बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • समाजसेवीको बिगबिगी

    समिकरण न्युज २०७७, ३ भाद्र बुधबार १२:२१ पढ्न लाग्ने समय 4 मिनेट

    आसनग्रहणको काम सकिइसकेको थियो तर मलाई आयोजकले आसनग्रहणका लागि थप दुई जनाको नाम थमाइदिए । लेखिएको थियो “समाजसेवी फलानो र ढिस्कानोलाई आसनग्रहण गराउनू”। म उद्घोषक थिएँ । मेरो काम आयोजकले अह्राएको मान्नु हो भन्ने ठानिन्छ तर यो आसनग्रहणको आदेश मलाई कता कता चित्त बुझेन । उनीहरु आबद्ध पार्टीका उनीहरुभन्दा माथिल्लो पोस्टका नेताहरु एक एक जना मञ्चमा गजधम्म बसिसकेका थिए ।

    त्यसैले मैले ती स्वघोषित वरिष्ठ ‘समाजसेवी’लाई आसनग्रहण गराइन । सभापतिको आसन ओछ्याएर बसिरहेका आयोजक प्रमुख मेरो पाराबाट रुनमात्र बाँकी थिए । उनीहरुको के के गठजोड थियो, मैले भेउ पाउने कुरै भएन । चार जनाको मन्तव्यले गन्तव्य पार गरेपछि मैले उनीहरुको नाम लिएँ तर ती समाजसेवीहरु मञ्चमा उक्लेनन् । शायद कतै समाजसेवा गर्न जान हतारमा थिए होलान् । मैले नाम उच्चारण गरेको केही मिनेटमै हलबाट बाहिरिए । सभापतित्वको आसनमा विराजमान आयोजकको अनुहार पानीमा चोबलिएको मुसाको जस्तो भयो । मैले त्यसको वास्तै गरिन । जनसङ्ख्याभन्दा धेरै दल भएको देशमा दलले दिएको मादलको साइज अनुसार पगडी जोडेर बोलाउन त सिटामोल खानुपथ्र्यो । त्यसमाथि ‘समाजसेवी’ फुर्को असुहाउँदो किसिमले झुन्डेको देख्दा मेरो कन्सिरीका रौंँ तातेका थिए ।

    हैन, यी समाजसेवी यस देशमा कति धेरै हँ । अचेल जता हे¥यो त्यतै समाजसेवी पाइन्छन् । ‘यहाँ समाजसेवी खरिदबिक्री गर्न पाइन्छ’ भन्ने मार्काको पसलहरु कहीँ छ ? खै, थाहा छैन । पसलमा गएर समाजसेवी नामक ओखती किनेर क्वाप्प खानासाथ समाजसेवी भइयोस्, यस्तो पसल नै खुलेको छैन तर यहाँ समाजसेजी काठमाडौंँका नगर प्रहरीले केही नगर्ने फुटपाथे पसल अथवा यसलाई यसो भनाँैं सर्वहारा कम्प्लेक्समा गएर ‘सय रुप्पे, सय रुप्पे’ को बुस्कोट किने जस्तो किन्न पाइन्छ जस्तो छ । दायाँ नि समाजसेवी, बायाँ नि समाजसेवी । समाजसेवीको भिड यति बढ्यो कि अब त यस्तो सङ्गत नगरे मानिसको अस्तित्व नै मेटिने डर पो भो । हिजोआज कात्तिकमा पनि सडक, चोक र गल्लीमा कुकुरको बिगबिगी घटेको छ । लाग्छ, तिनको ठाउँ यही समाजसेवीले लिएको छ । कुकुरमा त पोथीको जनसङ्ख्या थोरै देखिन्छ । एउटीमाथि दश पन्ध्रवटा ताँती लागिरहेका हुन्छन् । कात्तिकको लठारोमा लठारिन पनि कुकुरको भाग्यमा बत्ती बलेको हुनुपर्छ । त्यही दृश्य पनि पातलिँदै गएको छ । शायद जलवायु परिवर्तनको असर हुनसक्छ, भदौदेखि नै ककुरहरुको रासलिला हुन थालेर हो कि । खैर, एकथरिको लठारोलाई अर्काथरि प्रतिस्थापन गर्न सक्षम छ—समाजसेवी । समाजसेवी यस्तो चर्मघर्षणको झटारोमा पनि अघि नै हुन्छन् । पोटिलो अनारदाना छान्न पनि खप्पिस हुन्छन् । यो पनि असली समाजसेवा नै हो नि । चोकको चियापसलमा अझ असल समाजसेवी भेटिन्छ । दश रुप्पेको चिया खाएर नब्बे रुप्पेको गफ चुटेर एक रुप्पे नतिर्ने कौडीका छौडी कोटाको समाजसेवी नाथे त कति कति ।
    म पनि यो महँंगीले आकाश छोएको बेला, किलकिलेमा वैद्य बा अड्किएपछि रेग्मी सरकार रोएको बेला के नाथे समाजसेवीको विषयका टाउको दुखाई रा’ होला । ‘खाइ न पाई छालाको टोपी लाई’ भनेको यही हो । तै पनि सगसग लागेको लाग्यै छ यी समाजसेवीका रुप एक औतार अनेक देख्दा । कहिले हाँसो उठ्छ, कहिले लाज लाग्छ । झन् यो पत्रकारिता गर्ने मान्छेले अनेक बान्की बान्कीका समाजसेवी देख्न पाउँदो रहेछ । यसलाई मैले आफ्नो अहोभाग्य नै ठानेको छु । प्रकृतिले मलाई समाजसेवी धेरै भएको देशमा, समाजसेवी मौलाउने मौसममा, समाजसेवी बौलाउने मौसममा यस धरतीमा ज्यूने मौका दिएकामा आफूलाई नै धन्य सम्झेको छु ।

