बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • लक्षित वर्गको लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ ।

    समिकरण न्युज २०७७, २४ भाद्र बुधबार १७:०० पढ्न लाग्ने समय 3 मिनेट


    चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि स्थानीय तहले बजेट तथा कार्यक्रम ल्याएका छन् । ती बजेट तथा कार्यक्रमले लक्षित वर्गलाई कसरी समेटिएको छ त ? र उनीहरुको सहभागिताको विषयमा तारकेश्वर गाउँपालिका नुवाकोटकी उपप्रमुख तारादेवी रिमालसँग गरिएको कुराकानी ।

    आर्थिक वर्ष २०७७÷०७८का लागि तपाईको स्थानीय तहले लक्षित वर्गका लागि कति बजेट ल्याएको छ ? के कस्ता कार्यक्रम छन् ?

    तारकेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा लक्षित वर्गको लागि भनेर ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लक्षित वर्ग अन्तर्गत पर्ने महिला, जनजाती, अपाङ्गता भएका व्यक्ति, दलित लगायतका पक्षलाई कतिकति बजेट दिने भनेर छुट्टाइसकेको अवस्था भने छैन । उहाँहरुको मागको आधारलाई मध्यनजर गर्दै जिविको पार्जनमा सहयोग पुराउने गरि बजेटको कार्यान्वयन गर्ने योजना बनाएका छौँ । हाम्रो गाउँपालिका ग्रामीण भेग भएको र सबैको जीवनशैली कृषिमा नै जोडिएको हुनाले कृषि भेटनरी सम्वन्धी तालिमलाई प्राथमिता दिने सोच पनि रहेको छ । लक्षित वर्गको लागि विनियोजन गरिएको बजेटलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नेछौँ ।

    कोरोना भाईरसको महामारीका कारण परिस्थिति सहज थिएन । यो वर्षको लक्षित वर्गका लागि बजेट तथा कार्यक्रम बनाउँदा लक्षित वर्गलाई सहभागि गराईयो कि गराइएन ?
    बजेट निर्माणको क्रममा लक्षित वर्गलाई विशेष प्राथमिकता दिएर उहाँहरुको मागको बारेमा जानकारी लिन समुदाय स्तरमा नै गएका थियौँ । वडा भेला मार्फत लक्षित वर्गको आवस्यकताको आधारमा योजना ल्याउनु होला भनेर गाउँपालिकाले वडावडालाई समेत आग्रह गरेको थियो । कोरोना भाइरसको कारण व्यापक रुपमा नागरिकहरुसँग छलफल गर्ने वातावरण नभएता पनि गाउँपालिकाकै तर्फबाट आमा समूहहरुको सहभागिता हुने गरि आवस्यकता र मागको बारेमा जानकारी लिएका थियौँ । यसरी उहाँलाई सहभागिता गराएर बजेट बनाएका हौँ । लक्षित वर्गको लागि छुट्टाइएको बजेट सहि तरिकाले कार्यान्वयन हुनेछ भन्नेमा ढुक्क छु ।

    लक्षित वर्गका लागि छुट्याइएको बजेटको बारेमा लक्षित वर्गका नागरिकलाई जानकारी गराउनु भएको छ कि छैन ?
    लक्षित वर्गको लागि भनेर ६० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । तर शिर्षक छुट्टाउन बाँकी रहेको छ । शिर्षक छुट्टिए पछि उहाँहरुलाई जानकारी गराउनु हाम्रो कर्तव्य हो । जानकारी गराउछौँ नै । शिर्षक छुट्टाउदा आवस्यकता र उहाँहरुको क्षमतालाई विशेष ध्यान दिनेछौँ ।

    आफ्नो स्थानीय तहले लक्षित वर्गको लागि के कस्ता बजेट तथा कार्यक्रम ल्याएको छ भनेर थाहा पाउन खोजे भने कसरी थाहा पाउन सक्छन् ? संयन्त्र के छ ? नागरिकले थाहा पाउनु पर्छ कि पर्दैन यसबारेमा ? पर्छ भने किन ?
    सूचना प्राप्त गर्न पाउनु नागरिकको हक हो तर प्रचारवाजी रुपमा हामीले सूचना प्रवाह गर्दैनौँ । नागरिकको नजिकको सरकारको रुपमा स्थानीय सरकारलाई लिने गरेका छौँ । नागरिकको स्थानीय सरकार भन्दा नजिक वडा कार्यालय हो । बजेट तथा योजनाहरु वडागत रुपमा उपलव्ध गराएका हुन्छौँ । लक्षित वर्ग मात्र नभएर आफ्नो गाउँठाउँमा केकस्ता योजना र बजेट छ भनेर जानकारी लिन वडा कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ । आवस्यकता धेरै हुन्छ तर श्रोत सिमित हुन्छ । सबै टोल र नागरिकलाई चित्त बुझने गरि गाउँपालिकाले बजेट ल्याएको छ । वडा कार्यालय मार्फत सम्वन्धित निकायलाई बजेट र कार्यक्रमको बारेमा जानकारी गराउछौँ ।

    कोरोना भाईरसको यो विषम परिस्थितिमा लक्षित वर्गको बजेट तथा कार्यक्रम कार्यान्वयनमा लक्षित वर्गको सहभागिता कसरी गराईन्छ ? यसको लागि स्थानीय तहको योजना के छ ?
    अघिल्लो आर्थिक वर्षमा पनि कोरोना भाइरसको कारण लक्षित वर्गको लागि ल्याइएका कार्यक्रमहरु सम्पन्न गर्न नसकेको तितो यथार्थ छ हामीसँग । लक्षित वर्गकै सहभागितामा योजना तथा कार्यक्रमहरु वडावडामा सञ्चालन गर्ने लक्ष्य रहेको छ । अहिलेको अवस्थामा सभा सम्मेलन गोष्ठि गर्न सक्ने सम्भावना छैन । भोलीको परिस्थितिलाई मनन गर्दै उहाँहरुको सहभागितामा नै बजेट तथा कार्याक्रम कार्यान्वयन गर्नेछौँ ।

    अघिल्ला वर्षहरुमा पनि लक्षित वर्गका लागि भनेर स्थानीय तहले बजेट छुट्टाइएको थियो । ती बजेटबाट सम्पन्न भएका योजनाहरुको प्रतिफललाई कसरी लिनुहुन्छ ?
    लक्षित वर्गको लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गर्नुृको साथसाथै भवनहरु समेत निर्माण गरेका छौँ । त्यसबाट उहाँहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनुभएको छ । त्यसलाई हामी प्रतिफलको रुपमा नै लिन्छौँ । अघिल्ला वर्षहरुको बजेट, काम र प्रतिफललाई तुलना गरेर नै यो वर्षको लागि बजेट ल्याएका हौँ ।


    तपाईको स्थानीय तहमा रहेका लक्षित वर्गहरुलाई भन्नुपर्ने केही छ ?
    लक्षित वर्गको लागि आवस्यकताको आधारमा बजेट उपलव्ध गराउनेछौँ नभनि गाउँपारिसदबाट नै ६० लाख रुपैयाँ तोकेरै बजेट ल्याएका छौँ । लक्षित वर्गका समुदायलाई गाउँपालिकाले नजिकबाँट नियालेको छ । गाउँपालिकाको प्रत्यक्ष सहजिकरण मार्फत प्रतिफल प्राप्त हुने कार्यक्रममा लक्षित वर्गलाई सहभागिता गराउनेछौँ भन्ने प्रतिवद्धता जनाउन चाहान्छु ।
    (त्रिशुली खवर साप्ताहिकमा प्रकासित

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया