शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • कविता- बा

    समिकरण न्युज २०७७, ३ भाद्र बुधबार १२:१० पढ्न लाग्ने समय < 1 मिनेट

    मेरो बाको पछि पछि
    दौडन्छ भर्खर जन्मेको पाठो
    बाको सुगन्धले वारीबाटै कराउछ
    सानो बाछी
    यी अचेतनशित भनिएकाहरु
    किन पच्छाउछन् बालाई ?
    बा देखेपछी आश गर्छन्
    भोकाएको गाईले घाँस
    भोकाएका बाख्राले स्याउला
    आफ्नी आमालो दूध कम भएर
    सानो पाठोले खोज्छ वोतलको दूध
    एक गाँस भातको आशमा दैलानिर
    उभिरहन्छ कुकुर
    बा लाई देखेपछि कराउछ
    माया लाग्दो गरि बिरालो
    आखिर बा नै त रहेछन्
    यी सबैका आशा र भरोसाका केन्द्र

    माटोको घर भत्केपछी
    पिल्लर उठाएको घर ठडिए पनि
    बाको मन शान्त छैन ।
    फर्निचरले सजिएका प्रत्येक कोठाहरुले
    बा को मन पगाल्न सकेको छैन
    किनकि
    बा का आँखाहरुमा झल्झल नाँचिरहेका छन्
    भकारी भकारी धान
    मकैको बडेमानको थाङ्ग्रो
    कोदो र गँहुका बोराको चाङहरु
    खाट मुनीभरी राखिएका आलुहरु
    अचेल
    एउटा रोटीको टुक्रो खान पनि
    झर्नुपर्छ बजारमा आँटा किन्न
    किनेकै अक्षताले गर्नुपर्छ सालिकग्रामको पुजा

    बा को नौनाडी गलेपछी
    मुटु जस्ता खेतहरु बाँझिएका छन्
    छातिजस्ता बारीहरु बाँझिएका छन्
    सुन जस्ता धानका बाला झुल्नुपर्नेमा
    जर्खरीएका काँसहरुले मुन्टो उठाईरहेछन्
    सायद
    अचेल खेतका प्रत्येक गराहरु रोहिरहेछन्
    बारीका प्रत्येक कान्लाहरु छट्पटाईरहेन
    बा को पैतालाको स्पर्श नपाएर बेचैन भैरहेछन्।

    बा ले माटोसँगै खेलेर
    हुर्काए आधा दर्जन सन्तान
    कहिल्यै कमजोर बनाएनन् मनस्थिती
    आफू भोको बसेर पनि कहिल्यै खाली राखेनन्
    सन्तानको पेट
    म सम्झिरहेछु
    बा को संघर्षका कथा
    बा को आत्मबल
    बा को त्याग
    बा को बुई चढेर
    म अहिले जुन ठाँउमा छु
    त्यहीबाट निहालिरहेछु
    र आफैलाई प्रश्न तेर्साइरहेछु
    बा लाई
    जति माया गर्छ
    सानो पाठोले
    सानो बाछोले
    दैला छेउमा उभिएको कुकुरले
    कोठाको एउटा कुनामा बसेको बिरालोले
    मैले बा लाई मेरो तर्फबाट
    त्यति नै माया दिएको आभाष
    दिलाउन त सकेको छुरु

    कविन्द्र घिमिरे
    ककनी २, नुवाकोट

    #साहित्य

    फेसबुक प्रतिक्रिया