समुन्द्रटार । कोरोना भाइरसको त्रास सामान्य हुदै गइरहेको अवस्था रहेता पनि हाल विश्वमा कोरोना भाइरसको नयाँ रुप ५० भन्दा बढी मुलुकहरुमा फैलिसकेको अवस्था छ । नेपालमा पनि ३ व्यक्तिहरुमा उक्त भाइरस पृष्टि भइसकेको छ । देश विदेशबाट नेपाल आवतजावत गर्ने क्रम पनि बढ्दो रहेको छ । नेपालले बेलायतबाट आउने जाने फ्लाइटहरुमा रोक लगाएता पनि आगामी दिनहरुमा हिजो झै अनियन्त्रित रुपमा महामारी नफैलिएला भन्न सकिन्न ।करिब १० महिने पूर्ण र आंसिक लकडाउन पश्चात धमाधम विद्यालयहरु खुल्ने क्रम जारी रहेको छ । यसैक्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकाले विद्यार्थीलाई नै माध्यम बनाएर कोरोना भाइरस तथा नसर्ने रोग रोकथाम र नियन्त्रणको लागि अभियान नै चलाइरहेको छ । “ठूलो भेला गराएर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउन अहिलेको अवस्थामा गाह्रो छ । ठूला मानिसहरुलाई भन्दा पनि हामीले विद्यार्थीद्धारा हाम्रो समुदायमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि Child to child Approach माध्यमको प्रयोग गरी यसको रोकथाम तथा अन्त्यको लागि हामी लागी परेका छौँ । ठूला मानिसलाई सिकाउदा ठूला मानिमा नै सिमित रहने तर बालबालिकालाई सिकाईयो भने उनीहरु आफु पनि सचेत हुन्छन नै र घरका अभिभावकलाई समेत आफुले जानेको कुरा सिकाएर सचेत गराउने काम गर्दछन्,” गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले भन्नुभयो, “Child to child Approach यस्तो एउटा शिक्षाको प्रक्रिया हो, जसमा बालबालिकाले आफूले विद्यालयमा सिकेका कुराहरुलाई समुदाय सम्म स्वास्थ्य तथा अन्य विषयलाई पुराउने र समुदाय स्तरमा स्वास्थ्य प्रोत्साहन तथा जनचेतना फैलाउन सकिन्छ । विद्यालयहरु खुलिसकेकोले हाम्रो गाउँपालिकाले विद्यार्थी माझ र समुदायस्तरमा कोरोनाको दोस्रो चरण यस दुप्चेश्वर गाउँपालिकामा फेरी महामारीको रुप नलियोस् भनेर यो विकल्प अपनाएका हौँ ।”
Child to child Approach माध्यम प्रभावकारी हुदै गइरहेको छ । कोरोनाको विषयसँगै नसर्ने रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, स्वास प्रस्वास सम्वन्धी दीर्घकालिन रोग साथै अन्य नसर्ने रोगहरुको नियन्त्रण लाई पनि यस माध्यम द्धारा समुदायस्तरमा बुझाउन सकियो भने अझै बढी प्रभावकारी हुने कुरामा विश्वस्त रहेको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ । उपाध्यक्ष आचार्यले भन्नुभयो, “दिर्घकालीन नसर्ने रोगहरुलाई पनि समुदाय स्तरमा बुझाउन एकदमै जरुरी छ । मानिसहरुको खानपान, रहनसहन, व्यस्तता र दैनिकीहरुमा परिवर्तन ल्याएर नसर्ने रोगको जोखिमलाई न्युनिकरण गर्न पनि यो प्रक्रिया प्रभावकारी रहेको छ ।”दुप्चेश्वर गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले यस कुरालाई मध्यनजर गर्दै गाउँपालिकाको सबै माध्यमिक विद्यालयहरुमा यो कोरोना भाइरस तथा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणको लागि Child to child Approach प्रक्रिया ८ वटा विद्यालयमा सञ्चालन गरिसकेको छ ।
अब ३ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ । दुप्चेश्वर गाउँपालिकाका जनस्वास्थ्यअधिकृत सुदिप थापा स्वंम नै हरेक माध्यमिक विद्यालयहरुमा पुगेर कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कोरोना भाइरस तथा नसर्ने रोगहरुको विषयमा कक्षा संचालन गरिरहनु भएको छ । कोरोनाको दोस्रो चरण महामारीको रुपमा फेरी नफैलियोस् भनेर दुप्चेश्वर गाउँपालिकाका नागरिकहरुलाई सचेत गराउन, स्वास्थकर जिवनशैली अपनाउन र सरसफाईमा पुर्ण रुपमा ध्यान दिनको लागि विद्यार्थीलाई नै माध्यम बनाइरहेको थापाको भनाई छ ।