
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कार्यालयमा जम्मा हुन आउने राजश्व रकम प्रशासन कार्यालयँंगै रहेको मालपोत कार्यालयमा अवस्थित एनआईसी एशिया बैंकको विस्तारित काउण्टरमा बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
गत आर्थिक वर्षदेखि कार्यालयमा प्राप्त हुने राजश्व रकम बैंकमा नै जम्मा गर्ने निति नेपाल सरकारले ल्याएको थियो । उक्त निति कार्यान्वयनको क्रममा जिल्ला प्रशासन कायालर्यलाई सेवाग्राहीले बुझाउनु पर्ने राजस्व करिव आधा किलोमिटर टाढा रहेको नेपाल बैङ्क लिमिटेडमामा पुगि बुझाउनुपर्ने बाध्यता सिर्जना भएको थियो । राजस्व रकम बैङ्सम्म पुगेर बुझाउदा सेवाग्राहीलाई शास्ति भएको र यसकै कारण सेवा प्रवाहमा ढिलाशुस्ति देखिएको गुनासो प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई संवोधन गर्दै तादी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष केशव थापाले असोज १९ गते सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको थियो ।
वडा अध्यक्ष थापाको गुनासोलाई संवोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले त्यहि समयमा छिट्टै प्रशासन कार्यालयमै बैंकको एक्सटेन्सन काउण्टर राख्ने वा प्रशासन कार्यालय नजिक रहेको मालपोत कार्यालयमा रहेको एनआईसी एशिया बैंकको विस्तारित काउण्टरबाट राजश्व रकम बुझाउन सकिने व्यवस्था मिलाउने जानकारी दिनुभएको थियो । उक्त जानकारी अनुसार नै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा जम्मा हुन आउने राजश्व जिल्ला प्रशासन कार्यालय नजिक रहेको मालपोत कार्यालयमा रहेको एनआइसि एसिया बैंकको काउण्टरमा बुझाउन मिल्ने व्यवस्था विहिवारदेखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
सेवाग्राहीको सुविधा र हितका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाइरहेको छ । उक्त कार्य योजना अनुसार ६० भन्दा बढी सुधारका कार्यहरु सम्पन्न भैसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।