विदुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले भोली देशव्यापी रुपमा आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै भोली हड्तालको घोषणा गरेको हो ।
आज केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभएको छ । यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिनुभएको छ ।
त्रिविका विभिन्न तहका परीक्षा चलेरहेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताउनुभएको छ । आम हड्तालको पूर्व सन्ध्यामा आज साझ नुवाकोटको विदुरमा मसाल जुलुस समेत निकालेको थियो ।
यता गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आजको लागि आव्हान गरेको आमहड्तालमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनी, लगायतका गतिविधि नर्गन र नगराउन आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यबस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग आग्रह गरेको छ ।