बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • धुन्चे गाउँमा नयाँ बोन्पोहरु थपिँदै

    समिकरण न्युज २०७७, १४ भाद्र आईतवार १२:०६ पढ्न लाग्ने समय 3 मिनेट

    फुर्पा तमाङ

    तमाङ जाति । संस्कृतिका धनी । धर्म–कर्म असाध्यै मान्ने । उहिले बोन (झाँक्री) धर्म मान्थे । सातौं शताव्दीपछि बौद्द धर्म पनि मान्दै आएका छन् । अतः यो जातिको धर्म दुईवटा छन् । जन्म, विवाह, मृत्यू संस्कारमा बौद्द र बोन धर्मको समिश्रण देख्न सकिन्छ । यद्यपि समाजमा यी दुई धर्मबीच कुनै विवाद छैन ।

    बोन्पो अर्थात बोन धर्म धेरै पुरानो धर्म हो । यो प्राचीनधर्म मानिन्छ । बोन्पोहरुका अनुसार यो धर्मको शुरुवात सृष्टिसंगसंगै भएको मानिन्छ । बोन धर्मको फैलावट भने तिब्बत (भोट) मा भएको मानिन्छ । अतःतिब्बतसंग हाल राजनीतिक सिमाना (नक्शा) जोडिएका हिमालय क्षेत्रका आदिवासीहरु बोन धर्म मान्छन् । सातौं शताव्दीमाबौद्द गुरु पद्म सम्भव (गुरुरिम्पोचे) को पालामातिब्बतमाबोन र बौद्द धर्म (बज्रयान÷तान्त्रिक सम्प्रदाय) बीच धार्मिक द्वन्दभएको थियो । द्वन्दपश्चात बोन्पोहरुलाई लखिटिने काम भयो । उनीहरु भागाभाग भए । धर्मग्रन्थ बोकेर भाग्न सक्नेहरुले अहिले पनि धर्मग्रन्थहरु प्रयोग गरेर धार्मिक कार्य गर्दै आएका छन् । उनीहरु केही संशोधित पनि भए । यो सम्प्रादय बेन्कर बोन् सेतो बोन्पो) भए । बेन्कर बोन्पोको गुम्बाहरु र अभ्यास नेपालको उपल्लो डोल्पा, मुस्ताङ, हुम्ला र मुगुतिर पाइन्छ ।

    धर्मग्रन्थ बोकेर जान नसक्नेहरुले धार्मिक ग्रन्थलाई आगोमा जलाएर खरानी खाए । खरानी खाएका बोन्पोहरुले पुरानै पद्दतिलाई अंगाल्दै आएका छन् । उनीहरुलाई बेन्नग् बोन्पो (कालो बोन्पो) भनिए । बेन्करले पशुपन्छी बली चढाउने प्रथा त्यागे । बेन्नग्ले पशुपन्छी बली चढाउने प्रथालाई निरन्तर तादिँदै आएका छन् । यसरी सातौं शताव्दीपश्चात यो धर्ममा बेन्कर र बेन्नग् दुईवटा सम्प्रदायको जन्म हुन गयो । बेन्नग् बोन्पोहरुले धर्मग्रन्थको अभावले गर्दा आफ्ना शिष्यहरुलाई बोन्पो विद्या मौखिक रुपमा कण्ठस्थ हुने गरी सिकाउँदै आएका छन् । अर्को जसले धर्म ग्रन्थ बोकेर भाग्न सके, उनीहरु अझै धार्मिक पुस्तक पढेर धार्मिक क्रियाकलापहरु गर्दै आएका छन् । नेपालको उपल्लो डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ आदि क्षेत्रमा यस्तो बोन्पोहरु देख्न सकिन्छ ।

    सातौं शताव्दीमा धार्मिक द्वन्दपश्चात बौद्द धर्म र बोन धर्मबीच धार्मिक कार्यको सम्झौता पनि भयो । धार्मिक मेलमिलापकर्ता गुरु पद्म सम्भव (गुरु रिम्पोचे) थिए । अब उप्रान्त बिरामी भयो भने जडीबुटी सहित गाउँको देवी देवताको पूजा गर्ने, भूतप्रेतलाई पन्छाउने, फाल्ने आदि काम बोन्पोले गर्ने र मृत्यू संस्कारको काम बौद्द लामाले गर्ने । बोन्पोको मृत्यू भयो भने पहिले बोन्पोले धार्मिक कार्य गरेपछि मात्र लामाले लाश जिम्मा लिने सम्झौता पनि भयो । यही सम्झौता अनुसार कुनै व्यक्ति बिरामी भयो भने बोन्पो (झाँक्री) ले निशुल्क बिरामीलाई जडीबुटी खोजेर ल्याउने, मन्त्र गरेर खुवाउने, पूजा गर्ने आदि काम गर्दै आएको छ । कुनै बोन्पोको मृत्यू भयो भने गाउँमा भएका सम्पूर्ण बोन्पोहरु भेला भएर पूजा गरेर मात्र लाशलाई लामाको जिम्मा लगाउँदै आएका छन् । मृतक बोन्पोको घेवा (बेन्डोल) बोन्पोहरुले गरेपछि मात्र लामाले अन्तिममा घेवा गर्ने परम्परा रहँदै आएको छ ।

    बोन्पोले गर्ने सम्पूर्ण कार्य निशुल्क हुन्छन् । कुनै व्यक्ति बिरामी भएको छ, जोखाना हेरिदिनु प¥यो, जडीबुटी दिनु प¥यो भनेर बोन्पोलाई लिन गयो भने बिहान, दिउँसो, राति जुनै बेला पनि बोन्पोहरु सहजढंगले बिरामीको घरमा जान्छन् । आफूले जानेका काम गर्छन् । खोला, किनार, जंगल, भीर वा लेकमा गएर जडीबुटी ल्याएर बिरामीलाई फुकेर दिन्छन् । बुटी (सुङा)लाई दिन्छन् । रातभरि नसुतिकन ढ्याङ्ग्रो बजाएर धार्मिक काय गर्छन् । तर, त्यसरी काम गरिदिए बापतको पैसा (कुयेन्) लिँदैनन् । उनीहरु भन्छन्– पैसा लिनु हुँदैन भनेर आफ्ना गुरुहरुले सिकाएको हुनाले नलिएको । उहिलेका बोन्पोहरु तन्त्र–मन्त्र गरेर उड्थे । गोठ सार्नु पर्दा सामान मन्त्र गरेर सार्थे रे । बोन्पोहरुबीच विद्याको प्रतियोगिता हुन्थ्यो । यस्ता तपस्वी गुरुहरु हिजोआज कहाँ पाउनु ? अचेल शहर बजारमा फटाह झाँक्रीहरु पनि निस्किएका छन् । उनीहरु भने पैसा लिएर व्यवसाय र पेशा नै चलाउँछन् । त्यस्ता झाँक्रीहरुबाट भने टाढा रहनु पर्छ ।

    बोन्पो कार्य सजिलो छैन । हिजो आज केटाकेटीहरु औपचारिक शिक्षाको लागि सानैदेखि गाउँबाट टाढा जानु पर्ने भएकोले पनि यो विद्या सिक्नेको संख्या घट्दै गएको छ । बोन्पो सिक्न तिब्बती भाषा जान्नु पर्छ । अदृश्य शक्तिलाई तिब्बती भाषामा झाँक्रीले फलाक्नु पर्छ । विभिन्न प्रकारका तोर्मो (आकृति) हरु बनाउनु पर्छ । तन्त्र–मन्त्र सिक्नुपर्छ । कण्ठ गर्नुपर्छ । जप्नुपर्छ । तपस्या गर्नुपर्छ । प्रयोग गर्नुपर्छ । समय लगानीको अनुपातमा व्यक्तिगत रुपमा कुनै लाभ छैन । त्यसकारण गाउँघरमा बोन्पोको संख्या क्रमशः घट्दै गएका छन् ।

    गत महिनादेखि धुन्चे गाउँले केही नयाँ बोन्पो (झाँक्री)हरु पाएका छन् । ती नयाँ बोन्पोहरु जंगलमा गएर २१ दिन गुफा बसे । साउन महिनाको ५ गते देखि २८ गतेसम्म गुरुको साथमा बसेर उनीहरुले विद्या सिकेका हुन् । बोन्पो हुन सजिलो छैन । गुरुसंग वर्षौं अनौपचारिक रुपमा विद्या(ज्ञान) सिकेर गुफा बस्नुपर्छ । गुफामा गुरुले दीक्षा (वाङ) दिइन्छ । गुरुले वाङ नदिई गरेको धार्मिक कार्यले खास उपलव्धि हाँसिल गर्दैन । यसकारण पनि गुफा बस्नु अनिवार्य मानिन्छ । धुन्चे गाउँका बोन्पो गुरुहरु दावा पेम्बा दम्ब्रङ र कम छिरिङ तितुङले रन्जित तितुङ, संगम तितुङलाई नयाँ शिष्यको रुपमा सिकाएका हुन् । यसअघि धुन्चेकै संजय तितुङ र कम ग्याल्बो घलेले बोन्पो सिकेर धार्मिक कार्यहरु गर्दै आएका छन् । यसपालीका संगम तितुङ धुन्चेका प्रख्यात बोन्पो (झाँक्री) करसिंगी तितुङका नाति हुन् ।
    बोन्पोले तमाङ जातिको धार्मिक–साँस्कृतिक पहिचान समेत संरक्षण गर्दै आएको छ । पैसा विना कुनै काम नबन्ने दुनियाँमा निशुल्क सेवा गर्ने धर्म अहिले गाउँघरमा बोन धर्म मात्रै बाँकी छ । पानी मुहान, खोला, नदी, झर्ना, कुण्ड, ताल आदिमा फोहोर मैला गर्नु हुँदैन । फोहोर मैला गरे, फ्याँके, थुपारे वा दुरगन्धित धुलो, धुवाँ निकाले, जलाए, थुके, पिसाब फेरे, दिसा गरे देवी देवता रिसाएर त्यस्तो कार्य गर्ने व्यक्तिको जीउमा घाउखटिरा आउने, सुनिने र मृत्यू समेत हुन्छ भनेर समाजमा वातावरण संरक्षण सम्बन्धि चेतना जगाउने गुरु पनि हुन् बोन्पो । यो महत्वलाई समेत हेरेर स्थानीय सरकारले बोन्पो धर्म संरक्षणमा चासो लिनु पर्ने देखिन्छ ।

    ठूलो भार्खु, रसुवा
    phurpatamang10@gmail.com
    तस्वीरः प्रमोद कुमार तितुङ, धुन्चे
    साभारः त्रिशूली खबर

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया