विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा जन्मिएर कलाकारिता पेशा अङ्गाल्दै आउनुभएका शिवहरी नेपालको लेखन तथा निर्देशनमा हास्य टेलि श्रृङ्खला “गन्जागोल” सुरु भएको छ ।
कि इन्टरटेइमेन्ट एण्ड रिसर्च प्राइभेट लिमिटेडद्धारा तयार परिएको गन्जागोल हास्य टेलि श्रृङ्खला नेपाल टेलिभिजनबाट हरेक हप्ताको सोमबार साझ ७ ः२५ बजे प्रशारण हुदै आएको छ । टेलि श्रृङ्खलाको पहिलो भाग सार्वजनिक समेत भइसकेको छ ।
उक्त टेलि श्रृङ्खलामा नेपाल सहित प्रकासकुमार स्वर्णकार, ज्योती काफ्ले, रोशनी सापकोटा, सुमनज्योती न्यौपाने, बन्दना कार्की, बबि रोजा, राजन भुजेल, हरी सापकोटा, राजु धिताल, मनिष सापकोटा, पुजन घिमिरे, सुसन राई, सिर्जना जिसी, शुसान्त पाठक, सिर्जना केसी, सिद्धिबहादुर श्रेष्ठ, पूजा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै बालकलाकारहरुमा आकृति नेपाल, रियाज काफ्ले, सिम्रन न्यौपाने लगायतका रहेका छन् ।
विद्यार्थी जीवनदेखि नै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन रुचाउने शिवहरी नेपाल विगत ५ वर्षदेखि कलाकारिता क्षेत्रमा भविष्य खौज्दै आइरहेका छन् । “जस्तो हामी उस्तै समाज” नामक हास्य टेलि श्रृङ्खलाबाट कलाकारिता यात्रा सुरु गरेका नेपालले “रिसानी माफ”, “भद्रगोल”, “गोलमाल” हुदै “गन्जागोल” सम्म अभिनय गर्न आइपुग्नुभएको हो ।
गोलमालको लेखक तथा निर्देशक भएर “ठेकेदार” पात्रबाट स्थापित हुनुभएका नेपाल आन्तरिक कुरामा विवाद भए पछि गन्जागोल लिएर दर्शकको माझ आइपुग्नुभएको छ । यस अघि छ माया छपक्कै, कोइला, अघोरी, लक्का जवान लगायतका ठूलो पर्दामा समेत नेपालले अभिनय गरिसक्नुभएको छ ।
महजोडीको मदनबहादुर हरिबहादुर, सन्तोष पन्तको हिजो आजका कुरा लगायतका टेलिश्रृङ्खलाहरुको छाप बच्चैदेखि परेको र गाउँघरमा चर्चा पनि त्यसैको हुने गरेकोले भविष्यमा कलाकार नै बन्छु भन्ने सपना समेत देखेको उहाँको भनाई रहेको छ । बाल्यकालमा देखेको सपनालाई साकार पार्न तल्लिन रहेको भन्दै उहाँले भन्नुभयो, “अन्य कलाकारले जस्तो हसाउन सक्दिन तर प्रयास जारी छ । हास्य टेलिश्रृङ्खलाबाट नै प्रभावित भएको हुनाले हास्य तिर नै लागिएको हो ।”