शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • बजेटको सदुपयोग गराउन नागरिकको सक्रिय सहभागिताको आवस्यक छ ।

    समिकरण न्युज २०७७, २६ आश्विन सोमबार १३:३५ पढ्न लाग्ने समय 4 मिनेट

    यतिबेला कोरोना भाईरसको महामारीले गर्दा हाम्रो समुदाय जोखिममा छ । कोरोना भाईरसको यो महामारी नियन्त्रणमा यति बेला सबैको ध्यान त्यतातिर छ । स्थानीय तहले पनि यसको रोकथाम तथा नियन्त्रणका लागी विभिन्न कार्य गरिरहेका छन । साथै कोरोना महामारीका बिच स्थानीय तहले आर्थीक वर्ष २०७७÷०७८ को बेजट तथा कार्यक्रम पनि ल्याईसकेका छन । एकातिर कोरोनाको संकट छ भने आर्थीक वर्ष २०७७÷०७८ को योजना कार्यान्वयनमा लैजानु पर्ने चुनौति पनि स्थानीय तहलाई छ । हुनत अघिल्ला वर्षहरुमा पनि योजना कार्यान्वयन समयमै सुरु नहुँदा आएका कार्यक्रम तथा बजेट फ्रिज जाने गरेको थियो । यो पाली परिस्थित झन फरक छ । यो वर्ष पनि बजेट तथा योजना कार्यान्वयनको अवस्था पहिलेका वर्ष झै ढिलो गरी सुरुहुने देखिएको छ । आर्थिक वर्षको ४ महिना बितिसकेको अवस्थामा, योजना कार्यान्वयनको अवस्था के छ ? सुरुभयो कि भएन ? कोरोना रोकथाम तथा नियन्त्रणकासाथै योजना कार्यान्वयनको काम कसरी अघि बढीरहेको छ लगायतका विषयमा किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र लामासँग गरिएको कुराकानी ।

    चालु आर्थिक वर्षको समग्र बजेट र प्राथमिकतामा परेका योजनाहरुको बारेमा छोटो बताईदिनुस् न ?
    चालु आर्थिक वर्षमा विशेष गरी कोभिड लक्षित बजेट निर्माण गरेका छाँै । त्यसमा बिशेष गरी हामीले स्वास्थ्य, सरसफाई र जनचेतनाको कुरा त छदै छ, विगतमा पनि गर्दै आएका हौँ । अहिले पनि त्यस सम्वन्धी कार्यक्रमहरु समावेश गरेका छौँ । अझ त्यसलाई थप प्रभावकारी ढङ्गले अगाडी बढाउनको लागी हामी प्रयत्न गरिरहेका छौँ । कोभिडको कारण वैदेशिक रोजगारमा रहेका र अन्य विभिन्न शहरमा रोजगारको क्षेत्रमा कार्यरत रहेका युवाहरु रोजगार गुमाएर आएका छन् । उनीहरुलाई समेटेर युवा लक्षित कार्यक्रमहरु पनि ल्याएका छौँ । त्यस्ता कार्यक्रमहरुमा युवाहरुलाई परिचालन गरेर थोरै भए पनि राहत पुग्ने किसिमले बजेट निमार्ण गरेको छौ । विभिन्न किसीमको सुधारात्मक कार्यक्र्रमहरु छन्, जसमा युवाहरुकोे प्रत्यक्ष संलग्नता रहनेछ ।

    बजेट कति हो यो वर्षको ?
    हाम्रो बजेट त समग्रमा हेदा ठूलो भोलम को देखिन्छ । ४३ करोड रुपैयाँ चानचुनको बजेट हो । यद्यपी हामीले विकास निमार्णमा लगानी गर्ने भनेको बजेट चार करोड रुपैयाँ मात्रै हो ।

    अनि स्थानीय तहमा योजना कार्यान्वयनको काम सुरु भइसकेको छ कि छैन ?
    योजनाहरु कार्यान्वयन हुन थालिसकेको छ । विशेष त हामीले सानातिना योजनाहरु जुन चाहिँ वर्खाको बेलामा बाढीपहिरो लागेर बन्द भए त्यसलाई सुचारु गर्न थालिसकेका छौँ । त्यो सँगै साना लगानीका योजनाहरु दशै अगाडी नै कार्यान्वयनको चरणमा लैजाने, मिडियम खाले योजनाहरु तिहार अगाडी र बाँकी योजनाहरु तिहार पछाडी मात्र कार्यान्वयनको लागि प्रक्रिया अगाडी बढाइने गाउँपालिकाको लक्ष्य रहेको छ ।

    दशै अगाडी, तिहार अगाडी र तिहार पछाडी योजनाहरु कार्यान्वयनको चरणमा लैजाने भनेर जुन योजना छ गाउँपालिकाको । लक्ष्य अनुसार काम सम्पन्न गराउनको लागि गाउँपालिकाको विशेष पहल के छ ?
    अघिल्ला वर्षहरुमा संघ प्रदेशबाट प्राप्त हुने योजनाहरु माघ फागुन सम्म पनि आएको हुदैन थियो । संघ, प्रदेशबाट विभिन्न अनुदानबाट प्राप्त गर्छौ । वित्तिय समानिकरण, राजश्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान, शसर्त अनुदान लगायतका अनुदानहरु प्राप्त गर्छौ । संघ र प्रदेशबाट योजनाहरु छनौट भइसकेको कारणले कुनै पनि अन्योलता छैन । त्यस सँगै गाउँपालिकामा अहिले कर्मचारीको अभाव रहेको छैन । कर्मचारी प्रयाप्त भएको कारण प्राविधिक कामहरु सकिसकेको अवस्था छ । कार्यन्वयन चरणमा जानलाईे प्राविधिक, मानसिक, प्रशासनिक रुपमा पुर्ण रुपमा तयार भएर बसेका छौ

    योजनाहरु कार्यान्वयनमा लैजानको लागि देखिएका चुनौति कत्तिको छ ?
    संघ र प्रदेशबाट जति पनि योजनाहरु गाउँपालिकामा भित्रिएको छ । त्यसको बजेट समयमा नै प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने अन्यौलता अझै छ । राज्यको ढुकुटीमा पैसा जम्मा भयो भने त हामीले प्राप्त गर्ने हो नि । अघिल्लो वर्षको अनुुभवलाई हेर्ने हो भने राजस्व वाडफाडको पैसा आधा मात्र प्राप्त भयो । राजस्व बाडफाडको लगभग ५ करोड ४१ लाख रुपैयाँ गत वर्षको सिलिङ थियो, त्यसमा हामीले ३ करोड रुपैयाँ पनि प्राप्त गर्न सकेनौँ । यो वर्ष कोरोना भाइरसको कारण लामो समय देशमा लकडाउन भयो । हाल देशमा लकडाउन छैन तर आर्थिक गतिविधिले समान्य रुप लिन सकेको अवस्था छैन । त्यसकारण हामीले प्राप्त गर्ने वित्तिय समानिकरण, राजश्व बाँडफाँड लगायतका बजेट समयमा नै प्राप्त गर्न सकिन्छ कि सकिन्न भन्नेमा एउटा चुनौती छ । हामीले योजनाहरु बनाएर कार्यान्वयन तर्फ लागेका छौँ । तर कोरोना भाइरसकै कारण थप लकडाउन भएर निर्माण सामाग्रीको अभावमा काम गर्न नसकिने हो कि भन्ने डर अझै छ ।

    योजना कार्यान्वयनको सन्दर्भमा कुनै असर नपरोस् भन्नको लागि अन्य स्थानीय तहको तुलनामा तपाईको स्थानीय तहको फरक शैली केही छ ?
    स्थानीय तहहरुले संविधानलाई टेकेर योजना कार्यान्वयन गर्ने हो । असारमा बजेट सार्वजनिक गरेर साउन महिना भरिमा खरिदका योजनाहरु तयार पार्नुपर्छ । कानुन अनुसार खरिद योजना तयार पारिसकेपछि सम्वन्धित कर्मचारीहरलाई अभिमुखिकरण गराएर राख्नुपर्छ । यो विषय अन्य स्थानीय तहमा भएको छ या छैन जानकारी छैन तर हाम्रो स्थानीय तहले खरिद योजनाहरु तयार पारेर प्राविधिकलाई तयार पारिसकेका छौँ । हामीले ल्याएको योजना कुन ठेक्का प्रणालीबाट गर्ने, कुन उपभोक्ता समितिबाट गर्ने त्यसलाई हामीले विभाजन गरिसकेका छौँ । दुवै प्रणालीबाट कार्यान्वयन गरिने योजनाहरुको प्रक्रिया अघि बढिसकेको छ ।
    योजना कार्यान्वयनको सन्दर्भमा रहेर तपाईको स्थानीय तहका नागरिकहरुले कसरी सघाइरहेका छन् ?
    कोरोना भाइरसको कारण वैदेशिक रोजगारमा रहेका देखि सहर बजारमा रहेका नागरिकहरु गाउँमा फर्किको अवस्था छ । स्थानीय तहको योजनाहरुमा प्रत्यक्ष संलग्न भएर कार्यान्वयन गराउनको लागि उहाँहरुले झक्झकाइरहनुभएको छ । आफ्नो ठाउँको विकास आफैले गरौँ भन्ने उहाँहरुको विचार हो । त्यहि अनुसार नै गाउँपालिकाले विभिन्न खाले योजनाहरु ल्याएको छ तर सबै योजनाहरु तत्काल सम्पन्न गर्न सकिदैन । नागरिकलाई काम लगाए पछि दाम दिनु पर्छ तर समयमा नै हामीले भुक्तानी दिन सकेनौँ भने नकरात्मक सन्देशस जान्छ । त्यसैले हामी चरणवद्ध रुपमा नागरिकको यो खाले प्रतिक्रियालाई संवोधन गर्दै जानेछौँ । गाउँपालिका भित्रका नागरिकहरुले हामीलाई हरेक क्षेत्रमा सघाइरहेका छन् । सहकार्यमा नै काम भइरहेको छ ।
    गाउँपालिकाको बजेट, योजनाको विषयलाई लिइर आफ्नो स्थानीय तहभित्रको नागरिकहरुलाई के भन्न चाहानुहुन्छ ?
    जागरिकको माग बमोजिम नै हामीले बजेट ल्याएका छौँ । हामीसँग सिमित श्रोतसाधन छ । गाउँपालिकाभरिका सबै नागरिकहरुहरुले चाहेको जस्तो योजनाहरु ल्याउन सकेका छैनौँ । सबैले पूर्ण रुपमा लाभ लिन सक्नुहुन्न । तर पनि त्यसलाई हामी आगामी वर्षहरुमा संवोधन गर्दै जाने छौँ । हामीले बजेट र कार्याक्रम बनाएका छौँ तर हामीले चाहेर मात्र कार्यान्वयन हुन सक्दैन । नागकिहरुको सहयोग विना र प्रत्यक्ष सहभागिता विना कुनै पनि योजना सफल हुदैन । बजेट राज्यको, गाउँपालिकाको , वडाको तथा उपभोक्ता समितिको नभई तपाई हामीले नै तिरेको करबाट यो ठाउँको विकासको लागि आएको पैसा हो । व्यापार व्यवसाय सञ्चालन गरेको पनि छैन र कर पनि तिरेको छैन भन्नु होला तर सवारी साधनमा यात्रा गर्दा, घरमा विजुली बत्ती बाल्दा, हामीले खाने तेलदेखि लगाउने कपडा सम्ममा कर तिरेका छौँ । पाइलापाइलामा नागरिकले कर तिर्नुपरेको छ । त्यहि कर आफ्नो ठाउँको विकासको लािग भनेर बजेट आएको हो । त्यसको सहि रुपमा सदुपयोग गराउनको लागि नागरिकको सक्रिय सहभागिताको आवस्यक छ । आफ्नो ठाउँमा हुने सार्वजनिक हितका कार्यहरु यस्ले र त्यस्ले गर्ने हो नभनि आफै प्रत्यक्ष संलग्न भएर लाभ लिन तर्फ लाग्नु पर्छ ।

    त्रिशुली खवर साप्ताहिकमा प्रकासित

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया