शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नेपाली काङ्ग्रेस पार्टी निर्वाचनको लागि जहिल्यै तयार छ – केन्द्रिय सदस्य केसी ।

    समिकरण न्युज २०७७, १३ पुष सोमबार २०:२० पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । नेपाली काङ्ग्रेस पार्टी निर्वाचनको लागि जहिल्यै तयार रहेको केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले बताउनुभएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा प्रतिनिधी सभा विघटन गरेको भन्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ नुवाकोटले विदुरमा आयोजना गरेको विरोध कार्यक्रमलाई संवोधन गर्नुहुदै नेता केसीले प्रमुख प्रतिपक्ष दलको भूमिका निभाउदै पाँच वर्ष सत्ताको लोभ गर्न हुदैन भनेर अघि बढिरहेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको कारण नेपालको राजनैतिक स्थिरतालाई अस्थिरतामा बदलेको बताउनुभएको छ । नेपालको राजनिति अनिष्ट र सङ्कटको घुम्तिमा आइपुगेको भन्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य केसीले भन्नुभयो, “सवोच्चबाट संसद पुनस्थपना भएन भने निर्वाचनको लागि नेपाली काङ्ग्रेस तयार छ । जनताकै बिचमा हुर्कदै, बढ्दै र सङ्घर्ष गर्दै आइरहेको पार्टी भएकोले काङ्ग्रेस निर्वाचानको लागि जनताको बिचमा जान तयार छ । तर बैशाख १७ र २७ गते निर्वाचन हुन सक्दैन । ओली सरकारले निर्वाचन गराउन सक्दैन । त्यस पछि देशमा अर्को नयाँ चरणको सङ्कट सुरु हुन्छ ।”
    संसद विघटन गर्ने विषय नेपालको संविधानमा कतै परिकल्पना नगरिएको र प्रधानन्त्रीको पनि कुनै अधिकार नभएको नेता केसीको भनाई छ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले लोकतन्त्र र संविधानमाथी आक्रमण भएको उहाँको भनाई छ । “अहिलेको राजनैतिक परिस्थितिले राष्ट्रलाई द्धन्द, अराकजता, अन्यौल र अरु बिग्रह तिर धकेलिरहेको छ । यसको विरुद्धमा सम्पूर्ण लोकतन्त्रवादीहरुले फेरी एकजुट भएर सङ्घर्ष गर्नु आवस्यक छ । हामीले निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रमहरु आयोजना गरि सङ्घर्षको सुरुवात गरेका हौँ,” नेता केसीले भन्नुभयो, “निर्वाचन क्षेत्रका जनताले आफ्नो मताधिकार प्रयोग गरेर निर्वाचित गराएर पठाएको संसदलाई जुन ढङ्गले विघटन भयो त्यहि कारणले सुरुवातमा निर्वाचन क्षेत्रबाट सङ्घर्ष सुरु गरेका हौँ । धतुरोको विरुवा रोपेर सुन्तला फलाउन सकिन्न । कम्युनिष्टलाई भोट दिएर जिताउदा कम्युनिष्टबाट लोकतन्त्र बचाउन सकिदैन रहेछ भन्नेमा जनतालाई आभाष भइसकेको छ ।”
    यस्तै नेपाली काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङले जब देशमा संकटको घडी सुरु हुन्छ तब मात्र काङ्ग्रेसको आवस्यकता देखिने बताउनुभएको छ । लोकतन्त्र भयो भने मात्र स्वतन्त्रता हुने भन्दै उहाँले नेपाली काङ्ग्रेसमा आस्था राख्न नागरिकहरुलाई आग्रह समेत गर्नुभएको छ । “कम्युनिष्टले संविधान र लोकतन्त्र मान्दैन । प्रजातन्त्रवादीको नाममा खोल मात्र ओढेर आएका हुन् । उनीहरुको विश्वास गर्नुहुदैन,” तामाङले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीभित्र नै अन्यौलता सिर्जना भएको छ । छोटो समयमा निर्वाचनको तयारी पुग्दैन । यहि सरकारको नेतृत्वमा बैशाखमा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुन सकिन्न ।”

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया