विदुर । शिवपुरी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण भई होम आइशुलेसनमा बस्ने सङ्क्रमितलाई ३ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस सङ्क्रमितको पोषणलाई मध्यनजर गर्दै गाउँपालिकाले नगद ३ हजार रुपैयाँ प्रदान गर्ने निर्णैय गरेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभएको छ । होेम आइशुलेसनमा बस्ने सङ्क्रमितलाई प्रदान गर्ने रकम तत्कालको लागि ६ लाख रुपैयाँ छुट्याएको छ । सङक्रमित थप भइरहेमा र ६ लाख रुपैयाँले अपुग भएमा गाउँपालिकाले स्थापना गरेको कोरोना कोषबाट खर्च गरिने अध्यक्ष थापाले बताउनुभएको छ ।
यस्तै गाउँपालिकाभित्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि एमबिबिएस् डाक्टरको समेत उपलव्धता भइसकेको अध्यक्ष थापाको भनाई छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाले निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष थापाले बताउनुभएको छ । कोरोना भाइरसबाट बच्नको लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्नेमा नागरिकहरु सचेत हुदै गइरहेको समेत उहाँको भनाई छ ।
साथै शिवपुरी गाउँपालिकाले ६० वर्षदेखि ७० वर्ष भित्रका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।