बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • दुप्चेश्वर गाउँपालिका नुवाकोटकी उपाध्यक्ष आचार्यको “बन्द” डायरी ।

    समिकरण न्युज २०७७, २२ माघ बिहीबार २१:०२ पढ्न लाग्ने समय 2 मिनेट

    उपाध्यक्ष अञ्जु आचार्य, दुप्चेश्वर गाउँपालिका नुवाकोट ।

    एलएलवी सेकेन्ड इयरको प्रपर्टी लको परिक्षा आज ।

    बिहान ३ बजे नै उठें । ५ः३० सम्म आजको परिक्षाको तयारीमै लागिरहेँ । त्यसपछि एक छिन मोबाइल खोलेर के छ त आजको अवस्था भनेर हेर्न थालें । अनइलान हेर्दाहेर्दै पहिलो लाइनमा पम्फा भुसालले दिनुभएको हडताल तालिका आयो । खोलेर सुनें ।

    गोलढुङाको बसाई, बानेश्वर मिनभवनको परिक्षा केन्द्र । सवारी साधन चल्ने छाँटकाट पट्क्कै छैन । कलेजको फेसबुक ग्रुपमा हेर्दा प्रवेशपत्र देखाउँदा दिन्छन् रे भन्ने कुरा आयो । सार्वजनिक यातायात चलेको छैन । आफ्नो साधन छैन । अरुको लिफ्ट मागौं, सुरक्षाको ग्यारेन्टी छैन । हिडेर जाउँ सम्भावना छैन । ८ बजेदेखि परिक्षा छ । एउटा मनले आजको परिक्षा नदिने घोषणा गर्यो र चुपचाप बस्ने सुर कसें । तैपनि मनमा औडाहा चल्न थाल्यो । जेसुकै होस्, निस्कन्छु भनेर भाइ बोलाएँ । एक पटक हडतालवाला समुहको चिने जानेकोलाई सोधपुछ गरेँ । उहाँहरु गर्वसाथ भन्दै हुनुन्थ्यो, हडताल हुन्छ, परिक्षा एउटाचाहिँ चल्छ ।

    प्रहरी प्रशासनसँग पनि बुझें । खासै प्रभाव त छैन तर के हुन्छ हामी कसरी भन्न सक्छौ भन्ने अधकल्चो उत्तर आयो । पछि एकजना साथीले राम्रो सुझाव र सल्लाह दिनु भयो । त्यही अनुसारको बाटो प्रयोग गरेर परिक्षा केन्द्र पुगेँ । मलाई त्यहाँ पुग्दा नै आधा परिक्षा सकिएको जस्तो भान भयो । मलाई पुर्याउन गएको भाइ पनि सकुशल घर पुगेको खबर पाएँ । अनि अलिक शान्ति मिल्यो ।

    आजको परिक्षा हलमा ६० जनाको सिट प्लानिङमा त्यस्तै मुस्किलले २० जना जतिको मात्र उपस्तिथि थियो । ३ घन्टाको परिक्षा सकाएपछि फेरि सुरु भयो, फर्किने कुराको टेन्सन । तर, फर्किने बेला म जाने बेला जति तनावमा रहिनँ । आफु फर्किने कुरामा भन्दा पनि मलाई यो कुराले पिरोल्यो कि यो देशको अभिभारा बोक्ने ती अबोध विद्यार्थीहरुको भविष्यमाथिको यो कुठाराघातको जिम्मा कस्ले लिन्छ ? कोरोनाको यो थिलथिलोबाट अलिअलि बामे सर्न खोजेको साना व्यापारीको दैनिकीको जिम्मा कस्ले लिन्छ ? आफ्नो जायजेथा सबै लिलामी गरेर गरिखाने एउटा बाटो रोजेको ती ट्याक्सीवाला भरे कहाँ गएर के सोच्दो होला ? अनेक अनेक तरङ्गहरु उब्जिरह्यो मनमा । यो कुराले मलाई एकोहोरो बनाइरह्यो ।

    कलेजबाट अलि अगाडि निस्केपछि एउटा खाजा घरमा पसेर चिया मगाएँ । मोबाइल खोलें । चिया बन्न अलिक समय लाग्यो । अनलाइननमा देखिएका साथीहरूसँग कुराकानी गरेँ । धेरैले धेरै सुझाव दिनु भयो । एक जनाले चाहि हिड्दै आउनुस भन्नु भयो । त्यो नै मेरो विकल्प थियो ।

    यो बन्द हडतालको बेला हार्ट अट्याक जस्तो तत्काल उपचार गर्नु पर्ने बिरामीको बारेमा कस्ले सोचिदेला ? आज बन्द छ भनेर आज जन्मिने शिशु भोलिको लागि पर्खाइमा त अवश्य रहन सक्दैन होला । बिहान कमाएर बेलुका खानु पर्ने लाखौं मजदुरको लागि के बितिरहेको होला ? सबै जनाको सवारी साधनको पहुँच छैन । के सधै सच्चा अनि इमान्दार नागरिकले दण्ड नै पाउनु पर्ने हो ? जो आन्दोलनको नाइके हुनुन्छ, उहाँहरुलाई तामझामसाथ सुरक्षा घेरामा स्कर्टिङसाथ साथ गाडीमा सयर गराउँदै आन्दोलन स्थलमा पुर्याउनु पर्ने अनि प्रसव पीडाले छ्टपटाएकी गर्भवती बोकेको एम्बुलेन्सलाई आन्दोलनको विरोध गरेको आरोपमा तोडफोड गरिने यो कस्तो देशमा छु म, तपाईं र हामी ?

    २०७७-१०ं-२२ साभार – nepalnamcha.com

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया