नुवाकोट । विदुर नगरपालिकाले “विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर” नाराका साथ टोलटोलमा उत्पादन हुने फोहरमैला सङ्कलन कार्य अघि बढाएको छ ।
“एकीकृत फोहोरमैला व्यवस्थापन अभियान रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन” अन्तर्गत वातावरण सफा राख्नको लागि नगरपालिकाले १ सय ४२ वटा डस्टविन समेत वितरण गरेको छ । नगरपालिकाबाट दैनिक १२ टनको हारहारीमा फोहोर सङ्कलन हुने गरेकोले उक्त फोहोरलाई कम गर्न र नगरको क्षेत्रलाई फोहोर मुक्त बनाउनको लागि उक्त अभियान सञ्चालन गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभएको छ । कुहिने र नकुहिने फोहोरलाई रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन कार्यको सुरुवात गरिएको समेत मेयर पण्डितले बताउनुभएको छ ।
नगरले आईतबार, मङ्गलबार, बिहिबार र शनिबार नकुहिने फोहोर (निलो रङ्गको बाल्टिन) सङ्कलन गर्नेछ भने सोमबार, बुधबार र शुक्रबार कुहिने फोहोर (हरियो रङ्ग बाल्टिन) सङ्कलन गर्नेछ । वितरण गरिएको दुई डस्टविन (निलो र हरियो) मा एउटा विदुर नगरपालिकाले निःशुल्क र अर्को टोल सुधार समितिले टोलका प्रत्येक घरधुरीलाई ४ सय ५० रुपैंयाँमा उपलब्ध गराएको विदुर नगरपालिकाका वातावरण तथा सरसफाई शाखाले जनाएको छ ।
यो अभियान पहिलो चरण अन्तर्गत नगरका वडा नम्बरहरु १, २, ४, ५, ६, ८, ९ र १० मा सञ्चालन गरिनेछ ।