बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पहिलो चरणमा नुवाकोटका २ हजार ४ सय २ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

    समिकरण न्युज २०७७, १३ माघ मंगलवार १७:२३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल सरकारको निर्णय अनुसार कोरोना भाइरस संक्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियान नुवाकोटमा पनि वुधबारदेखि सुरु हुदैछ । जिल्लामा कोरोना भाइरस संक्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियान वुधबारदेखि माघ १९ गते सोमबारसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक सहित २ हजार ४ सय २ जनालाई खोप लगाइने स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । खोप अभियानको लागि जिल्लामा २ वटा खोप केन्द्रहरुको व्यवस्थापन गरिएको छ । त्रिशुली अस्पताल नुवाकोट तथा खरानीटार अस्पतालहरुमा कोरोना भाइरस विरुद्ध खोपको खोप केन्द्रहरु सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख मिमिरेले बताउनुभएको छ ।
    स्वास्थ्य संस्थाको सेवा अवरुद्ध नहुने गरी तोकिएका स्थानिय तहमा दुई समुहमा विभाजन गरी खोप सेवा उपलब्ध गराईने भएको छ । पहिलो चरणको खोप अभियानको लागि भ्याक्सिन लगायत अन्य सामग्री प्राप्त भईसकेको र तालिम लगायत अन्य व्यवस्थापनका कार्यहरु तिव्र रुपमा भईरहेको घिमिरेको भनाई रहेको छ । तोकिएको स्थानिय तहबाट लक्षित समुहका व्यक्तिहरु तोकिएको अस्पतालमा स्थानिय तहको स्वास्थ्य संयोजकसँगको समन्वयमा परिचयपत्र सहित खोप सेवाको लागि उपस्थित हुन तथा यस कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा स्वास्थ्य कार्यलय नुवाकोटले आग्रह गरेको छ ।
    त्रिशुली अस्पतालको खोप केन्द्रमा वुधबार विदुर नगरपालिका, विहिवार ककनी, लिखु, शिवपुरी गाउँपालिका र वेलकोटगढी नगरपालिकाको पहिलो समुह, शुक्रवार तारकेश्वर, सुर्यगढी, म्यागङ र किस्पाङ गाउँपालिकाको पहिलो समुह, शनिवार ककनी, लिखु, शिवपुरी गाउँपालिका र वेलकोटगढी नगरपालिकाको दोस्रो समुह, आइतवार तारकेश्वर, सुर्यगढी, म्यागङ र किस्पाङ गाउँपालिकाको दोस्रो समुह र सोमबार उल्लेखित पालिकाहरुका छुट भएका लक्षित व्यक्तिहरुलाई खोप लगाइने तालिका रहेको छ ।

    यस्तै खरानीटार अस्पतालमा रहेको खोपकेन्द्रमा शुक्रवार पञ्चकन्या तथा दुप्चेश्वर गाउँपालिकाको पहिलो समुह, शनिवार दुप्चेश्वर गाउँपालिका, आइतवार तादी तथा पञ्चकन्या गाउँपालिकाको दोस्रो समुह र सोमवार उल्लेखित पालिकाहरुका छुट भएका लक्षित व्यक्तिहरुलाई खोप लगाइने तालिका बनाइएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख घिमिरेले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया