शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • किशोरीहरुलाई आइरन चक्कि खुवाउन सुरु ।

    समिकरण न्युज २०७७, २२ माघ बिहीबार २०:३३ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । आइरनको कमीले किशारीहरुमा हुने रक्तअल्पता नियन्त्रण तथा पोषण अवस्थामा सुधार ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिका र तादी गाउँपालिले आइरन चक्कि खुवाउने कार्यक्रम सुरु गरेको छ ।
    नेपालको ४४ प्रतिसत किशोरीहरुमा रक्तअल्पताको उच्च प्रकोप दरलाई मध्यनजर गरी विश्व स्वास्थ्य सङ्गठनकोे सिफारिसको आधारमा नेपाल सरकारले किशोरीहरुलाई आईरन चक्कि खुवाउने कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम कार्यान्वयनको सुरुवात नुवाकोटको बेलकोटगढी नगरपालिका र तादी गाउँपालिकाले थालिसकेको छ । सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधारको लागि काम गरिरहेको सुआहाराको प्राविधिक सहयोगमा स्थानीय तहको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा मार्फत किशोरीहरुलाई आरन चक्कि खुवाउने कार्यक्रम सुरु भएको हो । सरकारी तथा निजि विद्यालयहरूमा भर्ना भएका तथा विद्यालयभन्दा बाहिर रहेका १० देखि १९ बर्ष उमेर समूहका किशोरीहरू यस कार्यक्रमको लक्षित वर्ग अन्तर्गत पर्दछ । विद्यालय जाने किशोरीहरूलाई लागि विद्यालयहरू मार्फत, विद्यालय नजाने किशोरीहरूलाई स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत र विद्यालय जाने किशोरीहरूद्वारा दौँतरी शिक्षा मार्फत विद्यालय नजाने किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउने तथा आवश्यकताबारे परामर्श दिने रणनिति रहेको छ ।
    सोहि रणनिति अनुसार आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा वेलकोटगढी नगरपालिकाले मावि स्तरीय स्वास्थ्य शिक्षकहरुलाई एक दिने प्रशिक्षण समेत दिइसकेको छ । नगरपालिकाको वडा नम्बर ७ रातमाटे स्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइरन चक्कि खुवाउन थालिसकेको स्वास्थ्य शिक्षक नवराज नेपालले बताउनुभएको छ । उहाँको अनुसार विद्यालयमा अध्ययनरत २ सय १० जना किशोरीहरुलाई आइरन चक्कि खुवाउन थालिएको हो ।
    नगरपालिका भित्र रहेका अन्य विद्यालयका किशोरीहरुलाई पनि यहि माघ महिना भित्रमा आइरन चक्कि खुवाउन सुरु गरिने स्वास्थ्य शाखा प्रमुख सतेन्द्रदेव शाहले जानकारी दिनुभएको छ ।
    यस्तै तादी गाउँपालिका वडा नम्बर ५ स्थित विज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइरन चक्कि खुवाउन सुरु गरिसकिएको छ । तादी गाउँपालिका स्थित अन्य विद्यालयहरुमा पनि अर्को हप्ता देखि आइरन चक्कि खुवाउन सुरु गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
    किशोरीहरुलाई हप्तामा १ पटक नियमित १३ हप्ता आइरन चक्कि खुवाउनुपर्ने छ । १३ हप्ता आइरन चक्कि खुवाए पछि १३ हप्ता नखुवाउने र फेरि १३ हप्ता खुवाउने निति तथा समय तालिका रहेको छ ।
    किशोरीहरुमा आईरन फोलिक एसिड खुवाउने कार्यक्रमले एकाग्रता र विद्यालय गतिविधि सम्पादन मा सुधार, कार्य प्रतिफलमा सुधार र कम थकान, छालामा चमक र महिनावारीमा नियमितता गराउन मदत मिल्नेछ । यो कार्यक्रम जिल्लाको किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिकामा पनि सञ्चालनको प्रक्रियामा रहेको छ । सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकाले किशोरीहरुलाई आईरन चक्की वितरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सञ्चालन गरिसकेको छ ।


    किशोरीहरुलाई आइरन फोलिक एसिड चक्कि खुवाने राष्ट्रिय अभियान नै रहेकोले जिल्लाको अन्य स्थानीय तहमा पनि छिट्टै यो कार्यक्रम सुरु हुने बताइएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया