बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • निजि सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गरिने

    समिकरण न्युज २०७७, १७ भाद्र बुधबार ०८:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नुवाकोटमा जोर विजोर प्रणालीबाट निजि सवारी साधन सञ्चालन गरिने भएको छ ।
    जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलवारको बैठकको निर्णय अनुसार जोर गतेमा जोर नम्बरका र विजोर गतेमा विजोर नम्बरका निजि सवारी साधन सञ्चालन गर्न पाइनेछ । ती सवारी साधनहरु विहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालको अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रो बस, जीप, ट्याक्सी) भने पूर्ण रुपमा सञ्चालनमा रोक लगाइनेछ ।
    यस्तै जिल्लाको शिवुरी गाउँपालिकामा थप १ हप्ताको लागि निशेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारी, सिक्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सहित ७ जनामा एकैसाथ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि विहिवार साझ ६ बजेदेखि शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो । उक्त निशेधाज्ञा यहि भदौँ २३ गते मध्यरातसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
    यस्तै पासाङ ल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिका–१ र २, बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी –त्रिशुली –मैलुङ – स्याफ्रुबेशी –रसुवागढी सडक मार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा पनि मंगलवार मध्यरातदेखि लागु हने गरी १ सातासम्मलाई निशेधाज्ञा जारी गरिएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । सङ्क्रमित मध्ये ७३ जना कोराना मुक्त भई अस्पतालबाट घर फर्किसकेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया