
तिमी सबेरै उठ भन्थ्यौ
म आङमा घाम आउन्जेल सुतिदिन्थेँ,
तिमी पुजापाठ गर भन्थ्यौ
म ओछ्यानबाटै भोक लाग्यो भनिदिन्थेँ,
तिमी चुलोचौका सम्हाल्न सिक भन्थ्यौ
म सन्चो भएन भनेर बसिदिन्थेँ,
तिमी खाना पकाएर खान आउ भन्थ्यौ
म भोक छैन भनेर सुतिदिन्थेँ,
आँखामा आँसु टिलपिल पार्दै
तिमी सम्झाउँथ्यौ
जिन्दगी यसरी चल्दैन छोरी भनेर,
म हाँस्दै टारिदिन्थेँ
जस्तो पर्छ त्यस्तै टर्छु भनेर ।
तिमी खेतबारीमा हिँड भन्थ्यौ
म हतारमा पुस्तक हातमा लिएर पढ्दैछु भन्थेँ,
तिमी एक गाग्रो पानी भर भन्थ्यौ
म पानी धेरै पियो भने चिसो लाग्छ भन्थेँ,
तिमी मेलापात,घाँसदाउरा गर्न सिक भन्थ्यौ
म हातगोडा सुन्निन्छ,दुख्छ भन्दै पन्छिन्थेँ,
तिमी सम्झाउँथ्यौ आमा
आफुले भोगेका दुस्खका कहानी सुनाउँदै
म आफ्नै जिद्दी गर्दै भन्थेँ
म जागिर गरेर जिन्दगी धान्छु आमा
मेरो भविष्यको चिन्ता नलेउ भनेर ।
तर….आमा
जब जिन्दगीको नयाँ अध्याय सुरु भयो
बिस्तारै बुझ्न थालेँ तिम्रो आँखाको भाका,
तिम्रो थकित सुस्केराको अर्थ,
तिम्रो ममता,
तिम्रो गालिमा मिसिएको माया,
तिमीले सुनाउने तिम्रो जिन्दगीको
कहाली लाग्ने कथाको तात्पर्य,
सन्तानको रुखो वचनले दुख्ने मन
र,भिज्ने परेलिको व्यथा।
आमा
हिजोआज बुझ्ने बनेकी छे हजुरको छोरी,
तिमीले जस्तै लुकाउन सक्छे आँखामा आँसु,
सबै पीडा भुलेर फुलाउन सक्छे ओठमा मुस्कान,
मन दुख्दा गाँस नटिपेरै अघाउन सक्छे दुई(चार दिन,
रिसलाई गाँठो पारेर देखाउन सक्छे हाँसो,
आफ्नाका यादहरुले पिरोल्दा
अनिदोमै कटाउन सक्छे रात,
हो,आमा
साँच्चै बुझ्ने भएकी छ तिम्रो छोरी,
तिमीले झैँ हाँसिहाँसी बिताउन सक्छे अब यो जिवन ।
लक्ष्मी श्रेष्ठ
दुप्चेश्वर नुवाकोट ।