका खानीका रुपमा यिनलाई पुजिन्छ । बौद्ध धर्म प्रचारका सुरुका समयमा अन्य देवताभन्दा फरक देखाउन उनलाई यसरी प्रचार गरियो । किनभने त्यस समय बौद्ध सम्प्रदायले हिन्दु परम्पराबादी संस्कार र संस्कृतिसँग जुध्नु पर्ने र त्यो भन्दा फरक देखाउन नयाँ सिद्धान्तको प्रतिपादन पनि गर्नु पर्ने थियो । त्यसैले अवलोकितेश्वरको थप व्याख्या र अलौकिक परिकल्पनाहरू गरिए । बौद्ध धर्म प्रचार प्रसार हुँदाका बखत भगवान बुद्ध नै अवलोकितेश्वरका रुपमा यस धरामा अवतरण भएको विश्वास गरियो । “सुखावती व्युह” महायानीहरूको प्रमुख धर्मग्रन्थ, परिकल्पना हो र यसलाई सन् १७० तिर तिब्वती भाषामा अनुवाद गरिएको थियो । यसैमा पहिलो पटक अवलोकितेश्वर शब्द (करनद ब्युह) उल्लेख गरिएको छ ।
बौद्धधर्मावलम्वीहरूमा पनि विभिन्न सम्प्रदायहरू छन् र यी फरक सम्प्रदायका मानिसहरूले विभिन्न फरक बोधिसत्वप्रति विश्वास गर्दछन् । बोधिसत्वलाई ईश्वरका पनि पिता मानिन्छ । बोधिसत्वहरू एकै आकृतिमा स्त्री र पुरुष स्वरुप देखाईएको हुन्छ । मत्स्येन्द्रनाथलाई पनि नेपाली बौद्ध र हिन्दु धर्मावलम्वीहरूले दुवै आकृति र दुवै भावनाले पुजेको पाइन्छ । त्यसैले नेपाली समाजमा अवलोकितेश्वरलाई पनि यो विश्व ब्रह्माण्डका स्वामीका रूपमा पुज्ने गरिन्छ ।
काठमाडौंको मत्स्येन्द्र बहालमा भगवान मत्स्येन्द्रनाथका १०८ विभिन्न अवलोकितेश्वरका मूर्तिहरू राखिएका छन् । यी मूर्तिहरु एकै समयमा एउटै व्यक्तिले राखेका होइनन् । विभिन्न समयमा विभिन्न भक्तहरूले स्थापना गरेका हुन् ।
ईशाको तेश्रो शताब्दीतिर नेपाल र भारतमा एकै प्रकारका अवलोकितेश्वरको रथयात्रा हुने कुरा फइयान र हुएन साङ्ले आफ्नो यात्रा विवरणमा लेखेका छन् । उनीहरूको बयान यस्तो छ –“चारपाङ्ग्रे रथको विचमा बुद्ध र उनका दायाँबायाँ दुई बोधिसत्व छन् । गोमतीका महायानी बौद्ध भिक्षुहरूले रथयात्राको नेतृत्व गर्दछन् ।”३ पाटनमा हुने मत्सेन्द्रनाथको रथयात्रामा प्रमुख भूमिका नै बौद्ध सम्प्रदायका गुभाजु पाजुहरुको हुन्छ । रथयात्राका लागि मात्र पनि प्रशस्त गुठी राखिएको थियो । अहिले मत्स्येन्द्रनाथको गुठी सम्पत्तीलाई व्यक्तिले आफ्नै नीजि बनाईसके पनि रथयात्रामा ती गुठीयारको प्रमुख भूमिका रहेको पाइन्छ ।
पाटन बुङ्गमतीमा ३१ पाँजुको बस्ती छ । यी पाँजुहरूले मत्स्येन्द्रनाथको मन्दिरमा नियमीत सेवा गर्नु पर्दछ । सात पाजुहरु गुभाजु हुन् र यी सबै बज्राचार्य थरका व्यक्तिमात्र पर्दछन् । अरु बाँकी चौविस परिवार शाक्य हुन् । यदी कुनै गुभाजु पाजु वा शाक्य पाजुको मृत्यु भएमा अर्को गुभाजु पाजु वा शाक्य पाजुको नियुक्ति त्यही परिवारबाट गरिन्छ । उनीहरू बुङ्गमतीमा नै स्थायी बसोबास गरेको हुनुपर्दछ । यिनीहरूले पालैपालो बुङ्गमतीको मन्दिरमा अवलोकितेश्वर (मत्स्येन्द्रनाथ)को सेवा तथा पूजा कार्य गर्नुपर्दछ । यी पाजुहरू महायनी बौद्ध सम्प्रदायका अनुयायी हुन् । हुएनसाँगको यात्रा विवरणमा उल्लेख गरिएका गोमतीका भिक्षु भन्नाले यिनै पाजु हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । राजा जयस्थिती मल्लको सामाजिक सुधारमा बौद्ध भिक्षु तथा भिक्षुणीहरू विवाह गरेर गृहस्थ जीवनमा प्रवेश गरिरहेको अवस्थामा समाजलाई सही दिशा निर्देश गर्न र सुव्यवस्था ल्याउन सामाजिक सुधारको आवश्यकता परेको उल्लेख छ । त्यसैले इ.सं सँगै सुरु भएको बौद्ध भिक्षु भिक्षुणीको अवस्था र सामाजिक स्थितीमा पनि उनको पालासम्म आईपुग्दा ठूलो परिवर्तन आईसकेको हुनसक्छ । त्यसैले परम्परा धान्न भए पनि अहिलेसम्म पनि मत्सेन्द्रनाथको रथयात्राका लागि गृहस्त भए पनि बौद्धमार्गीहरूको संलग्नता उल्लेख्य भएको पाइन्छ ।
मत्स्येन्द्रनाथ र गोरखनाथ दुवै नेपालका महानध्यानी दैविशक्ति भएका ऐतिहासिक योगिराज हुन् । शैव तन्त्रमा मत्स्येन्द्रनाथलाई गोरखनाथका गुरू मानिन्छ । हुन् त यी दुईको कालखण्ड फरक छ । अलौकिक पुरुषहरूको कालगणना गर्न नसकिने र उनीहरू योगबलले धेरैकाल जीउन सक्ने विश्वास गरिन्छ । कतिपय साधुहरूको उमेर पत्यारै नलाग्ने किसिमको हुन्छ । गोरखनाथ शैव सम्प्रदायका कानफट्टा योगी भएका हुनाले मत्सेन्द्रनाथलाई पनि शैवहरूले कानफट्टा योगिराजका रूपमा पुज्दछन् ।
नाथ सम्प्रदायको जन्मस्थान नेपाल र उत्तर भारत हुँदै पूर्वि भारतको बङ्गालमा फैलिएको देखिन्छ । बा¥हौं र ते¥हौं शताब्दीमा कानफट्टाहरूको नाथ सम्प्रदाय नेपाल हुँदै पूर्वी भारतमा प्रसस्त फैलिएको पाइन्छ ।४
शैव सम्प्रदाय र बज्रयान सम्प्रदायमा तन्त्रमन्त्र परम्परा ज्यादै ब्याप्त छ । त्यसैले मत्स्येन्द्रनाथलाई आ–आफ्नो परम्परा अनुसार परिभाषित गर्ने गरेको पाइन्छ । तर शैवतन्त्र र बौद्धतन्त्रका बीचमा विभेद पनि प्रशस्त रहेको छ । तर शैव अन्तर्गतको मानिने नाथ सम्प्रदायमा तन्त्र परम्परा हिन्दु रबौद्ध दुवैबाट प्रभावित भएको देखिन्छ ।
हरेक देवताका लागि एक एक मन्दिर बनाइएको हुन्छ तर मत्स्येन्द्रनाथकालागि पाटनमा दुईवटा मन्दिर बनाइएको छ । बौद्ध सम्प्रदायका मानिसहरूले अवलोकितेश्वरका रूपमा मान्दछन भने हिन्दुहरूले मत्स्येन्द्रनाथको रुपमा पुज्दछन् । एकै स्वरुपलाई कसैले बुद्धको अवतार त कसैले शिवको अवतार र कसैले शक्तिको अवतारका रुपमा आ–आफ्ना ईष्ट देवताका स्वरुप मान्दछन् जो विदेशीहरूकालागि आश्चर्यको विषय पनि हो । मत्स्येन्द्रनाथलाई हामी नेपाली जातिले बर्षा र सहकालका साथै सहिष्णुताको देवताका रुपमा मान्दछौं । नेपाली सहिष्णुताको परम्परा र संस्कृतिभित्र अहिले आएको विचलनलाई समाधान गर्न मत्सेन्द्रनाथले सबैलाई सद्बुद्धी प्रदान गर्ने निश्चित छ ।
स्रोत सामाग्रीः
१. Benoytosh Bhattacharya, Indian Buddhist Iconography,
२.R.C.Majunder, Hostory&Culture of the Indian People,
३.Benoytosh Bhattacharya, Indian Buddhist Iconography,
४.भाषा बंशावली भाग २ पुरातत्व विभाग ।
साभारः त्रिशूली खबर साप्ताहिक