
विनासकारी भूकम्प २०७२ बाट क्षती पुगेका निजि आवास पूननिर्माणको सम्वन्धमा राष्ट्रिय पूननिर्माण प्राधिकरणको १ सय ३७औँ बैठकले पूननिर्माण लाभग्राहीहरुको लागि अन्तिम समयसिमा निर्धारण गरेको थियो ।
कार्तिक २१ गते बसेको उक्त बैठकले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने र लाभग्राहीले पुस १५ सम्ममा पहिलो किस्ता बापतको रकम भुक्तानि लिइसक्नुपर्ने मिति तय गरेको थियो । यस्तै दोश्रो किस्ताको लागि लाभग्राहीले माघ मसान्तसम्म निवेदन दिइसक्नुपर्ने र इन्जिनियरहरुको सिफारिसमा फागुन १५ सम्ममा भुक्तानी लिइसक्नेपर्ने पूननिर्माण प्राधिकरणले समय निर्धारण गरेको छ । तेश्रो किस्ताको लागि आउदो बैशाख मसान्त सम्ममा लाभग्राहीले निवेदन दिइसक्नुपर्ने र जेष्ठ १५ सम्ममा भुक्तानी लिइसक्नुपर्ने समय निर्धारण गरेको छ । भूकम्प पिडित लाभग्राहीको लागि निजि आवास निर्माण गर्न पूननिर्माण प्राधिकरणले समय थपिरहन्छ भन्ने आरोप विगतमा लाग्ने गरेकोले अव कुनै पनि हालतमा समय थप नहुने राष्ट्रिय पूननिर्माण प्राधिकरणको कार्यकारी समितिका सदस्य ध्रवप्रसाद शर्माले बताउनुभएको छ । निजि आवास सहित पूननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा जिल्लास्तीय कार्यक्रममा शर्माले राष्ट्रिय पूननिर्माण प्राधिकरणको कार्यकाल नै अन्तिम चरणमा आइपुगिसकेकोले निजि आवास निर्माण को कार्यलाई तोकिएको निश्चित समयमा नै सकाउनु जरुरी रहेको बताउनुभएको छ ।
भूकम्प पिडित लाभग्राहीले अनुदान सम्झौता गर्ने समय सिमा समाप्त भइसकेकोले वडामा हुने इन्जििनयरले वडा अध्यक्ष र लाभग्राहीसँग निरन्तर समन्वय र सहकार्य गरेर निजि आवास निर्माणको कामलाई पूर्णता दिनु आवस्यक रहेको राष्ट्रिय पूननिर्माण प्राधिकरणको कार्यकारी समितिका सदस्य शर्माले बताउनुभएको छ । निजि आवास पूननिर्माण सम्पन्न गराउनको लागि वडा तहबाटै प्राधिकरणले कार्य योजना बनाउन लागेको उहाँको भनाई रहेको छ । समयसँगै निजि आवास निर्माणको कामलाई अघि बढाएर निर्धारित समयमा सम्पन्न गराउन लाभग्राहीलाई निरन्तर झक्झकाइहरनु आवस्यक रहेको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला सहजिकरण समितिका संयोजक सन्तमान तामाङले भूकम्प गएको साढे पाँच वर्ष वितिसक्दा पनि आफ्नो घर बनाउन आनाकानी गर्नेहरु नक्कली लाभग्राही हुन् कि भन्नेमा सङ्का पैदा हुन थालेको बताउनुभएको छ । बारम्बार पूननिर्माण प्राधिकरणले समयसिमा थप गरिरहदा अवास्तविकहरु भूकम्प पिडितहरु लाभग्राहीमा समावेश भइरहेको उदाहरण प्रशस्तै रहेता पनि भूकम्प पिडितहरुमा अझै सन्तुष्टि भने नभेटिएको जिल्ला समन्वय समितिका प्रमुख तामाङको भनाई छ । बास्तविक भूकम्प पिडित पहिचान गर्ने कार्य स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार नदिदा समस्या आएको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, ककनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपेश तामाङ लगायतले पूननिर्माणको सम्वन्धमा स्थानीय तहहरुमा देखिएका समस्याहरु सुनाएका थिए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख शम्भुकुमार शाहको अनुसार नुवाकोटमा ८४ दशमलव १ प्रतिसत अर्थात ६६ हजार ५ सय ४८ परिवारको निजि आवासको पूननिर्माण सम्पन्न भइसकेको छ । यी आवास सम्पन्न गर्नको लागि २० अर्ब ४१ करोड ७१ लाख ५० हजार रुपैयाँ खर्च भएको शाहले बताउनुभएको छ ।