विदुर । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा अवस्थित वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बहादुरसिंह लामा तामाङले संसद सुविधाबाट प्राप्त रकम जिल्लाको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहनुभएको छ । सोहि कार्यलाई निरन्तरता दिने क्रममा वागेश्वरी आधारभूत विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जयराम दाहालको नेतृत्वमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । गरिव जनताको दु:खसुखमा साथ दिने र जनताको करबाट लिएको सुविधा जनताकै लागि फर्काउने सांसद तामाङको कार्य सराहनीय रहेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य दाहालले बताउनुभएको छ । अन्य राजनेताहरुलाई पनि अनुकरणीय कार्य गर्दै सामाजिक सेवामा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा प्राप्त भएसँगै उनीहरुलाई कक्षा नियमित गराउन हौसला मिलेको विद्यालयका प्रधानाध्यापक बाबुकृष्ण पुडासैनीले बताउनुभएको छ । न्यानो कपडा वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस जिलिङ इकाईका पूर्व सभापती दुर्गा पुडासैनी, युवा नेता नारायण नेपाल लगायतको उपस्थिति रहेको थियो ।