
विदुर । विरामीको बढ्दो चापलाई मध्यनजर गर्दै त्रिशुली अस्पताल नुवाकोटले टोकन प्रणालीबाट सेवा प्रवाह गर्न थालेको छ ।
नुवाकोट, रसुवा र धादिङका विरामीहरुको गन्तव्यविन्दुको रुपमा विकसित हुदै गइरहेको यस अस्पतालमा सेवाग्राहीको सुविधालाई ध्यानमा रहेर टोकन प्रणालीको सुरुवात गरिएको हो । त्रिशुली अस्पताल सञ्चालक समिति र कार्यरत कर्मचारीहरुको अथक प्रयास बाट अस्पतालको मुहार फेरिएको भन्दै त्यसलाई निरन्तरता दिनु जरुरी रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको भनाई रहेको छ । त्रिशुली अस्पताललाई आवस्यक श्रोत र साधनको व्यवस्था मिलाउन जिल्ला स्थित स्थानीय तहहरुसँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले टोकन प्रणालीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि पनि उपयुक्त माध्यम रहेको बताउनुभएको छ । त्रिशुली अस्पतालबाट दिइने सेवामा चिकत्सकको सहभागिता, व्यवस्थापनको हिसावले राजधानीको ठूला अस्पताल जत्तिकै उत्कृष्ट बन्दै गइरहेको मेयर पण्डितको भनाई छ ।
अस्पतालमा आउने सेवाग्राहीहरुको भिडलाई व्यवस्थापन गराउनको लागि ६ वटा मेसिन जडान गरिएको छ । सेवाग्राहीले टिकट काट्नेदेखि लिएर सम्वन्धित चिकित्सकलाई देखाउदा सम्म टोकन प्रणालीको व्यवस्था गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभएको छ ।
सेवाग्राहीले काउन्टर अगाडीको टोकन मेसिनबाट टोकन लिएर भिडभाड नगरी बस्नुपर्ने, आफ्नो पालो आए पछि मात्र काउन्टरमा गई टिकट लिएर टोकन मेसिनबाट कति नम्बरको कोठामा जानु पर्ने हो सोही नम्बरको मेसिनबाट फेरी टोकन लिनुपर्ने छ । सेवाग्राहीले आफ्नो टोकनमा रहेको कोठा नम्बर र टोकन नम्बर हेरी आफ्नो पालो आए पछि सोही नम्बरको कोठामा गएर सेवा लिन सक्नेछन् ।
सेवाग्राहीले जनरल ओपिडिको लागि कोठा नम्बर १, सर्जरी ओपिडिको लागि कोठा नम्बर २, बालरोग ओपिडिको लागि कोठा नम्बर ३ र हाडजोर्नि ओपिडिको लागि कोठा नम्बर ४ बाट सेवा लिन सक्नेछन् ।
अस्पतालको आन्तरिक व्यवस्थापनमा सहयोगी संस्था गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा ६ थान टोकन मेशिन जडान गरिएको हो । कुल १५ लाख रुपैया खर्च भएको टोकन प्रणाली स्थापनाको लागि गुड नेवर्स इन्टरनेशनलको १२ लाख रुपैया आर्थिक सहयोग र अन्य वांकी खर्च अस्पतालले व्यवस्थापन गरेको छ ।