शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • जिल्ला प्रशासनमा डिजिटल टोकन प्रणाली जडान गरि सेवा प्रवाहको थालनी ।

    समिकरण न्युज २०७७, ९ पुष बिहीबार २०:५४ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले डिजिटल टोकन प्रणाली जडान गरि सेवा प्रवाहको थालनी गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै (स्थानीय तह अनुसार) आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्दै आएको प्रशासन कार्यालयले सेवाग्राहीको भिड यथावत नै रहेको भन्दै विहिवारदेखि टोकन प्रणालीबाट सेवा प्रवाह गर्न थालेको हो । डिजिटल टोकन प्रणाली जडान एन. आई. सी. एसिया बैंकसँग सहकार्य गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालको अनुसार सेवाग्रहीको उच्च चाप हुने नागरिकता शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखाको काम टोकन प्रणली मार्फत गरिनेछ । यी तीन शाखाका सेवाग्राहीलाई ट्याबमार्फत टोकन वितरण गरेर पालो व्यवस्थापन गरिनेछ । कार्यालयको मुख्य प्रवेशद्वार नजिकैको प्रशासकीय अधिकृतको कार्यकक्ष (कोठा नम्बर १०१) को बाहिरपट्टि टोकन लिएर सेवाग्राहीहरूले आवाज मार्फत आफ्नो टोकन नम्बरको पालो आएपछि सम्बन्धित शाखामा सम्पर्क राख्न पर्नेछ ।
    सेवाग्राहीले नागरिकताको लागि कोठा नम्बर १०३, राहदानीको लागि कोठा नम्बर १०४ र राष्ट्रिय परिचयपत्रको लागि कोठा नम्बर ११० मा सम्पर्क राख्नुपर्नेछ । टोकन लिने र सेवा लिने क्रममा सेवाग्राहीले आफ्नो काम परेको शाखाको मात्र टोकन लिन, टोकन लिएपछि आफ्नो काम परेको शाखाको काउण्टर नम्बर र आफ्नो टोकन नम्बर ख्याल गर्न र सेवा लिन लाइन वा भीडभाडमा नबसी कार्यालय परिसरमा रहेको सेवाग्राही प्रतिक्षालयमा बसिदिन प्रशासन कार्यालय नुवाकोटको आग्रह रहेको छ । यस बिचमा केहि कागजात मिलाउन वा फोटोकपी गर्न बाँकी भए पूरा गर्नलाई प्रशस्त समय समेत मिल्नेछ ।
    टोकन प्रणाली मार्फत सेवा प्रवाह भएपछि सेवा प्रवाहको पद्दति विकसित हुनुको साथै सेवाग्राहीमा कोरोना वा अन्य संक्रमणको जोखिम कम हुने र सेवा प्रवाह थप अनुशासित व्यवहारका रूपमा विकसित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ । टोकन प्रणालीले सेवा प्रवाह गर्ने क्रममा भीडभाड र होहल्लामा नियन्त्रण हुँदा सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्पर्क हुने, त्रुटीमा कमी आउने र सेवाको प्रभावकारितामा वृद्दि हुने अपेक्षा गरिएको छ ।


    जिल्ला प्रशासन कार्यालयले यस अघि नै हुलाक टिकट विक्री काउण्टर प्रशासन कार्यालयमा नै स्थापना गरिएको भए पनि सेवाग्रहीले जानकारीको अभावमा बाहिरबाटै टिकट ल्याउने गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मात्रै नभई नजिकमा रहेका अन्य कार्यालयका सेवाग्राहीलाई पनि कार्यालयमा नै रहेको हुलाक टिकट काउन्टरबाट टिकट लिनलाई उहाँको आग्रह रहेको छ । हुलाक टिकटकै लागि सेवाग्राहीहरु कार्यालय बाहिर भौतारिन नपरोस् भन्ने उदेस्य सहित हुलाक टिकट विक्री काउण्टर प्रशासन कार्यालयमा नै स्थापना गरिएको हो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया