नुवाकोट । “स्वच्छ र सक्षम निजामती प्रशासन – समृद्धि र सुशासन” भन्ने नारा सहित १७ औँ निजामती दिवस मनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भौतिक तथा सामाजिक दुरी कायम गर्दै आन्तरिक रुपमा गर्न सकिने कार्यक्रमहरु गरी निजामती दिवस मनाउन जिल्ला प्रशासन कार्यालयले आइतवार नै सबै स्थानीय तह र जिल्ला स्थित कार्यालयलाई सूचना समेत जारी गरेको थियो ।
यता दिवसको अवसर पारी जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना वोर्ड जडान गरिएको छ । उक्त डिजिटल सूचना वोर्डबाट जिल्ला जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाको बारेमा जानकारी लिन सकिने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ ।
“जिल्लाको कुनै स्थानमा विपदका घटना भएमा, भ्रष्टचार लगायतका अन्य कुनै विषयमा गुनासो भएमा जानकारी दिने सम्पर्क नम्बर, सूचना अधिकारीको नाम र सम्पर्क नम्बर, राहदानी तयार भई आएको विवरण, द्रुत राहदानी सिफारिसको लागि आवश्यक फाराम जिल्ला प्रशासनको राहदानी शाखाबाट निःशुल्क उपलब्ध गराइने विषय, स्थानीय तहबाट सिफारिस भै आएको कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा निवेदन दिइरहनु नपर्ने विषय सहित जिल्ला प्रशासन कार्यालय नुवाकोटको वेवसाइट, इमेल ठेगाना लगायतका सूचनाहरु उक्त वोर्डमा समावेस गरिएको छ,” प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो, “निजी क्षेत्रको उत्तम अभ्यास सार्वजनिक क्षेत्रमा अवलम्वन गर्ने प्रयास गरेका हौँ । यस कार्यबाट सेवाग्राही नागरिक र अन्य सम्बद्व सबै लाभान्वित हुने अपेक्षा गरेका छौँ ।”
प्रविधि तथा जनमैत्री जिल्ला प्रशासनको रुपमा अघि बढाउन डिजीटल हाजिरी, डिजिटल नागरिक बडापत्र, सिसि क्यामरा जडान गर्नुको साथसाथै प्रशासनमा सेवा लिन आएका नागरिकहरुको लागि निःशुल्क फोटोकपी सेवा समेत रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएकोे छ ।
यस्तै जिल्लाको तादी गाउँपालिकाले निजामती दिवसको अवसरममा कार्यलय परिसरमा सरसफाई गर्नुको साथसाथै वृक्षारोपण समेत गरेको छ ।
निजामती सेवा ऐन २०४९ जारी भएको सम्झनामा हरेक वर्ष भदौ २२ गतेदेखि निजामती दिवस मनाइदै आइएको छ ।