विदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ र तादी गाउँपालिका वडा नम्बर ४ जोड्ने तादी खोला पक्कि पुलको निर्माण कार्य सुरु भएको छ ।
वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा भएको तादी खोला पक्कि पुलको सिलन्यास कार्यक्रममा संघिय सांसद हितबहादुर तामाङले भौतिक संरचनाहरु निर्माण गर्दा गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभएको छ । साथै उहाँले तादी खोला पक्कि पुलको निर्माण भए पश्चात तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको परिचय समेत बदलिनुको साथसाथै नागरिकहरुमा आवतजावता गर्न सहज हुने बताउनुभएको छ । निर्माण हुन लागेको पुलमा गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गर्न समेत सांसद तामाङले आग्रह गर्नुभएको छ ।
यस्तै वागमती प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फूयालले तोकिएकै समयमा पुल निर्माणको काम सकाउन निर्माण कम्पनिलाई आग्रह गर्नुभएको छ । साथै जनप्रतिनिधिहरुलाई आवस्यक समन्वय र सहकार्य गरिदिन समेत उहाँकोे आग्रह रहेको छ ।
कार्यक्रममा वागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद बद्रि मैनाली, हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्य लगायतले तीनै तहको सरकारको सहकार्य र समन्वयमा नागरिकको चाहना अनुसार काम गर्दै आइरहेको बताएका छन् ।
वागमती प्रदेश सरकारको ९ करोड १३ लाख रुपैयाँको लगानीमा ६५ मिटर लम्बाई हुने उक्त पुलको शुक्रवार शिलन्यास गरिएको हो । विसं २०७८ साल चैत्र १४ गते सम्ममा पुल निर्माणको काम सकिसक्ने गरि के.एम. ÷जया विष्णु जेभीसँग सम्झौता भएको छ ।
भ्याङ्ले समुन्द्रटार बालकुमारी सडक खण्ड अन्तर्गत पर्नेे तादी खोला पक्कि पुलको निर्माण पश्चात विशेष गरी दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका र तादी गाउँपालिकाका नागरिकहरुलाई आवतजावत गर्न सहज हुने दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ ।