रुपा थापा ।
सवालहरु जबसम्म म बाट हाम्रो बन्दैन
मेरो जिन्दगीका भोगाईहरु
जब सम्म म भित्र मात्र सिमित हुन्छ
हाम्रा अधिकारका एक थान दस्तावेजहरु
जब धुलाम्य भएर थन्किन्छन
म मेरा अधिकारका दस्तावेजमा जमेका
ति धुलाहरुलाइ टक्टक्याउदै
फेरि पनि भन्छु
ए सरकार मलाई
दयाको एक थान दुष्टिले मात्र होइन
हाम्रा अधिकारका ति दस्तावेजहरुलाई कार्यान्वयन गर
जब गुड्न सक्दैनन मेरा व्हिइल चियरहरु
तिम्रा ति सडकमा
जब सम्म बन्न सक्दैन
मैले काम गर्ने मेरो कार्यालय अपाङ्गता मैत्री
र प्रश्नहरु उठाइन्छ मेरा कार्य क्षमता माथी
अपाङ्गता भएका व्यक्तिहरुको
अधिकारको यो लामो लडाइमा
हामी मात्रै हिडेछौ साथी
कृतिम हात अनि कृतिम खुट्टाहरुसँग
हामी मात्रै हिडेछौ साथी
त्यो क्यालिफोरले बनाएका चोटहरुलाइ महसुस गर्दै
नत्र यो सभ्य समाजका बुद्दिजीवीहरु
किन त्यति सजिलैसँग दाज्छन्
हरेक भत्केका टुटेका अनि फुटेका व्यवस्थाहरुसँग
मेरो शारिरिक कमजोरिलाई
हो हामी मात्रै हिडेछौ साथी
यो आवाजको दुनियामा सांकेतिक भाषाबाट
आफ्ना अधिकारहरु खोज्नलाई
पिडाहरु जब म बाट हाम्रो बन्दैन
हाम्रा सवालहरु जब सम्म साझा सवाल बन्दैन
तव सम्म समाज परिवर्तन गर्नको लागि
लेख्ने एउटा लेखकले पनि
बडो गर्वका साथ प्रयोग गरिदिन्छ त्यो असभ्य शव्दावलीलाई
सोच्ने गर्छु के ति असभ्य शव्दावलीहरुले
के यो सभ्य समाजको मुटु दुख्दैन
कि मुटु बिनानै चल्दै छ
यो सभ्य समाजका सभ्य मानिसहरुको संसार
ए पाच फिट पाच इन्चका मान्छेहरु
कसरी तिमिले बेवास्ता गर्न सक्छौ
मेरो दुइ फिट पाच इन्चको शरिरलाई
तिमी बलियौ छौँ
यस्को मत्लव यो होइन कि
यहा तिमी मात्रै छौ
कसरी तिमीले मेरा भोगाइहरुलाई बेवास्ता गर्न सक्छौ
हाम्रा तमाम ति लडाइहरुलाई
कसरी तिमीले बेवास्ता गर्न सक्छौ
के सक्छौ तिमी
मात्र एक दिन आखामा पट्टि बाधेर हिड्नलाई
के सक्छौ तिमी एक दिन मात्र
आवाज बिहिन बनेर हिड्नलाई
के सक्छौ तिमी एक दिन मात्र
मेरो व्हिइलचियरमा बसेर हिड्नलाई
बस एक दिनको लागि मात्र भए पनि महसुस गरिदिनु
हाम्रा तमाम ति भोगाइहरुलाई
तिमीले पनि बुझ्नै छौ
बाधा मेरो शरिरमा कैले थिएन
बाधा त तिम्रो भौतिक संरचनामा थियो
जस्को कारण पटक पटक रोकिरह्यो
मेरो जीन्दगीका यात्राहरुलाई
फेरि पनि आह्वान गर्छु
आउ मेरा सेता छडिहरु
आउ मेरा बैशाखिहरु
आउ मेरा क्रृतिम हात खुट्टाहरु
आउ साथीहरु हातबाट संकेत गर्दै
अझै पनि बाँकी छ
तिमीले र हामीले पार गर्नु पर्ने
अवरोधका ति लामा श्रृङ्खलाहरु
हो अब सबै मिलेर कार्यान्वयन गराउनु छ
हाम्रा अधिकारका ति एक थान दस्तावेजहरुलाई
जस्को निम्ति लडेका थियौ हामीले
एउटा लामो लडाइ
हे सुनाखरी हु म भिरमा नै फुल्ने छु
कमलको फूल हु म
हिलोमा नै फुल्ने छु
त्यसैले जस्तो छु म जे छु म
बस मलाइ निर्वाध रुपमा फुल्ने
एउटा साझा बगैचा देउ ।
यस कविताका लेखक उद्यमशिल तथा सीप विकास अपाङ्ग संघ नुवाकोटका कोषाध्यक्ष समेत हुनुहुन्छ ।