नुवाकोट । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा गरेको निषेधाज्ञ अझै एक साता थपे पनि सूर्यगढी गाउँपालिकाको नेपाली कांग्रेसले भने पार्टीको भेलालाई निरन्तरता दिइरहेको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि भन्दै क्रियाशिल सदस्यता फारम वडावडामा भर्ने अभियान चलाईरहेको कांग्रेसेले सयौंको संख्यामा भेला पनि आयोजना गर्दै आएको छ । आज सूर्यगढी कांग्रेसले कोरोनाको कारण कुनै पनि भेला गर्न रोक लगाएको समयमा पनि सयौंको संख्याका कार्यकर्ता भेला गरेको छ । सूर्यगढी गाउँपालिका वडा नं. ५ गणेशस्थान पिप्लेमा गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस गाउँपालिका इकाईका अध्यक्ष सन्तबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी समेतको सहभागितामा कार्यकर्ता भेला आयोजना गरिएको हो । कोरोनाको जोखिम बढिरहेको बेलामा सरकारले रोक लगाए पनि कांग्रेसले भेला गर्दै गाउँटोलमा जोखिम सिर्जना गरेको स्थानीयले बताएका छन् ।
यस्तै, नेपाली कांग्रेस विदुर नपा वडा नंं. ५ को इकाईको आयोजनामा पनि केही दिन अघि निषेधाज्ञको बीचमा पिपलटारमा भेला गरेको थियो । कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी आफैै भेलामा सहभागी भएका थिए ।
विभिन्न गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका नेताहरु गाउँगाउँमा निर्वाध भेला गर्दै हिडे पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको स्थानीयवासीको गुनासो रहेको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन तीन महिना लडडाउन गरिएको थियो । लकडाउन खुकुलो भएपछि देशैभर संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ जारी गरिरहेको छ । नुवाकोटमा स्थानीय प्रशासनले निषेधाज्ञ विभिन्न स्थानमा गरेको छ भने निषेधाज्ञ हटाएको क्षेत्रका पनि सार्वजनिक तथा निजी सवारी साधान सञ्चालन गर्न, भेला, बैठक, धार्मिक मेला जस्ता भीडभाड हुने काम गर्न प्रतिबन्ध कायमै राखेको छ ।
तर, सरकारले प्रतिबन्ध कायमै राखे पनि जिल्लाको जिम्वेदार दल नेपाली कांग्रेसले भेला, पार्टी प्रवेश जस्ता गतिविधीहरु सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा नुवाकोटमा पनि कोरोना समुदायस्तरमा देखिन थालिसकेको छ ।