बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • एक हप्ता सम्म लकडाउन जारी

    समिकरण न्युज २०७७, २ भाद्र मंगलवार २०:०१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको विभिन्न क्षेत्रमा जारी रहेको लकडाउन १ हप्ताको लागि थप गरिएको छ । मंगलवार बसेको जिल्ला सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले १ हप्ताको लागि लकडाउन थप गर्ने निर्णय गरेको हो ।
    समुदायस्तरमा देखिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि विदुर नगरपालिकाका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिकाका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण भूभागमा निशेधाज्ञा जारी गरिएको छ । यस्तै, ककनी गाउँपालिका स्थित पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र, तारकेशवर गाउापालिकाको २, ४, ५ र ६ वडा, र तादी गाउँपालिकाको २, ३, ४ र ६ वडामा पुन मंगलवार मध्यरातदेखि लागू हुने गरी निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।


    औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर नकिस्कनका लागि संकट व्यवस्थापन केन्द्रले आग्रहसमेत गरेको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकलसमेत) सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
    अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोलपम्प, ग्यास डिपो, औषधि पसल बाहेकका पसल, उद्योग, व्यवसायहरू विहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निशेधाज्ञाको समयमा दीर्घरोगीहरूका लागि आवश्यक औषधि सम्बन्धित स्थानीय तहलाई व्यवस्थापन गरिदिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आग्रहसमेत गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया