बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा निर्माण सामग्री अभाव

    समिकरण न्युज २०७७, १५ माघ बिहीबार १९:३० पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । नुवाकोटमा निर्माण सामग्रीको अभाव हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले गएको भदौ पहिलो साता जिल्लाका क्रसर उद्योगहरु एकसाथ सिल गरेपछि अहिले नुवाकोट जिल्लाभर निर्माण सामग्रीको अभाव हुन थालेको हो ।

    जिल्लामा विकास निर्माणका गतिविधिहरु प्रभावित भएका छन् भने व्यक्तिको नीजि घर निर्माण कार्यमा निर्माण सामग्री जुटाउन सकस परेको छ । विकास निर्माणको लागि आवश्यक पर्ने गिटी, बालुवा, ग्राभेल लगायतका सामग्रीहरु जिल्लामा क्रसर बन्द भएपछि उत्पादन पनि बन्द हुँदा काम गर्न सकस भएको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले बताए । बुधबार संघले जिल्ला प्रशसन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाएको छ ।

    संघले ज्ञापनपत्रमा पछिल्लो समय डण्डी, सिमेन्टको भाउ अस्वभाविक रुपमा वृद्धि भएको र स्थानीयस्तरमा उपलब्ध गिटी, पेबल, बालुवा, ढुंगा, बेस, सवबेस, ग्राभेल, डस समेत क्रसर बन्द भएको कारणले जिल्लामा अभाव सिर्जना भएकोले आर्थिक भार अत्याधिक बढेकोले जिल्ला दररेट समेत संशोधन गर्न माग गरिएको छ । स्थानीय निर्माण सागम्री प्रयोग गर्न नपाउँदा निर्माण आयोजनाहरुको धान्नै नसकिने गरि लागत बढेकोले दररेट संशोधन गर्न माग गरेको हो । ज्ञापनपत्रका जिल्लाका स्थानीय निर्माण सामग्रीको प्रयोग विकास निर्माणको काममा गर्न पाउनु पर्ने पनि माग गरिएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई बुझाइएको ज्ञापन पत्रका सहज रुपमा निर्माण सामग्री उपलब्ध गराउन माग गरिएको छ । निर्माण व्यवसायीहरुको समस्या समाधान नभएमा थप संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिइएको छ ।

    स्थानीय निर्माण सामग्री विकास निर्माणका कामहरुमा प्रयोग गर्न नपाउँदा अर्बौका विकास निर्माणका कामहरु ठप्प प्रायः भएको संघका अध्यक्ष अधिकारीले बताए । धादिङ, गोरखा, चिवतन, पोखराबाट निर्माण सामग्री ल्याउँदा जिल्लामा पाइने भन्दा ७०÷८० प्रतिशतसम्म महंगो पर्ने गरेको उनको भनाई छ ।

    प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल आएपछि जिल्लामा क्रसरहरु बन्द गराइएको कारण निर्माण सामग्रीको अभाव भएको हो । ठूला आयोजनाहरुलाई सरकारले नै आयोजना निर्माणको लागि ठेकेदारले नै क्रसर सञ्चालन अनुमति दिने भएकोले समस्या नभए पनि साना विकास निर्माणका कामहरुभने मारमा परेका छन् । साना विकास निर्माणका काम गर्नेले आफैले क्रसर चलाउन नपाउने र अन्य क्रसरहरुबाट निर्माण सागम्री खरिद गर्नु पर्ने हुन्छ । तर, जिल्लामा बैध र अबैध भन्दै कानूनको नाममा क्रसर उद्योगमाथि सिडिओले प्रहार गर्दा जिल्लाका निर्माण व्यवसायीमात्र होइन, घर टहरा बनाउने सर्वसाधारणहरु समेत महंगी र अभावको मारमा परिरहेको नागरिकहरुले बताएका छन् ।
    त्रिशूलीखबर बाट

    #अर्थ

    फेसबुक प्रतिक्रिया