हरिकृष्ण श्रेष्ठ
अहिले हाँसो लाग्छ स्कूले जीवनमा पञ्चायतकालीन चाटुकार इतिहासकारहरुले माध्यमिक तहमा पढाई हुने पञ्चायत भन्ने विषयमा “नेपालमा प्रजातान्तिक ब्यबस्था असफल हुनाको कारण” भन्ने आफुले पढेको र सोही पाठ अनुसार सोधिएको प्रश्नको जवाफ दिएर नम्बर ल्याएको कुरो सम्झेर । प्रविणता प्रमाण पत्र तहमा नेपाल परिचय भन्ने कितावमा पनि शायद त्यो कुरो थियो होला, तर आफु विज्ञान संकायको विद्यार्थी भएको कारणले महत्व दिएर पढिंदैन थियो । बी.पी.को विचार, आदर्श र निष्ठाको चीरहरण गरिएको रहेछ । बी.पी. र उहाँले निर्माण गरेको पार्टी नेपाली कांग्रेसको विषयमा त्यस बेला जे लेखिएको थियो, त्यो सबै मित्थ्या रहेछ । असल कुराहरुको प्रचार गर्नै दिएको रहेन छ । नयाँ पुश्तालाई त्यो थाहा हुने कुरो भएन । समकालीन पुस्ता बितेर गई सके । मौजुदा पुस्तालाई त्यो बताई रहन जरुरी भएन या सत्ता राजनीतिको बोझले थिचिएर स्वर्णीम इतिहासको सञ्चार हुन सकेन ।
भारतमा बेलायती राज नहटाएसम्म बेलायती राजको आडमा टिकेको नेपालको राणातन्त्र हटाउन सकिन्न भन्ने बी.पी.को मान्यता उहाँमा रहेको उहाँ स्वयम्ले बताउनु भएको छ । नेपालमा संवैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न उहाँ स्वयम् भारतको स्वराज आन्दोलनमा सक्रिय रहनु भएको र पटक पटक जेल जीवन भोग्नु भएको कुरा जगजाहेर छ । उसै समयमा नेपालमा राणाहरुको कोपभाजनमा परेका र भारत पलायन भएका नेपालीहरु र भारतमा अध्ययनकालागि पुगेका नेपालीहरुलाई नेपालमा प्रजातन्त्रको स्थापना गर्नको लागि संगठित गर्ने काम गर्नु भएको छ । यसैबीचमा नेकपाको संस्थापक नेता पुष्पलालले समेत उतै नेकपा गठन गर्नु भएको छ र उहाँहरुबीच नेपालमा राणातन्त्र अन्त्य गर्ने कुरामा एकमत रहेको र पछि बाटो फरक परेको देखिन्छ । भारतमा बेलायती राजको पतनपछि नेपालमा राणाहरु एक्लिएको र नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तीको उभारले राणाहरु पराजित हुँदै गैरहेको अवस्थामा राजा त्रिभुवन योजना मुताविक भारत पुगेका र पछि त्यहीं राजा, राणा र नेपाली कांग्रेसबीच सम्झौता भई प्रजातन्त्रको अभ्युदयसंगै २००७ सालको जनक्रान्ती सम्पन्न भएको इतिहास छ । यसले स्वतन्त्र जनताको सार्वभौम सत्ता सम्पन्न मुलुक नेपालको जग बसाल्न मद्दत पुगेको छ । बी.पी.को त्यसमा अग्रणी भूमिका रहेकोछ । त्यसपछि तीनवटै शक्तिसहित नेकपा समेत नेपालमा खुल्ला राजनितीक गतिविधिमा संलग्न भएको देखिन्छ । २००७ सालको सम्झौता अनुसार मोहन शमशेरको नेतृत्वमा नेपालमा राणा–कांगे्रसको संयुक्त सरकार बन्यो । यस घटनाले नेपालमा राणा शासन सदाको लागि अन्त्य हुन पुगेको छ । केहि महिनापछि मोहन शमशेर राणाले प्रधानमन्त्री त्यागेर राजनीतिबाट नै अलग भएको छ ।
तत्कालीन अवस्थामा राजतन्त्र पनि त्यती शक्तिशाली थिएन किन कि सेना राजाको भन्दा राणाको पकडमा थियो र जनतालाई राजा छ भन्ने त थाहा छ तर जनता र राजाको सम्पर्क भने भएको अवस्था थिएन । नेपालको त्यस्तो तरल राजनीतिक अवस्थालाई नियाल्दा नेपाली कांग्रेसको सम्वैधानिक राजतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाले मुलुकलाई एक सुत्रमा बाँधेको थियो भनेर भन्दा अत्युक्ति नहोला । त्यस्तै अन्य साना (?) राजनीतिक दलहरुको गतिविधीले पनि नेपाल र नेपालीहरु जोडिँदै थियो भनेर पनि भन्न सकिन्छ । यसपछि नै हो नेपालको राष्ट्रियता सम्वद्र्धनमा जनता जोडिएको, जनताले मुलुकप्रति अपनत्व लिएको । अहिले हामी भारतबाट जे नियती भोगी रहेका छौं, त्यो बेलाको त्यस्तो तरल अवस्थामा हामि कसरी जोगियौं ? त्यही बेला हो स्वतन्त्र हैदरावादसहित अन्य केही राज्यहरु भारतले आफुमा मिलाएको थियो । नेपालमा आएको राजनीतिक परिवर्तन, जनता केन्द्रित राजनीतिक दलहरु र आम नेपालीले मुलुकप्रति देखाएको अपनत्वले नै नेपाल जोगिन सम्भव भएको हो । राष्ट्रियता सम्बन्धमा बी.पी. भन्नु भएको थियो, राष्ट्रियता भनेको ढुंगा माटो र भूगोलमात्र हैन, राष्ट्रप्रति आम जनताको सामुहिक भावना हो, यो सामुहिक भावनाको प्रस्फुटन प्रजातन्त्रमा मात्र सम्भव छ । प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक दलहरु हुन्छन् र तिनका कार्यक्रमहरुमा आम जनताको अभिरुचि र मत हुन्छ । त्यसले जनतालाई राष्ट्रकाप्रति संगठित गराउँदछ ।
मोहन शमशेरको राजीनामापछि नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोईराला नेपालका प्रधानमन्त्री भए नेपाली कांग्रेसको एकमना सरकारमा । राजाको २००७ सालको घोषणा अनुसार संविधानसभा (?) को निर्वाचन गराउन उनी तयार भएनन् पार्टीको दवाव वावजुद पनि । राजाको ईच्छा र भारतको चाहना अनुसार चलेर आफ्नो सत्ता लम्ब्याउनु बाहेक उनको कुनै उद्धेश्य थिएन जस्तो लाग्छ । उनको त्यो चाला देखेर नेपाली कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरिदियो र पार्टी सभापतिको बागडोर बी.पी.कोईरालाले आफैले लिनु भयो र संविधानसभाको निर्वाचन गर्न दवाव दिन थाल्नु भयो । यो संभावना टार्न राजा त्रिभुवनले मातृकालाई पदमुक्त गरिदिए र सत्ताको बागडोर आफैं सम्हाले । यो बेला तत्कालीन युवराज महेन्द्र पनि परिपक्व भै सकेका थिए । राजाको हरेक काम महेन्द्रको महत्वाकांक्षा मुताविक चल्न थालेको थियो । त्रिभुवन त निमित्त नायक मात्र । त्रिभुवन त्यत्ति महत्वाकांक्षी नभएको उनको गतीविधिले नै देखाउँछ । त्यस बखत नेपाली कांग्रेसले जनउत्तरदायी सरकारको माग सहित निर्वाचनकोलागि निरन्तर दवाव दिन थाले पछि राजा त्रिभुवनले पुनः उनै मातृकाप्रसाद कोईरालाको नेतृत्वमा सरकार गठन गरिदिए । उनले फेरी पनि चुनाव गराएनन् । यहिबीचमा राजा त्रिभुवनको देहावसान र महेन्द्रको राज्यारोहण भयो । त्यसपछि भने महेन्द्रले केही समयको लागि मातृकालाई पदच्युत गरेर सत्ताको बागडोर आफै लिए । चुनावको लागि नेपाली कांग्रेसको निरन्तर दवाव वावजुद त्यसपछि कहिले डा. के आई सिं त कहिले टंकप्रसाद आचार्यलाई अल्पकालिन प्रधानमन्त्री बनाएर संविधान सभा टार्नै तिर लागेको देखिन्छ । उनको मनसुवा रहेछ राजा केन्द्रित शक्ति राखेर संविधान आफैंले जारी गर्ने र त्यही संविधान अनुसार संसदको निर्वाचन गराउने । उनको त्यो मनसुवा त्यतिखेर प्रकट भयो जव नेपाली कांग्रेसले निर्वाचनको माग राखी २०१४ सालमा भद्र अवज्ञा आन्दोलन गरे । उनले संविधान जारी गरे । त्यस बखत बी.पी. द्धिविधामा पर्नु भयो र अन्त्यमा उहाँ सहमत हुनुभयो– कम्तिमा प्रजातान्त्रिक अभ्यासको शुरुवात त हुन्छ भनेर । पार्टीमा सहमती गराउनु भयो र राजाले ने.का.का नेता सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाए । देशमा राणा शासनको अन्त्य गरी राजालाई वास्तविक राजा बनाउन सशस्त्र जनक्रान्ति गर्ने पार्टी नेपाली कांग्रेस चुनाव गराउन सत्तामा आउन ७ वर्ष लाग्यो । राजाले धेरै घुमाए । यो बीचको इतिहासमा नेपाली कांग्रेस र बी.पी. कोईराला दोषमुक्त छन् । यो बीचमा जे जति गलत काम भए त्यसको दोषी राजा स्वयम् छन् । प्रजातन्त्रलाई असफल पार्न राजा स्वयम् लागि परेका छन् तर उनैका चाटुकारहरु प्रजातन्त्र अफापसिद्ध भनेर लेख्दै थिए ।
२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । बी.पी. कोईराला प्रधानमन्त्री बन्नु भयो । भुमिसुधार र सामाजिक सुधारको कार्यक्रमहरु ल्याईए । विर्ता उन्मुलन, जग्गामा हदबन्दी र छुवाछुत आदिको अन्त्यको घोषणा भयो । आवधिक योजनाको शुरुवात भयो । राष्ट्रिय योजना आयोगको बैठकमा “तपाईंहरुले योजना बनाउँदा एउटा घेरो फाटेको टोपि लाएर हलो जोती रहेको किसानको फोटोलाई” हेरेर योजना बनाउनुस् भन्ने उक्तिले ग्रामीण विकासमा वी.पी.को सपनाको उजागर गर्छ । यस्ता लोकप्रिय कार्यक्रमले राजा र समाजमा रहेका शोषक सामन्तहरुलाई असैह्य हुन पुगेको हुनु पर्छ । डेढ वर्षको कार्यकालमै राजाले संसद भंग गरि बी.पी.लाई ८ वर्ष थुनामा राखे । जनताकोलागी काम गर्ने व्यक्ति प्रजातन्त्र विरोधी की प्रजातन्त्रको घाँटी निमोठ्ने प्रजातन्त्र विरोधी ? प्रजातन्त्र असफल पार्ने स्वयम् राजा, अनि दोष व्यवस्स्थालाई ?
सञ्चार माध्यम पञ्चायतको हातमा अनि कांग्रेसलाई प्रतिबन्धित गरिदिए पछि वी.पी.को कार्यकालको कामहरुको चर्चा त्यती हुन पाएन । राजाले महेन्द्रले ल्याएका कार्यक्रमहरु तिनै हुन जो वी.पी.ले ल्याउनु भएको थियो । शासनमा पञ्चहरुको रजगज चल्न थालेपछि पञ्चहरुले राजाको जय जयकार गर्ने र कांग्रेलाई एकोहोरो गाली गर्ने भन्दा अरु केही काम थिएन । यस्तो कार्यमा नेपालका कम्युनिष्टहरु पनि लागेकै हुन् । शायद कांग्रेसको अवसानमा आफ्नो उदय देखेका होलान् तर सतहको राजनीतिमा आउन नेपाली कांग्रेसको हात समाएर आउनु परेको वास्तविकता त छँदैछ । राजाले जत्रै घात गरेता पनि नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र छोडेन । छोडेको दिनमा राजा रहेन । एक पटक बी.पी.ले सिमित मान्छेलाई भन्नु भएको एउटा कुरा हालसालै चर्चामा आएको छ । कुनै एउटा देशका एजेण्टले उहाँलाई–तपाईं राष्ट्रपति बन्नुहोस्, हामी सघाउँछु भनेका रहेछन् । उहाँले हुन्छ पनि भन्नु भएन छ र हुन्न पनि भन्नु भएन छ । हुन्छ नभन्नुको कारण त उहाँ तयार हुनुहुन्नथ्यो र त्यो नेपाली कांग्रेसको उद्धेश्य विपरित पनि हुन्थ्यो, हुन्न नभन्नुको कारण चाहीं फेरि अर्को पात्र खोज्न सक्छ कि भन्ने उहाँलाई शंका लागेको रहेछ । तर त्यो त्यत्तिकै टरेर गयो भनेर उहाँले भन्नु भएको थियो रे ! युवाहरुलाई उहाँले भन्नु भएको थियो, देशमा राजा लखेट्दैमा प्रजातान्त्रिक व्यवस्था बहाली भै हाल्छ भन्ने केही ग्यारेण्टी हुन्न, उहाँले ईरानका राजा साह पहल्वीलाई त्यहाँका युवाहरुले सत्ताच्युत गर्दा ईरानको सत्ता धार्मिक अतिवादीको हातमा पुगेको दृष्टान्त दिनुहुन्थ्यो । राजाले यस्तो कुरा बुझेनन् । पञ्चहरु राजाको आडमा शासन गर्थे । अहिले न राजा रह्यो, न पञ्चायत रह्यो । एउटा स्पष्ट विचार र दर्शनको घाँटी निमोठ्दा भोग्नु परेको यथार्थ हो यो ।
२०२५ सालमा जेल मुक्त हुनु भएपछि उहाँ भारत निर्वासनमा जानु भयो । २०२८ सालको सशस्त्र जनक्रान्तिको असफलतापछि उहाँलाई मृत्युदण्ड सम्मको सजाय हुन सक्ने मुद्धा अदालतमा चली रहँदा समेत २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनु भयो । कांग्रेसले हतियारबन्द सशस्त्र क्रान्ति त्याग गरिसकेको थियो । तर पञ्चहरु बी.पी.लाई फाँसीको माग गर्दै एअरपोर्टमा ओर्लनै नदिने षडयन्त्रमा थिए । अवतरणपछि सिधै जेलमा लगिइनु भयो । त्यत्तिखेर भर्खर भारतले सिक्किम निलेको थियो । भारतका प्रधानमन्त्री ईन्दिरा गान्धीे नेपालमा राजा र बी.पी.लाई भिडाउने दाउमा थिईन् । बी.पी.लाई सहयोग गरेको देखाएर राजासँग आफ्नो अभिष्ट पुरा गर्न खोज्ने र राजालाई खुशी तुल्याउन सीमामा नेपाली कांग्रेसलाई गतिविधि गर्न रोक लगाउने र वी.पी. निवासलाई निगरानीमा राख्ने जस्ता काम गराउन थालिन् । योदेखि राष्ट्रियता खतरा परेको महशुश गरेर खतरा मोलेर नेपाल आउनु भएको कुरा उहाँले सार्वजनिक रुपमा व्यक्त गर्नु भएको छ । उहाँले त्यही बेला भन्नु भएको हो, “राजाको घाँटी तल मेरो घाँटीमाथि” जस्को लागी गर्धन थाप्नु परे पनि थाप्छु भनेर उहाँ नेपाल आउनु भयो, उसैले फेरि उहाँलाई जेल पु¥यायो । वास्तवमा वी.पी.को नेपाल फिर्तीले ईन्दिरा गान्धीको तत्कालको लागि खेल समाप्त भएको थियो । नेपाली कांग्रेसले गर्दन थाप्न छोडेपछि नतिजा त अप्रिय आयो । अनि पञ्चायतले मूल्याङ्कन गरेको चाहिँ–नेपाली कांग्रेस यसका नेता र कार्यकर्ता चाहिँ अराष्ट्रिय तत्व !
