शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • राजनीति के हो, के हैन ?

    समिकरण न्युज २०७७, २५ श्रावण आईतवार १९:०३ पढ्न लाग्ने समय 3 मिनेट

    हरिकृष्ण श्रेष्ठ

    राजनीति भन्ने बित्तिकै हामी आम नेपालीहरुलाई के भ्रम भयो भने, जसरी नि चुनाव जित्ने, पद हत्याउने, पदको आडमा मोजमस्ती गर्ने, पार्टी कब्जा गर्ने, पार्टी भित्रका र बाहिरका विरोधीहरुको तेजोबध गर्ने, ठाउँमा पुगेको बेला अफ्नो मान्छेलाई ठाउँ हेरि हेरि भर्ती गर्ने, नाता गोता भित्रका मान्छेहरुलाई नियुक्ति दिलाउने, आफ्नो मान्छेहरुलाई मालदार ठाउँमा पठाउने, कमिशन आउने कुरोमा बढी ध्यान दिने र पैसा उठाउने । सुशासन त भन्ने कुरा मात्र भयो, प्रशासन यन्त्रमा आफ्ना मान्छेहरु पठाई आफुले गराउन चाहेको कामहरु गराउने, गती छाडा भएर छिर्के लगाउने, भन्न हुने नहुने सबै कुरा छरपष्ट पार्ने । हामी यही नै राजनीति हो भनेर बुझ्न अभिशप्त छौं ।

    अहिले यहाँको राजनीति पाषाण युगको मानव समुदायले गर्ने व्यहोरा भन्दा केही फरक छैन भन्दा कसैलाई चित्त दुख्छ भने दुखोस् । यहाँ राजनीतिलाई बदनाम गराईएको छ । राजनीतिको मर्मलाई मृत तुल्य बनाई दिएको छ । त्यसरी राजनीतिको मौलिक स्वरुपलाई बिगारेर र गधा जस्तो बनाई दिनेलाई सम्मान दिन सकिन्छ र ?

    भनिन्छ, राजनीति सम्पूर्ण नीतिहरु मध्येको उत्तम नीति हो । यसले राज्य संचालनको निम्ति चाहिने सम्पूर्ण नीतिहरुलाई आफ्नो छाताभित्र राखेर समुचित परिचालन गर्छ । ब्यक्ति, परिवार, समुदाय, हुँदै राज्यको उत्पत्ति हुने श्रृंखलामा परिवार, समुदाय र राज्यको जन जीवनको उचित व्यवस्थापन गर्ने विभिन्न तौर तरिका अवलम्वन र परिष्कृत गर्दै जाने सिलसिलामा राजनीतिको जन्म भएको हो । राजनीतिको जन्मनै जनताको उचित हेर विचार, न्याय, शान्ति र अमन चैनको लागि भएको छ तर यहाँ दशकौं देखी राजनीतिको नाउँमा चलेको सत्ता संघर्षले अराजकता, दण्डहिनता, भ्रष्टाचार र अनुशासनहिनता जस्ता बाई–प्रडक्टहरुको मात्र उत्पादन भै रहेको छ । यसले आम जनतामा चरम असन्तुष्टि ल्याएको छ । केवल मुठ्ठि भरका मानिसहरुको मात्र कल्याण भई राखेको छ । राज्यको हरेक अंग उपर जनताले प्रशस्त प्रश्न उठाई रहेका छन् । यही हो त राजनीतिमा संलग्न अगुवाहरुको राजनीतिक बुझाई !

    एरिस्टोटलले करिव दुई हजार वर्ष पहिल्यै आदर्श राज्यको परिकल्पना गरि सकेका थिए । व्यक्तिबाट परिवार, विविध परिवारबाट समुदाय र विविध समुदायबाट बहुल समाजको निर्माण भै सकेपछि जीवन यापनको लागि परिवार–परिवारबीच हुने, समुदाय– समुदायबीच हुने खोसा–खोस प्रवृत्तिले अन्ततः मानिसहरु संगठित हुन पुगे । आफ्नो भु–भागमा आफ्नो समुदायलाई आबश्यक पर्ने जीवनका हरेक खांचोहरु आफैले उत्पादन गर्ने र उपभोग गर्ने संस्कृतिको विकास गरि सकेपछि एउटै समुदाय भित्रका मानिसहरुबीच सहकार्यको थालनी हुन पुग्यो । बागी समुदायको अतिक्रमणबाट बच्न समुदायले हतियार धारी जमात खडा गर्यो । आफुले चर्ने र चर्चिने जमीनको साँध लगाएर आफ्नो निश्चित भु–भागको रेखांकन गर्यो । यसले राज्यको उत्पत्तिमा एउटा आधारशीला थपना गर्यो । राज्यको प्राथमिक शर्त पुरा भै सके पछि त्यसलाई ब्यबस्थित गर्न शुरुमा त एउटा शक्ति सम्पन्न नायक राजा खडा गरियो । कालान्तरमा त्यो पनि शक्तिको आडमा विभेदकारी, भ्रष्ट र निरंकुश बन्दै गएपछि एरिस्टोटलले आदर्श राज्यको परिकल्पना गरेका हुन् । राज्यका जनताहरुको समुचित न्याय र समानताको लागि जनहितकारी नीति नियम तर्जुमा गर्ने र उक्त नीति नियमहरु बनाउने अधिकारीहरु जनताकै सहभागितामा नियुक्ति हुने भएपछि शक्तिको श्रोत जनतामा सर्दै आउने नै भयो ।

    पूर्वीय दर्शनमा चाहिँ समाज, समुदाय र राज्य संचालनको विधी भने नीति शास्त्रहरुको आधारमा भएको पाईन्छ । राजाहरुले यस क्षेत्रमा शासन गरुञ्जेल जन–सहभागितामा नियम कानुन बनेर राजनिति संचालन भएको छैन । त्यसपछि पनि युरोपेलीहरुको अधिपत्य चलुञ्जेल त्यस्तो अधिकारको उपभोग जनताले यस क्षेत्रका जनताले गर्न पाउने कु्रै भएन । यस क्षेत्रमा त्यस्तो अभ्यास गर्न पाएको बढीमा सत्तरी वर्षको ईतिहास छ । नेपालले भने जम्मा ३० बर्षको अनुभव गर्न पाएको छ । यो ३० बर्षमा राजनिति भन्दा नि बढी अराजनिति बढि हामिले भोगेका छौं ।

    पूर्र्वीय दर्शनले भन्छ, नीतिहरुको नि निति, राजनीति । सुन्दा अति प्रिय लाग्छ । शायद शासकहरुले अपव्याख्या नगरेको भए परिणती राम्रै आउँथ्यो होला । तत्कालिन पूर्वीय दर्शन– द्रष्टाहरुले राम्रै सोचेर कोरेका होलान् । राज्य संचालनकालागि आवश्यक हरेक आयामको नीति नियम बनाएका होलान् । यसलाई राज्यमा समुचित लागु गर्ने नीति चाहिँं राजनीति भनिएको होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । अहिले यस क्षेत्रमा राजनीति दिग्भ्रमित छ । कारण हो, लामो समयसम्म राजनीतिलाई अभ्यास गर्न पाईएन र समयोचित परिष्कृत गर्दै लग्न सकिएन ।
    आजको दिनमा विकसित मुलुकहरुको जन–जीवन धेरै उन्नत छ । उनीहरुले राजनीतिलाई सफल ढंगले परिचालन गर्न गर्न सकेको छ । दलिय प्रतिस्पर्धाको छायाँमा उनीहरुको विविध नीति, जस्तै अर्थ नीति, विदेश नीति, सामरिक नीति, लोककल्याणका विविध गतिविधीहरु माथी पर्न दिएन । राजनीति उनीहरुले त्यसैको लागि गरे । सही मानेमा राजनीति गरे । राजनीतिको नाउँमा अतिरिक्त लाभ लिएन । राजनीतिकर्मीहरु स्वयंमा अनुशासित भएका कारणले यो नतिजा आएको हो ।

    एक्काईसौं शताब्दीमा आईपुगेपछि विश्वमा धेरै कुरामा विकास भएको छ । शिक्षा र विज्ञानको चमत्कारिक विकासले मानिसमा चिन्तन गर्ने तरिका फेरिएको छ । बेईजिङमा बसेर अमेरिकाको सामान अष्ट्रेलियामा बेच्न सकिने भएको छ । प्रविधि खरिद बिक्रीमात्र हैन आफ्नो सिमाना भित्र बैदेशिक लगानी आमन्त्रण गर्न थालिएको विश्व परिस्थिती छ । विश्व वैश्य युगमा दौडी रहेका छ । तर हामी, हामी चाहिँं कुर्सीको लागी दौडी रहेका छौं । के, कुर्सी हत्याउने खेल नै राजनीति हो ?
    राजनीति त्यो हुँदै हैन, जसको आडमा बस्तु प्राप्त गर्यो, उपभोग गर्यो आफ्ना खातिर । राजनीति लागु गरिने चिज हो । राजनिति, राज्यको विविध नीति र अंगहरुलाई एउटै छाताभित्र ल्याएर परिचालन गर्ने नीति हो जसका कारण आम जनताको हित र भलाई होस् । जनताको मुहारमा खुशीयाली ल्याउनको लागि हो राजनीति । तेसो भयो भने, राजनीति गरेको हो उहाँले भनेर कसैलाइ भन्न सकिन्छ । राजनीतिज्ञ हो उहाँ भनेर सम्मान गर्न सकिन्छ । नत्र हप्तावाला !

    #विचार

    फेसबुक प्रतिक्रिया