
ईश्वरी रिमाल, चारघरे नुवाकोट ।
आज देश गणतान्त्रिक शासन व्यवस्थामा संचालित छ । संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरी सबै जनतालाई गाउँ गाउँमा सिंहदरबार महशुस गराउन हामीले चुनेर पठाएका व्यक्ति सरकारमा छन्, ठूला ओहदामा छन् । देशमा जनप्रतिनिधि फेरिए , व्यवस्था फेरियो तर पनि जनताको दुःख फेरिएन ।
हामी सधैं दुखी छौ, गरीब छौ । देशमा जस्तासुकै परिवर्तन आएर कायापलट भएपनि हामी सधैं उस्तै भयौ। व्यवस्था बदलिएजस्तै हामीपनि उसैगरी बदलिनै सकेनौं । म सोच्छु, मेरा बा शरीरले थेग्ने भन्दा ज्यादा परिश्रम गर्छन् । तर आँखै अगाडि देख्छु सधैंभरि मेलापात गर्दा पनि हात मुख जोड्न मुश्किल नै छ । यहाँ दिनभर स्कूलमा काम गर्ने कार्यलय सहयोगीले आफ्नो छोराछोरी पढाउन मुस्किलले सक्छ, व्यवस्था फेरिदै गर्दा व्यवस्था फेर्ने शासक धनी हुँदै गए , तर हाडछाला घोटेर काम गर्नेहरू झनै गरीब भएका छन् । यस्तो भएको हाम्रो भाग्य नभएर पक्कै होइन , कर्म नगरेर पनि होइन, हामी गलत शासन व्यवस्था , शैलीको सिकार भएका हौं । चुनाव नजिकिदै गर्दा भोटका निम्ति हाम्रा झुपडीमा आउने जनप्रतिनधिहरु ठूला भाषण गर्दै आस्वासन बाड्छन् । तर यिनले जे भन्छन् त्यो गर्दैनन्, जे गर्दिन भन्छन् त्यही गर्छन् , यिनले आफ्नो र आफ्ना का लागि मात्र गर्छन् ।
आज नेता बनेर हिँडेका हरुले हिजोको राजतन्त्रा्मक शैलीको अनुशरण गरेझै लाग्छ , चिल्लो गाडी लिएर गाउँघरतिर संचालित कार्यक्रममा आउँछन् नेताज्यूहरु ! झकिझकाउ मञ्च निर्माण गरी कार्यक्रम गरिन्छ, मञ्च बनाउँदा झै गाउँबस्तीका सडकमा खट्ने हो भने कस्ता बन्थे होला गाउँबस्ती? संघीयता सगै देशका राजनीतिज्ञ ले काँचुली फेरे, धेरै राजनीतिक कार्यकर्ता नेता बन्ने अवसर पाए, नेताका नजिककाले जागीरको अवसर पाए तर संघीयताको छनक संघीयताकै लागि प्राणको आहुती दिने गरीब जनताले महसुस गर्ने पाएनन् । नेपालमा कुल जनसख्याको दुई तिहाइ जनसंख्या कृषि मा आश्रित छन् । कृषि मा आधारित अर्थतन्त्र वर्तमान अवस्थामा वृद्धि हुन सकिरहेको छैन । हरेक वर्ष बजेट विनियोजन हुँदा विकासे तथा कृषि अनुदानमा करोडौं बजेट निकासा हुन्छ, तर कृषिमा जीवन खोजिरहेका जनताको पहुँचमा पुग्ने खालको, उनीहरूले महसुस गर्न सक्ने खालको राहत जनताले पाउन सकेनन् । बर्खा झरीमा बिकासे ठेकेदारले डोजर चलाउँछन् बिकासे बजेट खर्चका लागि, ती बाटोघाटोको आफ्नै मिति हुन्छ, जब मिति सकिन्छ ती आफ्नै पुरानै स्वरुपमा आउछन् । यसो गर्दा ठेकेदार र नेता धनी हुदै गए तर कृषि पेशालाई धर्म मानेर कृषिलाई नै जीवन बनाएका कृषकलाइ नै आहत पुग्ने गरि उनीहरुको खेतको सिचाइ को लागि चाहिने पूर्वाधार नस्ट गरि कृषियोग्य भुमिलाइ बाढी, पहिरोमा समाहित गरिन्छ ।
जब किसान राहतको लागि नेतृत्व सग राहत को आशा गर्छन् तब सरकारले वितरण गरेको बजेट गरिब जनता सम्म आइपुग्दैन र त संघीयता को घामले गरिब जनतालाइ छुन सकेन । जति छोपे पनि सत्य छोपिदैन भनेझैं शोषण, अन्यायले सिमा नाघेपछि न्याय ,समानता हर–कोहीले माग राख्छन् । यो जाएज पनि छ, देशमा ब्यवस्था बदलिए जस्तै समाजमा नयाँ ब्यवस्था कायम भए झै समाजका निम्सरा बर्ग छोरी चेली एकल महिला अझै पनि अन्यायमै छन् । बलात्कार, तेजाब प्रहार र महिलालाई खेलौना सम्झिने, बोक्सि घरेलु हिंसा जस्ता निन्दनीय काममा कमि होइन झन बढवा हुँदै गइरहेको छ। जनताको आधारभुत पाटोमा उभिएर गरिएको राजनीतिज्ञ ले यस्ता कुरामा नजरअन्दाज गर्न मिल्छ ?
बिगतको समाजले जे भोग्यो आज पनि त्यहि पिडा भोग्न बाध्य छ । नेपाली समाज ! हिजोको दिनलाइ साक्षी राखेर आज सपना देख्ने हो भने भोली सुनौलो बिहान झुल्किन सक्दैन र ? त्यसैले ब्यक्ति, सस्था धनी हुने भन्दा पनि नेतृत्व को राजनीतिले समाजको परिवेशलाई रुपान्तरणको बाटोमा अघि बढाउनु पर्ने देखिन्छ । यहा कत्ति आमाले यहि देशको लागि आफ्नो प्राणभन्दा प्यारो छोरालाई देशकै लागि बलिदानी चडाइन् । तर आज ती आमाको इज्जत लुटिदा, बोक्सीको आरोप लाउदा र तिनको अस्मितामाथी प्रश्न उठे बोलिदिने न समाज भेट्न सकिन्छ , न त समाजमा अग्रस्थानमा रहेका नेतृत्व नै ! गरिबको पक्षमा लडेर विजयी भएपछि जनप्रतिनिधिहरु सायद यि सबै कुरा बिर्सन्छन !
अब गलत विचार, तुच्छ व्यबहारलाई त्याग्नु पर्ने बेला आएको छ । यहाँ राज्यको मुख्य ओहदामा रहेका ब्यक्तिको कार्यक्षेत्र को हिसाब किताब मिलाउदा मिलाउदै वर्तमान अबस्थामा मौलाउदै गएको ब्यथिति ब्यभिचारिपन र प्रबृत्ति र अकल्पनिय हत्या , हिंशा ,पटक पटक देखिएको प्राकृतिक समस्या र जोखिम न्यूनिकरणमा सरकारको ध्यान पर्याप्त पुगेन । उनीहरु पद, प्रतिस्ठा र प्रसंशाको खेतीमै हराउदै गए । त्यसैले सरकार जुनसुकै शासन ब्यबस्था र शैलीलाई अनुसरण गरेर अघि बढेपनि जनतालाइ ती ब्यबस्थाले छुन सकेन र त नेपाली जनता सधै दुखी नै भए ।
(त्रिशुली खवर साप्ताहिकमा प्रकासित)