विदुर । कुखुरालाई बर्ड फ्लु रोग लाग्नबाट बचाउन नुवाकोटका कुखुरा पालक किसानहरुलाई विशेष सावधानी अपनाउन केन्द्रिय पशुपन्छी अन्वेषण प्रयोगशालाका पशु चिकित्सक तुलसीराम गम्पोले आग्रह गर्नुभएको छ ।
काठममाडौको तारकेश्वर नगरपालिकामा यहि माघ १६ गते बर्ड फ्लु देखिएको र वर्ड फ्लुको उच्च जोखिममा नुवाकोट समेत रहेकोले सर्तकता अपनाउन उहाँले आग्रह गर्नुभएको हो । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको समन्वय तथा पोल्ट्री व्यवसायी सघ नुवाकोटको आयोजनामा भएको बर्ड फ्लु रोग सम्बन्धी गोष्ठीमा सहभागी कुखुरापालक किसानहरुलाई उहाँले कुखुरा फार्म र वरिपरिको वातावरणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
ई.स. २००९ मा नेपालमा पहिलो पटक कुखुरामा बर्ड फ्लु रोग देखिएको थियो । त्यस यता देशको विभिन्न जिल्लामा रोगको प्रकोप फैलिरहने गरेको छ । त्यस्तै नेपालमा बर्ड फ्लुबाट २०१९ मा एक व्यक्तिको मृत्यु समेत भएको थियो । कुखुरा, हास लगायतका पशुपन्छी विरामी भएमा लसपस नगर्ने, मरेका कुखुरा वा कुखुरासँग सङ्क्रमित बस्तु खाडल खनी गाड्ने वा जलाउने गर्नुपर्दछ । कुखुराको आयात तथा निर्यात गर्दा ढुवानीमा विशेष निगरानी राख्नलाई समेत केन्द्रिय पशुपन्छी अन्वेषण प्रयोगशालाका पशु चिकित्सक गम्पोले आग्रह गर्नुभएको छ ।
यस्तै कार्यक्रममा भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका निमित्त प्रमुख भरत पाण्डेले नेपालकै दोश्रो कुखुरा उत्पादन हुने जिल्लाको रुपमा नुवाकोट परिचित रहेको बताउनुभएको छ । साथै उहाँले आआफ्नो स्थानीय तहमा कुखुरा व्यवसाय गर्दा आइपर्ने समस्याहरुको समाधानको बारेमा गरिने गतिविधि गर्नलाई झक्झकाउन समेत आग्रह गर्नुभएको छ ।
नुवाकोटमा हाल १ हजार भन्दा वढीले कुखुरा पालन व्यवसाय गर्दै आइरहेका छन् । दैनिक २० गाडी कुखुरा मासुको लागि जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा कुखुरा पालक किसानमा वृद्धि भइरहेता पनि कुखुरा विरामी भएमा उपचार तथा पोष्टमार्टमको लागि काठमाडौँ धाउनु पर्ने बाध्यता रहेको पोल्ट्री व्यवसायी सघ नुवाकोटका अध्यक्ष एवं ह्याचरी सघका केन्द्रीय सदस्य विस्णु रिमालको दुखेसो रहेको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशु चिकित्सक भएमा कुखुरा पालक किसानहरुलाई ठूलो राहत मिल्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वयन अधिकारी कृष्णप्रसाद पन्थी, सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष इन्द्रबहादुर पण्डित, चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधान लगायतले कुखुरा व्यवसायमा गरेको लगानी सुरक्षित गर्दै व्यवसाय प्रति सचेत हुन आग्रह गरेका छन् ।