बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • सुझाव संकलन पेटीका मार्फत प्रहरी सेवाको कमी, कमजोरी तथा त्रुटी औल्याउन पाइने

    समिकरण न्युज २०७७, १ आश्विन बिहीबार १९:४७ पढ्न लाग्ने समय 1 मिनेट

    प्रहरी सेवा संचालनमा रहेका त्रुटी, कमी, कमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यक्तानुसार सुधार गरी सुदृढ बनाउने उदेस्य सहित नुवाकोटको विदुर नगरपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।
    प्रहरी कर्मचारीसँग सम्वन्धित गुनासो तथा सुझाव संकलनको लागि उक्त पेटी राखिएको हो । प्रहरी सेवालाई परिमार्जन गर्दै नागरिकलाई प्रदान गरिने सेवालाई गुणस्तरीयता दिन जिल्ला प्रहरी कार्यालय नुवाकोटले नगरपालिकासँगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो । विदुर नगरपालिका सहित बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।
    बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालीका १, उपमहानगरपालीका १, नगरपालीका २५ र सदरमुकाममा रहेका गाउँपालीकामा १ गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको हो ।
    नागरिकबाट प्राप्त हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटीका राख्ने कार्यक्रम तय गरेकोछ ।
    कार्ययोजना भएको व्यवस्था अनुसार प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी २८ वटा स्थानीय तहमा, दोस्रो चरणमा ७० वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएकोछ । स्थानीय तहसँगको सहकार्यलाई थप दरिलो बनाउदै दीगो र दिर्गकालीन साझेदारीको संयन्त्र निर्माण गर्ने र सर्वसाधारणको प्रहरी प्रतिको बिश्वासमा अभिबृद्धि गर्ने मुख्य उदेस्य सहित सुझाव पेटिका राखिएको हो ।
    प्रत्येक महिनाको १ गते सम्बन्धित पालीकाका प्रतिनिधी तथा जिल्ला प्रहरी कार्यालय वा नजिकको युनिटका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु निकाली दस्तखत सहित खामबन्दी गरी संकलन गरिने बताइएको छ । उक्त पत्रहरु प्रदेश प्रहरी कार्यालयको लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यता समेतलाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षित साथ जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न पालीकाहरुबाट एकमुष्ठ संङ्कलन गरी बागमती प्रदेश प्रहरी कार्यालयलाई उपलव्ध गराउनुपर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    #अपराध

    फेसबुक प्रतिक्रिया