नुवाकोट । समुदाय स्तरमा नै कोरोना भाइरस सङ्क्रमित भेटिने क्रम रहे पछि जिल्ला प्रशासन कार्यालयले थप विभिन्न भूभागमा निशेधाज्ञा जारी गरेको छ ।
सोमवार मध्यरातदेखि लागु हुने गरी दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण भूभाग, तादी गाउँपालिकाको २, ३, ४, ५ वडा, तार्केश्वर गाउँपालिकाको २, ४, ५, ६ वडाको सम्पूर्ण क्षेत्रमा ८ दिन सम्मको लागि निशेधाज्ञा जारी गरिएको छ ।
पञ्चकन्या गाउँपालिकाको १, २ र ३ वडामा र शिवपुरी गाउँपालिकाको ६, ७ र ८ वडामा यस यस अघि नै निशेधाज्ञा जारी गरिसकिएको थियो । जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको सूचना अनुसार पञ्चकन्या गाउँपालिकाको ४ र ५ वडा र शिवपुरीको १, २, ३, ४, ५ वडा समेतमा निशेधाज्ञा जारी गरिएको छ । शनिवार मध्यरातदेखि नै विदुर नगरपालिकाका, लिखु गाउँपालिकाका र सूर्यगढी गाउँपालिकाको सम्पूर्ण भूभाग, बेलकोटगढी नगरपालिकाको ५,७, ८, १०, ११, १२ र १३ नम्बर वडा र ककनी गाउँपालिकास्थित पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा जारी गरिसकेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार दुप्चेश्वर गाउँपालिकाको ३ र लिखु गाउँपालिकाको १ जनामा सोमबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुप्चेश्वरको २ सङ्क्रमित क्वारेन्टाइन बाहिरकै रहेकोले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सतर्कता अपनाउन निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ ।
हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । समुदाय स्तरमा नै कोरोना सङ्क्रमित भेटिए पछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।