    गाउँको कार्यक्रम हो । गाउँ डुल्न नगाको पनि धेरै भो । कति सदरमुकाममा बसेर समाचार लेख्ने ? यसो फ्रेस पनि हुन्छ भनेर गइन्छ कहिलेकाहीँ गाउँतिर । त्यता पनि समाजसेवीको झन् धेरै बिगबिगी पो हुँदो रहेछ । कतै सदरमुकामकै हालीमुहाली गर्ने समाजसेवी त कतै गाउँकै आफूलाई ‘राजा’ ठान्ने समाजसेवीको बर्खामा उम्रेको च्याउ होइन झ्याउ जस्ता पन्छाइसाध्ये नहुने रहेछ । आफ्नो प्रमुख आतिथ्यताको चुरीफुरी देखाउँदै बडा ठुल्ठूला समाजसेवाको भाषण गर्न भ्याउँछन् । समाजसेवाको नाममा सिन्को पनि भाँचेको देखेको/सुनेको नभए पनि के लाग्छ र !
    श्रीमान् विदेश गएका श्रीमतीहरु ताक्ने । उनैमाथि रजाइँ, उनैको सम्पत्तिमा दाइँबराधो गर्ने रैमठ्ठेहरु अहिलेको पहिलो नम्बरका समाजसेवी हुँदा रहेछन् भन्ने पनि जानियो । जसले बढी अर्काको छोरी बुहारी राति राति ताक्छ, उसैले ठूलो तक्मा छातीमा टाँस्छ । घरकी श्रीमतीले एक धरो लगाउन पाएको हँुदैन, बाहिरका तरुनीलाई कारमा सयर गराउने समाजसेवीको पनि जनसङ्ख्या दिन दुगुना रात चौगुना बढ्दै छ । घरकीको नाकैको फुली लुछेर नखरमाउलीलाई काखमा राखेर घाँटीमा सुनको दुई तोलाको सिक्री लगाइदिने उपर समाजसेवीदेखि महिलाहरु छानी छानी मस्ती गर्दैै उनीहरुकै सम्पत्ति लटिपटी गर्ने सुपर समाजसेवीको पनि हामीकहाँ खाँचो छैन ।
    भन्सार छलेर ल्याएको मल किसानको ढाड भाँच्ने गरी बेच्नेहरु, चामल, तेलमा मिसावट गर्नेहरु, सुनका ठग्न पाउनुपर्छ भन्नेहरु, बजार अनुगमनमा आउँदा पूर्वजानकारी नदिएको भन्दै सरकारी गाडीमा आगो झोस्नेहरु, आफन्तकै गलामा चुपी ठोस्नेहरु, करोडौंँको भ्याट छलेर मुलुकलाई सुकेनास दलेर व्यक्तिगत स्वार्थका पखेटा भ्याटभ्याट गर्दै राज्यसत्तालाई कालोधन्दाको चंगुलमा पार्नेहरु÷पर्नेहरु सबै समाजसेवी ।

    जिन्दगीमा मलमूत्रबाहेक केही त्याग नगरेकाहरु नै महात्यागी÷समाजसेवी । ‘गिलोमा आची र सारोमा ढुंगा’ बाहेक भन्छन्, अचेल त यही आची राख्ने शौचालय खाएका छन् । अनि पहराका ठूला ठूला ढुङ्गा पनि दम्पच बनाएका छन् । त्यस्ता कोटिका समाजसेवीको ताँती पनि धरानतिरको साउनको बमबोलभन्दा कम देखिँदैन ।

    भक्तपुरमा एक लाख लुटेर काठमाडौँमा आएर पाँच हजार दान गर्ने महासमाजसेवी । गरिबी बेचेर, नाङ्गो आङ बेचेर, फरियाको ह्वाङ्ग परेको भ्वाङ बेचेर, कुपोषणले ताछेर बाँकी रहेको हाड र छालामा प्रपोजलको भाला रोपेर आएको रगतमा जिब्रो चाटेर हुने समाजसेवी ।
    यो स्थानीय रेडियोमा काम गर्दा त झन् अनेकथरि समाजसेवीको नाम भट्याउनुपर्छ । कसैले ‘कसैले वयोवृद्ध समाजसेवी फलानाको सभापतित्वमा …..’, ‘कसैले वरिष्ठ समाजसेजी ढिस्कानाको अध्यक्षतामा….., ‘कसैले युवा समाजसेवी टिलानाको प्रमुख आतिथ्यमा…’ कार्यक्रम सम्पन्न भयो भनेर नपढी सुखै पाइन्न । हैन यो समाजसेवीको पनि कित्तँ कित्ता रहेछ । कोही वरिष्ठ, कोही कनिष्ठ, कोही युवा, कोही वयोवृद्ध कोही बाल…। गाउँमा जो उपभोक्ता समितिमा वर्षौं बसेर, अन्य काम केही नगरेर, घरव्यवहार चलाउनेदेखि छोराछोरीलाई सहरको महंँगो बोर्डिङ पढाउनसम्म भ्याउँछ । उ नै त्यहाँको ‘सेभेन स्टार’ समाजसेवी । जो सधैंँ दुःख गर्छ, आफ्नो मेलो सक्छ, कसैको केही बिगार्दैन, सकेसम्म सबैको भलो चाहन्छ, हलो जोत्छ ऊ चाहिँ ‘स्टार’विहीन अनागरिक । यस्तो यी सुकिलामुकिला लाहुरे समाजसेवीले गरिखानेको परिवारमा किचलो नै पैदा गराएको छ । एक जना साथी केही साता अघि सुनाउँदै थिए । “‘ऊ फलानो समाजसेवा गर्छ, जागिर छैन, व्यापार छैन, तैपनि चिल्लो कार चढेकै छ, अग्लो घर उसैको छ” श्रीमतीजीहरुको कचकच भैहाल्छ “हाम्रालाई पनि यो नाथे सुब्बाको जागिर छाडेर यही समाजसेवा गर भनेको मरे मान्ने होइन ।”
    हामी स्कुल पढ्दाताका गाउँका स्कुलमा पनि ‘अटोग्राफ’ भर्ने चलन गएको थियो । मैले पनि केही अटोग्राफ भरी टोपलेँ । अरुलाई पनि आफ्नो भराएँ । मैले सबैकामा लेखिदिएँ ‘रुचि ः समाजसेवा’ । अरु साथीहरुले पनि मेरो अटोमा लेखिदिए ‘रुचि ः समाजसेवा, लक्ष्य ः समाजसेवी’ बन्ने ।
    अहिले त भ्यान्टा रुखमा भ¥याङ हाल्नुपर्ने जस्तो छु । त्यतिखेर आफू फुच्चे उमेरमा पनि साइजमा पनि । डाँडाको चौरमा भलिबल खेल्दा कहिलेकाहीँ बल गुल्टेर तल खोल्सातिर खस्थ्यो । त्यही बेला केही साथीहरु “तँलाई भलिबल बनाएर एक छिन खेलौँ है अर्को नल्यान्जेल” भन्थे । त्यस बेला समाजसेवा गर्नु भनेको ठूलो काम हो जस्तो लाग्थ्यो । समाजसेवी त अर्कै ग्रहका प्राणी जस्ता लाग्थे । आफूले पनि गजक्क परेर ‘रुचिः समाजसेवा’ लेखेकामा अहिले आएर पश्चाताप लागिरहेको छ । कोही साथी कहाँ पुगे कोही कहाँ । साँझ बास बसिरहेको आँपका रुपमा चट्याङ परेपछि छिरल्लिएर दिशा हराएको सारौँ जस्ता हामी अनेक दिशामा छिन्नभिन्न भएका छाँैं । कतिले ती अटोग्राफले आफ्ना नानीहरुको आची पुछिसके होलान् । कतिको ट्यांकामा, घ्याम्पामा धमिराले दाहसंस्कार गरिसक्यो होला । तैपनि कति साथीहरुकामा कुरकुरे बैंशका रुमानी दिनमा लेखेको अटोग्राफ जीर्ण रुपमा भए पनि जिउँदो छ, मैले लेखेको ‘रुचिः समाजसेवा’ लाइनमाथि मोसो पोतिदिनुहोला । त्यसले अन्जानमा लेखेछ भनेर मलाई माफ गरिदिनुहोला । म भुइँमान्छे भुइँमै रमाउँछु । आफ्नै पसिनाको डाली समाउँछु ।

    समाजसेवीहरुको महिमा अपरम्पार छ । त्रिलोक चौध भुवन एक छत्र राज छ । हजार जिब्रा भएका शेषनागले पनि यिनका बयान गरिसक्दैनन् । म बबुराले कसरी ? जय होस् समाजसेवी/समाजसेविनीहरुको ।

    –रूपायन अंक ११

    #साहित्य

    फेसबुक प्रतिक्रिया