नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले व्यक्तिलाई नभई बिचारलाई पच्छ्याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
४५औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बि.पी. विचार राष्ट्रिय समाज जिल्ला शाखा नुवाकोटले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नुहुदै पूर्वमन्त्री समेत रहनुभएका केन्द्रीय सदस्य केसीले नेताको भन्दा नीतिको विश्वास गर्न समेत आग्रह गर्नुभएको छ । विचार, नीति र सत्यमा रहेर जननायक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लाई सम्झदै सङ्कल्प गरियोे भने विजयको यात्रा तय हुने नेता केसीको भनाई छ । संसद विघटन गर्ने विषय नेपालको संविधानमा कतै परिकल्पना नगरिएको र प्रधानन्त्रीको पनि कुनै अधिकार नभएको भन्दै उहाँले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले लोकतन्त्र र संविधानमाथी आक्रमण भएको बताउनुभएको छ ।
साथै बैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न हुन्छ भन्नेमा विश्वस्त नरहेको समेत उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा महाधिवेसन प्रतिनिधि चोकराज शाक्यले पार्टीभित्र एकताको नाममा अनेकता आइरहेकोले भावनात्क र व्यवहारिकतामा समेत एकता आउनु आवस्यक रहेको बताउनुभएको छ । आउदो महाधिवेसनलाई एकताको महाधिवेसनमा परिणत गराउनु आवस्यक रहेको शाक्यको भनाई छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य विन्दा अर्याल, दलित संघ जिल्ला अध्यक्ष भोजबहादुर नेपाली, महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला अध्यक्ष अञ्जली पाण्डे, कृष्ण कुइकेल, राजेन्द्र अर्याल लगायतले व्यक्तिलाई क्षमताको आधारमा पार्टीको विभिन्न पद र सङ्गठनको नेतृत्वमा पुराउनु आवस्यक रहेको बताएका छन् । साथै उनीहरुले पार्टीभित्रै एकताको खाचो रहेको औल्याएका छन् ।
यस्तै बि.पी. विचार राष्ट्रिय समाज जिल्ला शाखा नुवाकोटका सभापती बसन्तजंग ठकुरीले वर्तमान परिस्थितमा बिपीद्धारा सिर्जित मेलमिलापको अवधारणालाई आत्मसाथ गर्नु आवस्यक रहेको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन, लोकतन्त्र सुरक्षित गराउन र राष्ट्रियता बचाउन नेपाली काङ्ग्रेसको केन्द्रीय तहदेखि वडा तहसम्म नेतादेखि कार्यकर्तासम्म भावनात्मक सम्वन्धको विकास हुनु जरुरी रहेको सभापती ठकुरीको भनाई छ ।
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्का लगायत मेलमिलापको नीति लिएर विसं २०३३ साल पुस १६ गते स्वदेश फर्किका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि राजनैसितक दल र राजा पक्ष मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।
सोही दिनको सम्झनामा हरेक वर्षको पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि मनाइदै आइरहेको छ ।