बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • संस्कृति विकृति हुँदै गएकोमा धुन्चेलीको चिन्ता

    समिकरण न्युज २०७७, १३ माघ मंगलवार १६:४५ पढ्न लाग्ने समय 3 मिनेट

    अधिवक्ता फुर्पा तमाङ

    कुनै पनि जाति वा समुदायको धर्म, भाषा, भेषभूषा, संस्कारजन्य कार्यको लोप हुनु भनेको त्यो जाति वा समुदायको पहिचान नै लोप हुनु हो । संस्कृति वा परम्परा निर्माणमा समाजको ठूलो भूमिका हुने गर्दछ । समाजमा विद्यमान विभिन्न क्रियाकलापहरुको निरन्तरता र अभ्यासले त्यसले परम्परा नै बसाल्न पुग्दछ । कालान्तरमा त्यसले पहिचानको चिनारी दिने गर्दछ । साँच्चै भन्ने हो भने एकप्रकारले त्यो सामाजिक कानून जस्तै बन्न पुग्दछ । जुन समाजका सम्पूर्ण सदस्यहरुले मान्न बाध्य हुन्छन् । अतः प्रथाजनित कानून पनि भन्ने गरिन्छ ।

    यसरी समाजलाई संचालन गर्ने विभिन्न धर्म हुन्छन् । धर्मसंग जोडिएर आएका मान्यता हुन्छन् । त्यही मान्यतालाई व्यवहारमा अभ्यास गरिँदा संस्कृति वा संस्कारहरु विकास हुन्छन् । यसरी विकास हुने क्रममा कहिलेकाहीं संस्कृतिहरु बिकृति हुन पुग्दछन् । संस्कृति विकृति हुन पुग्दा त्यसले समाजलाई असल सभ्यतातर्फ डोर्याउँदैन । त्यो समाजका जाति वा समुदायको सक्कली पहिचान दिँदैन । क्षणिक वा केही झुण्डहरुका लागि त्यस्तो बिकृत संस्कृति राम्रो लाग्न सक्छन् । तर, त्यसले समाजलाई गन्तव्यहीन तर्फ लैजान्छ । समाजमा बेथिति, बिसंगति र सामाजिक भावनामा चोट पुर्याउने काम गर्दछ ।

    आफ्ना पितापूर्खाले मान्दै आएको धर्म, संस्कृति र सामाजिक व्यवहारमा ठूलो परिवर्तन हुँदै गएपछि रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका वडा नं. ६, धुन्चेबासी चिन्तित हुन पुगेका छन् । जन्म, मृत्यू र विवाह जस्ता क्रियाकलाप प्रत्यक्ष र परोक्ष रुपमा धर्म र संस्कृतिसंग जोडिएर आएका हुन्छन् । आफ्ना पितापूर्खाहरुले चलाउँदै आएको सामाजिक संस्कारहरुमा हिजोआज ठूलो परिवर्तन हुँदै आएको देख्न सकिन्छ । यसरी संस्कृति हरेक वर्ष केही न केही रुपमा परिवर्तन हुने र हुँदै जाने गरेकाले गाउँमा सामाजिक परम्परा धान्न धौधौ पर्दै गएको प्रति चिन्ता मान्दै ०७६ सालमा धुङलाङ समाज गठन भएको थियो । उक्त समाजले मिति २०७७।१०।७ गते एउटा सूचना प्रकाशित गरी सामाजिक व्यवहारमा स्ुधारको लागि अपिल गरेको देखिन्छ । जसअनुसार, विवाह हुनु अगाडीको सल्लाह गर्ने कार्यक्रम हटाएको कारणले दुलहा पक्षबाट सो कार्यक्रम गर्न नपर्ने, विवाह कार्यक्रमको सम्पूर्ण जानकारी गाउँलेहरुलाई समाज मार्फत दिने, दुलही पक्षबाट सुम्देन (सगुन) ग्रहण गर्नुहुने आफन्तजनलाई कुनै पनि भोजभतेरको कार्यक्रम आयोजना गर्नु नपर्ने, दुलही पक्षको आफन्तहरुलाई समाज मार्फत विवाहको कार्यक्रम बारे जानकारी दिने, विवाह कार्यक्रमको दिनमा दुलही पक्षको आफन्त, पाहुना, श्येबेम्बा (गीत गाउने नाच्ने) हरुलाई मात्र खादा चढाउनु पर्ने, डोली थापी सकेको विवाहको हकमा बलेशेम्बा (दुलान फर्काउन) रित गर्नु नपर्ने भनी ६ वटा निर्णयहरु गरेर सूचना जारी गरेको देखिन्छ ।

    उपरोक्त निर्णयहरु निश्चय नै सकारात्मक र प्रगतिशील छन् । यी निर्णयहरु आउनुको पछाडि संस्कृति र संस्कारको नाममा चाहिने भन्दा बढ्ता खर्च हुँदै गएकोले नै हो । समाजमा केही व्यक्तिहरु यस्ता हुन्छन् कि केही गरेर पैसा कमाएर धनी भइहाल्यो भने उसको घरपरिवारमा जन्म, मृत्यू वा विवाह हुँदा हिजो अस्तिको चलन भन्दा बढ्ता खर्च गर्न खोज्छन् । र, खर्च पनि गर्छन् । यसरी एउटाले सामाजिक थिति (नियम) तोडेपछि अर्कोले पनि फलानोको पालामा यसरी गरेको थियो, अब त्यसरी नै गर्नुपर्छ भनेर खर्च बढी गराउने गर्छन् । यसो गर्दा गर्दै हिजो आज विशेषगरी छोराछोरीको विवाह गर्न नसकिने अवस्थामा पुगेको कुरा धेरैले बताउँछन् । उदाहरणको लागि सुम्देन (सगुन) ४ दामबाट बढेर ५ लाख रुपैयाँले नपुग्ने भएको छ । दुलहालाई कम्तिमा १ तोलाको बेरुवा औंठी र दुलहीलाई कम्तिमा ४ तोलाको सुनको बुट्टिल दिनुपर्छ । विवाह अघि नै २—४ वटा खसी ढालेर विवाहको सल्लाह गर्ने भनेर गाउँलेलाई खुवाउने गर्छन् । विवाहको दिन २ वटा राँगा वा भैंसी र ८—१० वटा सम्म खसी काटेर भोज खुवाउँछन् । विवाह सकेको भोलिपल्ट गाउँलेहरुलाई बोलाएर धन्यवाद भन्दै २ वटा खसी काटेर खुवाउँछन् । केही वर्ष अघि सम्मको कुरा हो । विवाहको लागि भीरबाट खसेर मरेको गाई गोरु र बढीमा २ वटा खसी काटेर मासुको परिकार पुर्याउँथ्यो । घरमा अन्नले बनाएको छ्याङ र रक्सीले पुग्थ्यो । अचेल घरेलु मदिरा करिव करिव हटिसक्यो । बियर, ह्विस्की, रम र भोड्का किन्न ३ देखि ५ लाख जति लाग्छ । खादाकै लागि लाख रुपैयाँले पुग्दैन । अब हिसाब गरौं । विवाहको लागि कति खर्च चाहिने भयो ? के यो साँच्चै राम्रो कुरा हो र ? दाइजो दिन नसकेर ऋण थापेर दिएका कैयन व्यक्तिहरु भेटिन्छन् । विवाहको लागि जग्गा र सुन धितो राखेर काम चलाउनेहरु पनि धेरै छन् । विवाहमा मीठो खाएर गीत गाएर नाच्नेहरु विवाह लगतै सुर्तामा पर्छन् । कसरी ऋण तिर्ने ?

    माथि उल्लेखित कुरा केवल विवाहको सन्दर्भमा गरिएको हो । यो विकृति नै हो । विवाह हुनको लागि केटा र केटीको मन मिल्नुपर्छ । सामाजिक मान्यता कायम राख्न थोरै खर्च गरेर पनि विवाह सम्पन्न गर्न सकिन्छ । आवश्यक काम कुराको लागि मात्र खर्च गर्दा राम्रो नै हो । धुन्चेबासीले विवाहमा हुँदै गएको विकृति रोक्ने उद्देश्यले केही सकारात्मक कदम चालेको देख्दा खुसी लाग्यो । तपाईहरुको निर्णय कार्यान्वयन होस् । अन्य गाउँहरुले पनि सिकुन् । शुभकामना ।

    त्रिशूली खबर पत्रिकाबाट

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया