शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • घरकी लक्ष्मी

    समिकरण न्युज २०७७, २३ श्रावण शुक्रबार १७:१७ पढ्न लाग्ने समय 4 मिनेट

    सावित्रीदेवीलाई ३ दिन देखि ब्यथाले साह्रै च्यापेको थियो । गाउँका जान्ने बुझ्नेहरु झाक्री पुरोहित भेला भएका थिए । पुरोहितले त बुढेसकालमा गर्नुपर्ने सबै दानधर्म सकाइदिइसके सावित्रीदेवीको हातबाट । दुई छोराहरु पनि साथमा नै बसेर आमाको अवस्था नियालिरहेका थिए । सावित्रीदेवीलाई बोलाउन आउने गाउलेहरु पनी बाक्लिएका थिए । बोलाउन आउनेहरु दुध, केरा, मेवा लगायत आफुले सकेकोको खानेकुरा बोकेर आउथे । तर उमेरले ८० नाघेकी सावित्रीदेवीको ती खानेकुरा खानु त के हेर्ने सम्मको शक्ति पनि बाँकी रहेको थिएन । सावित्रीदेवी कहिले आनन्दसँग निदाउथिन् कहिले झस्किन्थिन् । कहिलेकाही त अतालिएर कराएझै आवाज निकाल्थिन । कुनैबेला सावित्रीदेवीको मुख खोलिएर सास फेर्न पनि गाह्रो भइरहेको हुन्थ्यो । त्यतिबेला नजिकै बस्नेहरुले चम्चामा थोरै थोरै पानी, दुध तथा फलफुल निचोरेर निकालिएको रसहरु लगेर सावित्रीदेवीको ओठ भिजाइदिन्थे ।
    सावित्रीदेवीसँग केही महिना अगाडी संगै बसेर बात गर्ने मान्छे हुँदैनथे । मनमा केही अधुरा सपना जो सावित्रीदेवीले कसैलाई भन्न सकेकी छैन । अनी उनको चाउरी परेको मांसपेशी सहितको बुढो शरीर लिएर लौरो टेक्दै आँगनको छेउसम्म पुग्ने गर्थिन् उनी । कोही बाटो हिड्ने हतारोमा हुन्थे त कोही हतारको बाबजूद पनी सञ्चै आमा भनेर सोध्ने गर्दथे । तर सावित्रीदेवीले यसको उत्तर दिन नपाउदै खबर सोध्नेहरु आँखाबाट ओझेल भैसकेका हुन्थे । सायद मानिस बृद्ध बृद्धा भएपछि यो प्रश्न औपचारिकताको लागि मात्र सोध्ने गरीन्छ । एक महिना अगाडीआँगनमा आउने क्रममा बलेसीमा लड्न पुगेकी थिइन सावित्रीदेवी । त्यसपछी उनको खुट्टाले यो धर्ती टेकेर उभिने साहस गरेको छैन । नत कुनै परिचित अनुहारँंग मुस्कुराएर बोलेकी छिन् । वैशाखको बेला हुदा त्यस दिन सावित्रीदेवीलाई दुबै छोरा कान्छी बुहारी अनि नातिनातिनीहरु मकै लगाउन खेतमा गएको हुनाले जेठी बुहारी एक्लैले बल्लतल्ल उनलाई ओछ्यानमा पुर्याएकी थिइन् ।
    सावित्रीदेवीको मनका खुशी होस या दुःख एकछिन बसेर सुनिदिने कोहि भएनन् । तर आज घरभरी मानिसहरु छन् । खानेकुरा बोकेर आउछन् तर सावित्रीदेवीसंग हजुर भन्ने बचन रहेन । लगन पछिको पोते भन्ने उखान जस्तै उनलाई भेट्न आउनेहरु उनीहरुले ल्याएका खानेकुरा र उनिहरुको साथको प्रवाह छैन सावित्रीदेवीलाई ।
    सावित्रीदेवी विवाह गरेर आउदा ७ वर्षकी थिइन् । उनले यस घरमा हुर्कदै बढ्दै जाँदा अनि आजसम्म आइपुग्दा पार गरेका आरोह अवरोह सानो पिडादायी छैनन् । सावित्रीदेवीको श्रीमान उनिभन्दा २ वर्ष मात्र जेठो हुन् । उमेरमा ज्यादा फरक नभएता पनि सासुबाट भान्सामा बाहिरको काममा भिन्नता थियो । समय बित्दै जाँदा घरको ज्यादा काम सावित्रीदेवीकै पोल्टामा आइपुग्यो । घरमा सबैभन्दा पहिले उठेर पधेँरोबाट पानी ल्याउने दहिलो कसिङ्गर गर्ने गाईभैंसीको गोबर फाल्ने पानी खुवाउने घास सोत्तर गरेर पुजाकोठाको सरसफाई गरेर पुजा सामाग्री ठिक्क पारेर राखिदिने । चुलोचौकोदेखि गाईभैंसी, बाख्राको लागि घाँस सोत्तर पुग्नेगरी काट्न भ्याउथिन् उनी । भात खाएर भाडा माझिवरी गाईबस्तुका हेरचाह गरेर मेलामा निस्किन्थिइन् । दिनभर मेलाको काम सकेर एकभारी घास वा सोत्तर बोकेर घर आउने साझ बस्तुभाउको हेरचाह गर्दथिइन् । बेलुकीको खाना खाने बेलासम्ममा बस्तुभाउको लागि पिठो बनाउन मकै नङ्ग्याउने छोडाउने गरेर ठिक पार्नुपथ्र्यो । बेलुकीको खाना खाएपछी सबै धन्दा सकेर सासुको शरीरमा तेल मालिस गरेर मात्र ओछ्यानमा पुग्दा आधी रात भैसकेको हुन्थ्यो । मेलाको काम नहुदा गाई बाख्रा चराउन सावित्रीदेवी नै जाने गर्थिन् । कहिलेकाही सासु कतै जाँदा त सावित्रीदेवीलाई भान्साको काम पनी थपिन्थ्यो ।
    सावित्रीदेवीको काम बाहिरको धेरै हुने हुँदा भान्सामा सासुले खाना बनाउथिइन् । भान्सामा सासुले खाना पस्किएर अरुलाई खुवाउदा सावित्रीदेवीले बाहिरको काममा ब्यस्त हुन्थिन् । कहिलेकाही एक पाइला अघी हुँदा पनि सावित्रीदेवीले बाहिर बसेर प्रतिक्षा गर्नुपर्थो । पुरुषहरुले खाएपछी मात्र छोरीबुहारीले खानुपर्ने नियम बनाएकी थिइन् सावित्रीदेवीको सासुले । खानेकुरामा पनी तेस्तै भेदभाव थियो । घ्यू दुध दही जस्ता खानेकुरा पुरुषहरुका लागी मात्र थियो । जुन कहिलेकाही सावित्रीदेवीको श्रीमानले नरुचेर थालमा छोडेभने मात्रै सावित्रीदेवीको मुखमा पर्दथ्यो । नत्र बुहारीले त नमिठो भएका दही र मोही मात्र खानुपथ्र्यो । घ्यू त अरुलाई बाँडेर सावित्रीदेवीको पालामा आइपुग्दा दुईतीन थोपा पनि मुश्किलले चुहिन्थ्यो । तैपनी भाडाको बिलौनीसँग भए पनी अरुदिन भन्दा दुईचार गाँस ज्यादा खान्थिइन् सावित्रीदेवी ।
    गाईबस्तुका धन्दा सकेर जुठाभाडा माझिवरी मेलापात भ्याएर बेलुकीको घरधन्दा सकेर आधिरातमा ओछ्यानमा पुग्दा पनि त्यति सजिलै कहा निदाउथिन् सावित्रीदेवी । सावित्रीदेवीको श्रीमान गाउँका दुईचार जना बलियो बाङगामा नै पर्दथे । त्यसैले आफ्नो श्रीमानलाई रिझाउनु पनि चानचुने कुरा थिएन सावित्रीदेवीको लागि । नत्र श्रीमानले अर्को विवाह गर्ने र एउटा लोग्ने रिझाउन नसक्ने आइमाई भनेर समाजले खिल्ली उडाउने छन् भन्ने डरमा थिइन सावित्रीदेवी । सावित्रीदेवीको निन्द्रा खै के पो हुँदो हो । तैपनी यसैगरी आफ्नो घर गर्दै आएकी सावित्रीदेवीको दैनिकीमा गर्भवती हुँदा पनि खासै परिवर्तन आएन । उनको पेटमा भएको बच्चाले जतिसुकै भोक प्यास तिर्खाले छट्पट्टीएर उफ्रदा पनी उनले निरीह बनेर आफ्नो काम गरीरहिन् । आफ्नो कोखको सन्तानको भोक प्यासले चुर भएर आमा तिमि पनि केही खाउ मलाई पनी खुवाउ न आमा भन्ने आग्रहलाई बुझेर पनि एउटी लाचार आमा भएर बसिन् । निरन्तर काममा लागिन् । सावित्रीदेवीले कोखको सन्तानले आमाँंग गरेको आशालाई मारिन् तर कर्तव्यनिष्ठ बुहारी बनिरहिन । ७ वर्षको उमेरमा कसैकी छोरी कसैकी बुहारी बनेर आफ्नो सारा रहर सपनासँग पूर्ण परिचित हुन नपाउदै अरुको घरमा आएर त्यसलाई सजाउदै आफ्नो सारा पिडा मनभित्र दबाएर यस घरको लागि पसिना बगाइरहिन् । सावित्रीदेवीको त्यो त्याग, तपस्या, पतिव्रता आफ्नो कुल खानदान प्रतिको वफादारी, आफू जलेर अरुलाई उज्यालो प्रदान गर्ने मैनबत्ती भन्दा कम थियो र ! उनबाट छरिएको उज्यालोबाट घर त सुन्दर देखे तर उज्यालोको लागी उस्को सपना, रहर कतिपटक जलेका छन् यसको लेखाजोखा परिवारका सदस्यसँग त के सावित्रीदेवीसँग पनि थिएन । यसका बाबजूद परिवारको कसैलेपनी सावित्रीदेवीको लागी सोचेनन् । उसलाई सहयोगको लागी सोधेनन् । तर पनि सावित्रीदेवीले यस परिवार को बिकल्प र आफ्नो रहर सपनाहरुका बारेमा कहिल्यै सोचिनन् ।
    षुरुष त पुरुष भए तर नारी भएर सासुले सावित्रीदेवीको पिडा बुझिनन् । सानोतिनो ज्वरो रुघाखोकीमा त के कुरा गर्भवती हुँदा सासुबाट सहयोग मिलेन । विवाह हुँदा जन्मघर छोड्दाको पिडा, सन्तानलाई ९ महिना कोखमा लिएर गरीने दैनिकी, सन्तान जन्माउदाको प्रसव पीडा बुहारीलाई कम सासुलाई बढी हुन्छ र ? नारी भएर नारीको पिडा बुझ्दैनन भने पुरुषले किन बुझ्थे ।
    यो नारी नारी बिचको अन्तर्द्वन्द्व हो । कि मलाई मेरो सासुबाट जस्तो पिडा मिलेको छ मेरो बुहारीले पनी तेस्तै पिडा पाउनुपर्छ । नत्र सासुले पनि बुहारी हुँदा भोगेको पिडा उसले उस्की बुहारी लाई पनी दिनुपर्छ भन्ने छ ? त्यसो हो भने आमाले छोरी अन्माउदा छोरीलाई उचित संस्कार सहयोगीपन र आदर्श को सट्टा रणभूमिमा शत्रुसँग लड्ने सिपाही बनाउनुपर्छ । जो आफ्नो सासुलाई पराजित गर्न सक्षम होस् । जुन लडाई मेरो घरमा पनि म र मेरो बुहारीबिच चलिरहेछ । नत्र छोरी अन्माउदा छोरीको चिन्ता बुझ्नेहरुले बुहारीको आँशु किन देख्दैनन् । यस अन्तर्द्वन्द्व लाई नारीहरुले परम्परा को रुपमा लिएका छन् सायद ! जसलाई तोड्न कोही चाहदैनन् । हामी आफु बुहारी हुँदा अरुसँग सासुको बारेमा गुनासो गर्ने गर्छौ । अनि आफुलाई सासुको पदप्रतिष्ठा प्राप्त हुनेबित्तीकै हृष्टपुष्ट शरीर भए पनि शिर पैताला बाट रोग पस्छन् । जुन रोगको औषधी कुनै अस्पतालमा नभई बुहारीको हातको तेल मालिशले ठिक हुन्छ । जुन उपचार दैनिक आवश्यक छ । यस्तै पिडा सावित्रीदेवीको सासुको थियो । सावित्रीदेवीले भोगिन् । सावित्रीदेवीको बुहारीले पनि !
    बुहारीलाई हामी घरकी लक्ष्मी भनेर घरमा भित्राउछौँ तर बुहारी ज्यादा घरबाहिर बस्तुभाउको गोठमा भेटिन्छिन् । जहिलेदेखी बुहारीलाई पनि छोरीसमान माया दिएर घरकी लक्ष्मीको स्थान दिनेछौ । हाम्री छोरी दाइजोको कारण जल्नु पर्दैन । आज पनि शहरका केही घरहरु र गाँउका एकाध घरमा बाहेक यस्ता घटना ब्याप्त नै छन् । जहा बुहारीलाई घरको सदस्य मानिदैन । नारी सशक्तिकरणको नाममा देशविदेशका संस्थाले जतिसुकै पैसाको भेल बगाएपनी त्यो बाढीले आम नारीको पिडा बगाउन सकेको छैन ।
    यदि नारीहरुले नारीबिचका अन्तर्द्वन्द्व छोडेर नारी र पुरुषको समान सह–अस्तित्वको समाज बनाउन सासुले बुहारीको साथ दिन जरुरी छ । अन्यायमा परेकी छोरीको लागि सरकारसँग न्याय माग्न जाँदा घरकी लक्ष्मी अर्थात बुहारीकाको आशीष लिएर निस्कनु आवस्यक छ ।

    विजय नेपाल,
    बेलकोटगढी नगरपालिका-७ रातमाटे, नुवाकोट

    #साहित्य

    फेसबुक प्रतिक्रिया