बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कृष्णाष्टमीमा कृष्णकै कुरा

    समिकरण न्युज २०७७, २७ श्रावण मंगलवार २०:३० पढ्न लाग्ने समय 3 मिनेट

    राम लोहनी

    महाभारतमा कृष्ण नामका दुई महत्वपूर्ण पात्र छन् — वासुदेव कृष्ण र कृष्णद्वैपायन व्यास। दुबैको नाम कृष्ण हुनु संयोग मात्र हो? त्यस्तै भीष्म र वासुदेव कृष्ण दुबै आठौँ सन्तान हुन्। दुबै जन्मिनु अघिका सात सन्तान (छोरा नै) को हत्या गरिएको कथा छ। कृष्णअघि जन्मेकालाई कंसले र भीष्मअघि जन्मेकालाई आमा गंगाले नै मारिदिएको बताइन्छ। (बलराम वसुदेवकी अर्की पत्नीको सन्तान हुन्, देवकीको हैन।)‍

    व्यास र भीष्मसँग देखिएको मिल्दो कुराबाहेक पनि शास्त्रमा तीन कृष्णको उल्लेख छ। आज कुन चाहिँ कृष्णको जन्मतिथि हो? वेदमा उल्लेख भएका कृष्ण यी तीनमध्ये एउटा होला भन्ने अनुमान गर्न सकिन्छ! अर्थात महाभारत-पुराण काल आइपुग्दा वेदमा नाम परेका कृष्ण मै हुँ भनेर दाबी गर्ने तीनजना थिए। अथवा हजारौँ वर्षमा महाभारतको कथामा फेरबदल भइरहँदा विभिन्न कालका कविले आ-आफ्नो चिन्तन र काव्यिक शिल्पअनुसार थपघट गर्दिरहे। एकै नाम र अधिकारमा फरक व्यक्तिले दाबी गरेपछि उनीहरूबीचको विवादको छिनोफानो त द्वन्द्वयुद्धले नै गर्ने हो। त्यसमा एउटा कृष्णले अरू दुईटा कृष्णलाई मारिदिए भन्ने कथाले बताउँछ। अनि त जो जित्यो, उही सक्कली कृष्ण! जित्ने (अर्थात जिताइएका) कृष्णको प्रशस्ति लेखिनु काव्यिक धर्म नै हो। यस्ता विभिन्न दाबी अहिले पनि सुन्नमा आउँछन्। अमूक व्यक्ति (भगवान) को असली उत्तराधिकारी दाबी गर्ने प्रचलन त अहिले पनि छँदैछ। नाम मिल्यो भने एउटाको भाग अर्कैले खाइदिने प्रचलन पनि छ। आज हुने कुरा हिजो भएन भनेर भन्न सकिने स्थिति पनि छैन। किनभने लेख्‍ने भनेको आजका र हामीजस्तै “मान्छे” त हुन्! त्यसैले आज विजित, पराजित सबै कृष्णहरूको सम्झना गरियो। जित्‍ने नै सही थियो भन्न सकिँदैन। असल व्यक्तिलाई सबै मिलेर ठिगुँर्‍याउने चलन अहिले पनि छँदैछ।

    को हुन् कृष्ण ?

    अहिले व्यापक रूपमा पुजिने कृष्ण वासुदेव कृष्ण हुन् । वासुदेव कृष्ण पुराणमा वर्णित विष्णुका अवतार र महाभारतमा शीर्ष भूमिकामा रहेका कृष्णको समन्वयात्मक स्वरूप हो । विद्वान्हरूको एउटा मतअनुसार पुराणमा अवतारको रूपमा वर्णित वासुदेव कृष्णलाई नै महाभारत युद्धमा पाण्डवहरूको विजयको कारक बताउन पछिल्लो कालमा थपिएको हो । पाण्डुले दिग्विजय गर्ने क्रममा मगधका दीर्घ नामका राजाको वध गरेका थिए । पछि भीमले मगधका जरासन्धको वध गरे! जरासन्धको पिता वा प्रपिताको नाम पनि दीर्घ भन्ने फेला पर्दैन। यसको मतलब त्यो समय मगधमा जरासन्ध र दीर्घ राजा रहेको समानान्तर कथाहरू प्रचलनमा थिए भन्ने देखिन्छ। अर्थात फरक समयका कविहरूले कथामा थपघट गर्दा सम्पादन राम्ररी गर्न सकेनन् वा बिर्सिए।

    तत्कालीन समयमा एकभन्दा बढी वासुदेव कृष्णको अस्तित्व भएबाट पनि यो कुराको संकेत मिल्छ । करवीरपुरका नरेश शृंगाल र करूष देशका नरेश पौण्ड्रकले पनि आफूलाई वासुदेव कृष्ण भएको दाबी गरेका थिए । फरक ठाउँका व्यक्तिले आफूलाई “वासुदेव पुत्र” नै दाबी गर्नु पर्ने कारण के हो त? किन अर्कै व्यक्ति वा नामको दाबी गरेनन्? भीष्मलाई पनि वसुकै अवतार मानिन्छ। शान्तनुसँग विवाह गर्ने सत्यवतीलाई पनि वसु (उपरिचर वसु) कै पुत्री देखाउन खोजिएको छ। वसु (देव) का छोरालाई नै वासु (देव) भनिएको हो। देवकीपुत्र वासुदेव कृष्णले यी दुवै वासुदेव कृष्णहरूको बध गरिदिएका थिए । यी प्रसंगले पौराणिक कालमा केही शक्तिशाली मानिसहरू आफूलाई ऐतिहासिक वासुदेव कृष्णसँग जोड्ने महत्वाकांक्षा राख्थे भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, ती ऐतिहासिक वासुदेव कृष्ण को हुन्, कस्ता थिए भन्ने जस्ता परिचर्चा अन्यत्र फेला परेको छैन । वासुदेव कृष्णसँग सम्बन्धित कथाहरू त्यो बेला प्रचलित थियो भन्ने चाहिँ निश्चित रूपमा अनुमान गर्न सकिन्छ। यिनै कथालाई माहाभारत पुराणमा विभिन्न कालखण्डमा कविहरूले आ-आफ्नो बुझाइ र गच्छेअनुसार प्रवेश गराएका हुन सक्छन्। त्यसैले प्रयास गर्दा गर्दै पनि कृष्णकथामा भेद र अन्तरविरोध बाँकी रहिरहेकै छ।

    वैदिक कालदेखि नै कृष्ण नामका पात्र अस्तित्वमा थिए । वैदिक कृष्णलाई अंगीरस कृष्ण पनि भनिएको पाइन्छ । ऋग्वेदका कृष्णले अश्विनीकुमारलाई सोमपान गर्न आह्वान गरेका छन् । ऋग्वेदकै अर्को ठाउँमा कृष्णलाई विश्वकायका पिताको रूपमा बुझाइएको छ । विश्वकाय अर्थात् विश्वरूपको शरीर भएका व्यक्तिको प्रसंग गीतामा वर्णन गरिएको विश्वरूपसँग जोडेर व्याख्या गर्न सकिन्छ । महाभारतमा वर्णित कृष्णलाई मन्त्रद्रष्टाको रूपमा भने चित्रित गरिएको छैन । गीताको उपदेश दिँदै गरेका कृष्णलाई भगवत् धर्म र भक्तिमार्गको प्रतिपादकको रूपमा बुझ्न सकिन्छ । गोवर्धन पर्वतको पूजा गर्न प्रेरित गर्ने कृष्ण इन्द्रको प्रतिद्वन्दी अर्थात इन्द्रको विरुद्ध विद्रोही नेता पनि बुझ्न सकिन्छ। कृष्णको कालो रङ र घुम्रिएको कपालको जुन वर्णन छ, त्यसले कृष्णलाई आर्येतर हुन् कि भन्ने अनुमान र गोवर्धन पर्वत प्रसङ्गमा देखिएको इन्द्रको प्रतिद्वन्दीबीच कतै तादात्म्य खोज्न सकिन्छ।गीताका कृष्ण याज्ञिक कर्मको पक्षपाती थिएनन्। इन्द्रका प्रतिद्वन्दी कृष्ण प्रकृति पूजाका पक्षधर देखिन्छन्। कालिय नाग, तक्षक आदि नागलाई दमन गर्ने जुन चरित्र कृष्णको देखाइएको छ, त्यसले कृष्णलाई कुनै समयको जातिय द्वन्द्वमा एक समुहको नेता बताउँछ, जसरी देवासुर सङ्ग्राममा इन्द्र थिए, जसरि ऋग्वेदमा दिवोदास र सुदासले शम्बरासुर र दश राजा विरुद्ध युद्ध रचेका थिए। ऐतरेय ब्राह्मणमा हारित कृष्णको प्रसंग छ भने छान्दोग्योपनिषदमा देवकी-पुत्र कृष्णको चर्चा छ । पौराणिक कृष्ण र औपनिषदिक कृष्णमा माताको नाम मिल्नेबाहेक अन्य सादृश्य देखिँदैन।पछिल्लो समयमा कृष्ण नाममा जुन व्यक्तित्वको परिचर्चा हुने गरेको छ, र जुन परम्परागत रूपमा हजारौँ वर्षदेखि टिकिरहेको छ, त्यसमा यी सबै कृष्णहरूको मिश्रित स्वरूप देखिन्छ।

    (लोहनीको फेसबुकबाट)

    #विचार

    फेसबुक प्रतिक्रिया