२०३७ सालको जनमत संग्रहपछि राजाले बहुदल पक्षको जनमतको कदर गरेनन् । ५४ प्रतिशत मतलाई स्थायी जनमत ठानेर ४६ प्रतिशतलाई बेवास्ता गरियो । राजाले सुधारिएको निर्दलीय पञ्चायती व्यवस्थाको संविधान जारी गरे । बहुदल पक्षको उपेक्षा गरेर संविधान जारी गरियो । संविधान जारी भएपछि बी.पी.कोईरालाले टिप्पणी गर्नु भएको थियो –अब पञ्चायतको आयु सकियो, संविधान १० वर्ष पनि चल्दैन । यो संविधानले स्वार्थी जमातलाई मात्र समेट्छ । राष्ट्रवादी मान्छेको त्यहाँ अट्न सक्ने ठाउँ रहंदैन । विदेशीका एजेन्टहरुको हातमा गयो शासन । नभन्दै संविधान जनताले २०४६ सालमा च्याती दिए । त्यो भन्दा अगाडी प्रधानमन्त्री सुर्यबहादुर थापामाथि अविश्वास प्रश्ताव पारित हुन र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुन दरवार स्वयम् लाग्न परेको कुरा जगजाहेर छ । राजा वीरेन्द्रको पालामा एउटा समय यस्तो थियो, पञ्चायत भनेकै सुर्यबहादुर थापाको लागि हो । एउटा भुईंफुट्टा वर्ग सत्तामा ! अनि संवैधानिक राजतन्त्र र समाजवादी राजनीतिक चिन्तन् र दर्शन बोकेको मान्छे चाहिँ जेलमा !
२०१६ सालमा बी.पी. कोईराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भएर चीन भ्रमणमा जानुहुँदा उहाँले चीनसँगको सगरमाथा विवाद सुल्झाउनु भयो । द्धिपक्षिय सौहाद्र्र वार्तालापबाट नेपाल र चीनलाई एक–अर्काको असल छिमेकीको रुपमा स्थापित गर्न सफल हुनुभयो । त्यस्तै एक पटक भारत भ्रमण पनि जानु भएको थियो । तर भारत भ्रमण जानु अघि नेकपाको महासचिव केशरजंग रायमाझीलाई बोलाई रु. दश हजार थमाउनु भएछ । केशरजंग रायमाझीले नमागिएको पैसा पाएपछि बी.पी.लाई सोध्नु भएछ–यो रकम किन ? के का लागि ? बी.पी.ले जवाफ दिनु भएछ–हेर्नुस रायमाझी ज्यु, म भारत भ्रमणमा जाँदैछु, त्यहाँ मलाई धेरै सन्धि सम्झौता गराउने कोशीश हुनेछ । म त्यहाँ गएपछि तपाईंहरुले यहाँ मेरो सडक विरोध गरिदिनु प¥यो, त्यसो भएपछि उनीहरुले कर लगाउन सक्ने छैनन् । राष्ट्रलाई अहित हुने काम मबाट हुने छैन । त्यस्तै भारतीय प्रधानमन्त्री नेहरुले एक पटक नेपालको हिमालय पर्वतसम्म भारतको सुरक्षा चासो छ भनेर अभिव्यक्ति दिँदा विश्वेश्वर प्रसादले ठाडै प्रतिवाद गर्दै भन्नु भएको थियो–नेपाल स्वतन्त्र एवम् सार्वभौम मुलुक हो नेपालको भूमिमा कसैले चासो राख्न जरुरी छैन भनेर निन्दा गर्नु भयो । त्यसपछि नेहरुले भारतीय लोकसभामा आफ्नो अभिव्यक्ति फिर्ता लिनु भएको थियो । नेहरु प्रधानमन्त्री भएपछि उनले फरवार्ड पोलिसी लिएका थिए । त्यसको अर्थ थियो–भारतसंग सीमा जोडिएको साना तथा कमजोर मुलुकहरुलाई आफुमा गाभ्ने । बी.पी.को राष्ट्रवादी छविको कारणले उनको त्यो चाहना पुरा हुन सक्ने सम्भावना थिएन । बी.पी.को अन्तर्राष्ट्रिय व्यक्तित्व र सम्पर्क स्थापित भएको थियो । भारतमै पनि डा. राममनोहर लोहीया, जय प्रकाश नारायणजस्ता प्रभावशाली समाजवादी नेताहरु बी.पी.का मित्र थिए । नेपालमा प्रजातान्त्रिक प्रकृया र विकासको कार्यक्रमहरु बढ्दै जाँदा त्यो सम्भावना झन् दुर हुँदै जाने भएकोले नेहरु वी.पी.लाई सत्ताच्युत गराउने मनस्थितीमा थिए भन्ने कुरा जानकारहरु बताउँछन् । यता राजा महेन्द्रको सत्ता लिने महत्वाकांक्षाले यी दुईको मत मिलेको पनि जानकारहरु बताउँछन् । र यता नेपाली कांग्रेसकै केही स्वार्थी नेताहरु जस्तै तुलसी गिरी र विश्वबन्धु थापा समेत राजाको मतियार बनेपछि त्यो षडयन्त्र सफल भएको देखिन्छ । यस घटनाले एउटा समृद्ध र सार्वभौमसत्ता सम्पन्न मुलुक निर्माण गर्न प्रतिबद्ध राष्ट्रवादी नेताको चीरहरण हुँदा मुलुक धेरै पछि परेको छ । इतिहास लेख्नेले खै के लेखे ?
नेपालको सन्दर्भमा बी.पी. कोईरालाले परिकल्पना गर्नु भएको राजनीतिक विचार प्रजातान्त्रिक समाजवाद हो । उहाँले पार्टीमै पनि समाबेशी प्रतिनिधित्व गराउनु भएको थियो । धनमानसिं परियार र परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनु भएको थियो भने उहाँ जन निर्वाचित प्रधानमन्त्री हुनुहुँदा द्धारिकादेवी ठकुरानीलाई मन्त्री बनाउनु भएको थियो । भनेपछि समाबेशी चरित्रको प्रयोग उहाँले देखाई सक्नु भएको छ । बी.पी. कोईरालाले समाजका यावत पक्षहरुलाई समेटेर पूर्र्ण आर्थिक तथा सामाजिक विकास गर्न प्रजातान्त्रिक समाजबादी चरित्रको राजनितिक व्यवस्था अपरिहार्य छ भनेर दृढ विश्वास राख्नु हुन्थ्यो । राजनीतिक स्वतन्त्रताविना व्यक्तिले बैयक्तिक स्वतन्त्रता हासिल गर्न सक्दैन र बैयक्तिक स्वतन्त्रताविना मानिसले कुनै पनि क्षेत्रमा आफुलाई मनमा लागेको विषयमा क्षमता हासिल गर्न सक्दैन । राज्यले विशेष गरेर शिक्षामा, रोजगारमा, स्व–उद्यम आदिमा विशेष ध्यान दिएर उपयुक्त वातावरण बनाई दिने र हरेक क्षेत्रमा अवसर जुटाई दिने हो, बाँकी नागरिकहरुले प्राप्त अवसर अनुसार आफ्नो क्षमता प्रयोग गरेर आर्थिक संवृद्धि हासिल गर्ने भन्ने नै यसको मर्म हो । यसले नागरिकको क्रियाशिलतामा गुणात्मक बढोत्तरी ल्याउँछ । यसको विपरितमा जाने हो भने क्रियाशिलतामा शिथिलता निश्चयनै ल्याउँछ । फलस्वरुपः यसको नतिजा पनि शिथिल नै हुन्छ । यसको अलावा स्वास्थ्य र सार्वजनिक उपयोगका अन्य चिजहरु राज्यले विकास गर्ने र जनहितमा प्रयोगमा आउन सक्ने बनाउने हो । त्यसैले उहाँले परिमाणमा समानता हैन अवसरमा समानता भन्ने गर्नु भएको छ । संसारमा भएको विविध राजनितिक प्रयोगले यही सिद्ध गरेको छ । यसको लागि प्रजातान्त्रिक व्यवस्था अपरिहार्य भएको कुरो जगजाहेर छ । तर विडम्बना, हामी धेरै पछि प¥यौं ।
अहिले देशमा लोकतन्त्र आएको छ । त्यो लोकतन्त्रले सँगसँगै विकृती पनि ल्याएको छ । त्यो राजनीतिक व्यक्तित्वहरुमा भएको बेईमानीले गर्दा त्यस्तो अवस्था सिर्जना हुन गएको हो । शासकिय स्वरुपमा भएको कमिकमजोरी पनि केही हदसम्म दोषी हुन सक्छ । २०४७ सालपछिको राजनीतिक अस्थिरताले पनि यो कमिकमजारी ल्याएको हो । यत्तिखेर भन्न सकिन्छ, २००७ सालपछि या २०१७ सालमा राजीनतिक दुर्घटना नभएको हुँदो हो त आज हामी विकसित मुलुकको कोटीमा पुगी सक्थ्यौं होला ।